
१९ असार, काठमाडौं । बैंकिङ क्षेत्रको रोजगारी निकै आकर्षक बन्दै गएको बेला विश्वमा कोरोना भाइरसको त्रास सिर्जना भयो । सेवा-सुविधा राम्रै भएका कारण पनि बैंकिङ क्षेत्र रोजगारीका लागि पछिल्लो केही वर्ष यता निकै आकर्षण बढ्दै गएको थियो ।
नेपालमा उच्च शिक्षा अध्ययन गर्ने धेरै विद्यार्थीहरुले व्यवस्थापन संकाय रोज्न थालेका थिए । कोरोना त्रासपछि धेरै क्षेत्रमा रोजगारी गुमेका खबरहरु आइरहेका छन् । सञ्चारक्षेत्रमा पनि धेरैको रोजगारीको अवसर गुमेको विषय केहि साता यता निकै चर्चामा छ ।
धेरै क्षेत्र (सरकारीबाहेक) मा रोजगारी गुमेर कर्मचारीहरुले आर्थिक संकट भोग्नु परिरहेका बेला बैंकिङ क्षेत्रमा भने खासै त्यस्तो असर देखिएको छैन । अन्य क्षेत्रमा जस्तो कर्मचारीलाई खाली हात बिदा गर्ने त कतिलाई बेतलवी बिदामा राख्ने नगरिएको बैंकका सीईओहरुले बताएका छन् ।
केही बैंकले राम्रै सेवासुविधा पाएर बैंकबाट स्वेच्छिक अवकास लिएका छन् भने करारमा नियुक्त भएका केहि कर्मचारीहरुले अवधि पुरा नभए पनि करार अवधिभन्दा अतिरिक्त सेवा सुविधा लिएर अवकास लिएका छन् ।
कोरोना त्रासकै कारण बैंकहरुले कर्मचारीहरुलाई जर्वजस्त भने ननिकालेको बैंकरहरुले बताएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंीकङ क्षेत्रमा यतिबेला करिब ७० हजार जनशक्तिले रोजगारी पाएका छन् । तीमध्ये कसैले पनि जागिर गयो भनेर गुनासो नगरेको राष्ट्र बैंकले बताएको छ ।
वाणिज्य बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघले पनि कर्मचारीहरुलाई पीडा दिने नीति नभएको बताएको छ । बैंकहरुको नाफा घट्ने पक्का भए पनि कर्मचारीहरुलाई समस्या हुन नदिने नीति बैंकहरुले लिएका छन् ।
के-के भए लकडाउनमा ?
बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले कुनै पनि स्थायी कर्मचारीलाई जागिरबाट निकाल्ने बैंकहरुको नीति नभएको बताए । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हालसम्म आफ्नो बैंकबाट कुनै पनि कर्मचारीलाई कोरोनाको कारण देखाउँदै बिदा नगरिएको बताए ।
बैंकको आम्दानी घट्ने पक्का भए पनि उनले कसैलाई सास्ती दिन नहुने बताए । यतिबेला संकटको बेला भएको भन्दै उनले सबैले यतिबेला नाफा धेरै कमाउने भन्दा पनि टिक्नुपर्छ भन्ने मान्यता राख्नु पर्ने बताए ।
सरकारी स्वामित्व रहेको कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय पनि आफ्नो बैंकमा कर्मचारी हटाउने होइन भर्ना गर्ने काम भइरहेको बताए । उनका अनुसार लकडाउन अगाडि नै कर्मचारी नियुक्ति गर्नुपर्ने थियो । त्यो नियुक्ति प्रक्रिया अहिले पनि चलिरहेको छ । यसबाट करिब ४ सय कर्मचारी नियुक्त हुँदैछन् ।
मुलुकको सबै भन्दा जेठो बैंक नेपाल बैंकको पनि यतिबेला कर्मचारी नियुक्तिको प्रक्रिया चलिरहेको छ । लिखित परीक्षमा उत्तीर्ण भएकाहरुसँग अन्तरवार्ता लिनका लागि बैंकले बिहीबार मात्रै सार्वजनिक सूचना निकालेको थियो ।
ग्लोबल आईएमई बैंकले भने स्वेच्छिक अवकासको विशेष नीति नै लिएको थियो । यस बैंकले अवकास लिन चाहनेलाई आकर्षक सेवा सुविधा दिएरु बिदा गरेको छ । कुमारी बैंकले पनि कसैलाई फोर्स नगरेको र बैंकबाट अवकाश लिन चाहनेहरुलाई राम्रो सुविधा दिएर बिदा गरेको छ ।
बैंक तथा वित्तीय संस्थामा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई लकडाउनपछि जागिरबाट नहटाउन कर्मचारीहरुको एक संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन)ले चेतावनी समेत दिएको थियो ।
बैंकहरुले कर्मचारीलाई विचल्ली पारेर नहटाएको जानकारी पाएको फियनका कोषाध्यक्ष वरुण खड्काले बताए ।
‘ग्लोबल आईएमई र कुमारी बैंकले मर्जर भएकोले राम्रो सुविधा दिएर अवकाश दिएका छन्, केही बैंकले करारका कर्मचारी निकालेका होलान्, अन्य ले कटौति गरेको जानकारी छैन’ खड्काले भने ।
कसैको गुनासो छैनः राष्ट्र बैंक
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लकडाउनकै कारण देखाउदै बैंकहरुले कर्मचारी कटौति गर्न नपाउने बताएका थिए । गभर्नर अधिकारीको निर्देशन पछि राष्ट्र बैंकले बैंकहरुलाई कर्मचारी कटौति नगर्न समेत भनेको थियो ।
यदि कुनै बैंकले कर्मचारी कटौति गरिहाले २ वर्षसम्म नयाँ कर्मचारी नियुक्ति गर्न नदिने राष्ट्र बैंकको योजना छ । यसका कारण पनि बैंकहरुले कर्मचारी कटौति गर्न डराएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।यद्यपि, यस विषयमा राष्ट्र बैंकले अहिले कुनै औपचारिक निर्णय भने गरिसकेको छैन । कर्मचारीहरु समस्यामा पारिए भने राष्ट्र बैंकमा गुनासो गर्न सकिने व्यवस्था समेत छ । हालसम्म भने कर्मचारीहरु कटौति त्यस्तो जानकारी राष्ट्र बैंकसम्म नआएको बैंक तथा वित्तीय सं्रस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले जानकारी थिए ।
बैंकिङ क्षेत्रमा ठूलो रोजगारी कटौति हुने सम्भावना पनि नरहेको विभागीय प्रमुख ढकालले बताए ।
‘अहिलेसम्म कटौतिको कुनै रिपोर्टिङ आएको छैन, त्यस्तो स्म्भावना पनि कम छ’ उनले भने, ‘करार अवधि थप नगरेको कुराहरु चाहिँ केहि सञ्चारमाध्यमबाट सुनेको छु, ठूलो रुपमा कर्मचारी कटौति सायद भएको छैन ।’
व्यवसाय विस्तार रोकिएको छैन
मुलुक संघीयतामा गएपछि सरकराले सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्याउने नीति घोषणा गर्यो । सरकारले बजेट भाषणमा नै समावेश गरेको यस नीतिलाई कार्यान्वयनका लागि राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दियो ।
राष्ट्र बैंकको निर्देशनपछि सबै वाणिज्य बैंकहरु कुन स्थानीय तहमा कुन बैंक जाने भनेर लिखित सहमति नै गरे । स्थानीय तह भागवण्डा गरेर बैंकहरुले अधिकांश स्थानीय तहमा शाखा विस्तार समेत गरिसकेका छन् ।
केहि स्थानीय तहमा भने भौगोलिक विकटता तथा प्राविधिक समस्याका कारण शाखा खुल्न सकेका छैनन् । अब नयाँ व्यवसाय विस्तार नगर्ने र भएका कर्मचारीहरु पनि कटौति गर्ने चर्चा व्यापक भएका बेला केही बैंकहरुले भने यतिबेला पनि शाखा विस्तार गरिरहेका छन् ।
सिटिजन्स बैंकले केहि दिन अघि मोरङमा शाखा खोल्यो । यो बाहेक थप २ वटा शाखा खोल्नका लागि तयारी अन्तिम अवस्थामा रहेको बैंकका सीईओ पोखरेल बताउँछन् ।
लकडाउनको कारण देखाउदै यस बैंकले कुनै कर्मचारीहरुलाई पनि बिदा गरेन । बोरु काम नलगाए पनि बैंकले कर्मचारीहको तलब भने रोकेन । केहि दिनअघि खोलिएको शाखा र अब खोलिन लागेका २ वटा नयाँ शाखाका लागि बैंकले कर्मचारी व्यवस्थापन लकडाउन अघि नै गरिसकेको थियो ।
भवन भाडामा लिएर सबै तयारी गरिसके पनि कोरोनाका कारण केहि ढिला हुन गयो । नेपाल बंगलादेश बैंकले पनि अघिल्लो साता एउटा नयाँ शाखा खोलेको छ । बैंकले पनि पहिलेको योजना अनुसार नै शाखा कार्यालय खोलेको हो ।
बैंकर्स संघका अध्यक्ष नै सीईओ रहेको सानिमा बैंकले थप ५ वटा शाखा कार्यालयहरु खोल्नका लागि तयारी गरिरहेकेा छ । यस बैंकले यसका लागि कर्मचारी तथा अन्य आवश्यक सबै व्यवस्थापन भइसकेको बताएको छ ।
कृषि विकास बैंकका सीईओ उपाध्याय पनि नयाँ ठाउँमा शाखा खोल्ने बैंकको योजना रहेको बताउँछन् । शाखा खोल्ने योजनामा रहेको जाजरकोटमा केहि बिवादका कारण रोकिएको भन्दै उनले उपयुक्त ठाउँ भेटे नयाँ शाखा खोलिने जानकारी दिए ।
व्यवसाय विस्तार गरेर थप मजवुद हुन बैंकहरु अझै तयार रहेको यसले प्रष्ट बनाउँछ ।
प्रतिक्रिया 4