Comments Add Comment

लद्दाखको भारत-चीन सीमा क्षेत्रमा पुगे मोदी

१९ असार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीन विवादित सीमा क्षेत्रको भ्रमण गरेका छन् ।

शुक्रबार मोदी भारतको लद्दाखको चीन-भारत सीमाक्षेत्रमा पुगेका हुन् । उक्त क्षेत्रमा पुगेर उनले ‘विस्तारवादको युग’ सकिएको बताएका छन् ।

अचानक सीमाक्षेत्रको भ्रमणमा पुगेका उनले गत महिना भएको दुई तर्फका सेनाको झडपमा मारिएका भारतीय सैनिकप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेका छन् । उक्त झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

सीमा क्षेत्रमा पुगेका मोदीले भने, ‘विस्तारवादको युग सकिइसक्यो, यो विकासको युग हो । इतिहास साक्षी छ, विस्तारवादी शक्ति कि परास्त भएको छ कि पछि हटेको छ ।’ उनले आफ्नो भाषणको क्रममा चीनको नाम भने लिएनन् ।

भारतीय प्रधानमन्त्री मोदीले गत महिना भएको झडपको विषयमा चीनलाई उचित जवाफ दिन नसकेको भन्दै आलोचना खेप्दै आएका थिए । यसै क्रममा सीमाक्षेत्रमा पुगेका उनले झडपको क्रममा मारिएका सैनिकहरुले देखाएको वीरताले भारतको सौर्यबारे विश्वले सन्देश पाएको दावी गरे ।

शुक्रबारको भ्रमणमा मोदीको साथमा भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरभाने र डिफेन्स स्टाफका प्रमुख जनरल बिपिन रावत पनि थिए ।

पछिल्लो समय चीन र भारतको बीचमा तनाव बढ्दो क्रममा छ । गत महिनामा भएको झडपको जिम्मेवार दुवै मुलुकले एकअर्कालाई ठहर्‍याउँदै आएका छन् । झडपपछि जारी तनावको बीचमा भारतले टिकटकसहित ५९ स्मार्टफोन एपमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । जसमा अधिकांश चिनियाँ एप छन् ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment