Comments Add Comment

‘मधेसको भनेपछि घरबेटीले पनि हेप्दारहेछन्…’

२३ आसार, काठमाडौं ।  ‘यहीँबाट पो कोरोना सर्ला भन्ने डर भो…’ चर्को घाममा लामो लाइनको अन्तिमतिर बसेका एक व्यक्तिले दिक्दार भावमा भने ।

कालो कपडाको मास्कले अनुहार छोपेका उनी दिक्दार देखिन्थे । विनाकारण अस्पतालको भिडभाडमा आउनु परेको भन्दै लाइनमा रहेका अरू मानिससँग उनी दुखेसो पोख्दै थिए ।

नाम : राम दास ।

घर : रौतहट ।

काम : कवाडी संकलन गर्ने ।

उनी रौतहटबाट काठमाडौं छिरेको सोमबार राति मात्रै हो । लकडाउनको अवज्ञा गर्दै काठमाडौं छिरेका उनलाई थाहा छ, काठमाडौंमा अहिले खाली सिसी बोतल कागज भन्दै हिँड्न गाह्रो छ ।

यो पनि थाहा छ, अहिले सिसी बोतल कागज भन्दै हिँड्न सके पहिलाभन्दा दोब्बर आम्दानी हुन्छ । त्यसैले रौतहटमा अडिन सकेनन् । गाडी भाडामा लिएर गाउँका साथीहरूसँगै उनी काठमाडौं छिरेका थिए।

यहाँ आएपछि घरबेटीको स्वभाव बदलिए झैं लाग्यो । कुरा सुनेर झनक्क रिस पनि उठ्यो । तर रिस पोख्न कहाँ सक्थे र ? घरबेटीसँग जोरी खोजेर उनलाई अर्को विपत‍्को सामना गर्नु थिएन ।

‘कोरोना परीक्षण नगरी घरमा बस्यो भने त म पुलिस लगाएर थुनाइदिन्छु भने’ उनको कुरा सुनेपछि लाइनमा रहेका अर्का मानिस बोले, ‘मेरो घरबेटीले त झनै, टोलका मान्छेबाट कुटाइ खाने कि अस्पताल गएर परीक्षण गराएर आउने भनेर थर्काए…।’

लाइनमा रहेका अर्का मानिस बोले,  ‘मधेशका भनेपछि त घरबेटीले पनि हेप्दा रहेछन् ।’

त्यहाँ रहेका अधिकांशले ‘हो’ मा ‘हो’ मिलाए । उनीहरूको समस्या साझा थियो । कथा, व्यथा र बाध्यता पनि उस्तै ।

***

मंगलबार बिहान १० बजे शुक्रराज ट्रपिकल तथा सरुवा रोग टेकु अस्पतालमा पुग्दा कोरोना परीक्षण गराउन पुग्ने मानिसहरूको लामो लाइन थियो । अस्पताल प्राङ्गणदेखि मुख्य गेटको बाटो बाहिरसम्म मानिसहरू पालो कुरिरहेका थिए । बाटोसम्म लाइनका कारण त्यहाँको पसल सञ्चालकहरूलाई समेत असजिलो भएको थियो ।

टेकु अस्पताल पुग्ने अधिकांश मानिसहरू मधेशका जिल्लाहरूबाट थिए । कोही फलफूल, तरकारी बेच्नेहरू थिए भने कोही कवाडीवाला । कोही ज्याला मजदुरी गर्नेहरू थिए त कोही भवन निर्माणमा संग्लग्न कामदार । अस्पताल पुग्ने अधिकांश पछिल्ला दुई/तीन दिनयता काठमाडौं छिरेका थिए ।

त्यहीँ भेटिए वीरगञ्जका चन्द्र शेखर प्रसाद चौरासिया । सोमबार राति काठमाडौं छिरेका उनलाई  घरबेटीले बिहानै टेकु अस्पताल जान ठाडो निर्देशन दिए ।

उनले वीरगञ्जमा केही समयअघि गरेको पीसीआर परीक्षणमा नेगेटिभ आएको रिपोर्ट देखाए । २१ गते  काठमाडौं आउनुअघि वीरगञ्जमा गरेको आरडीटी परीक्षणबाट नेगेटिभ आएको रिपोर्ट बुझाए । तर घरबेटीको चित्त बुझेन ।

त्यसैले उनी अस्पताल आइपुगे । लामो लाइन छिचोलेर फिभर क्लिनिकमा पुगेपछि स्वास्थ्यकर्मीले ज्वरो जाँचे । कोही संक्रमितसँग सम्पर्कमा आए नआएको सोधे । स्वास्थ्यमा समस्या आएको छ कि भनेर मौखिक जानकारी लिए ।

‘म लकडाउनभरि घरमै बसेँ, काहीँ कतै गएको छैन’ चिकित्सकको प्रश्नमा उनले एकमुष्ठ जवाफ दिए, ‘मलाई सास फेर्न गाह्रो हुने, ज्वरो आउने र स्वाद तथा गन्ध थाहा नपाउने समस्या छैन ।’

उनको कुरा सुनिसकेपछि चिकित्सकले रिपोर्ट कार्डमा ‘कुनै समस्या छैन, तर १४ दिन होम क्वारेन्टिनमा बस्नु’ भनेर लेखिदिए ।

सामान्य सोधपुछ गरेर ‘केही समस्या छैन’ भन्दै होम क्वारेन्टिनमा पठाउने चिकित्सकको सुझाव उनलाई मन परेन ।

‘यही कागजको भरमा घरबेटीले मान्लान र !  फेरि केही नभई पनि १४ दिन होम क्वारेण्टिनमा बस्नु रे’ उनले दुखेसो पोखे, ‘यसो गर्नुको के अर्थ भयो र ?’

***

‘लकडाउन नसकिँदै किन काठमाडौं छिरेको त ?’

हाम्रो प्रश्नमा सर्लाहीका राम शाहले भने, ‘टीभीमा काठमाडौंको लकडाउन खुलेको भिडियो देखेपछि काम गर्न आ’को ।’

वीरगञ्जको मुन्ना साहले थपे, ‘कति घरमै बस्नु हजुर ! बालबच्चा छन्, पाल्नुपर्‍यो नि ।’

‘घरको सबै अन्नपात सकियो, पैसा सरसापटी दिने मान्छे पनि भएनन् । अब काम नगरे त मरिन्छ भनेर काठमाडौं आको’ मुन्नासँगै रहेका बर्दियाका भोला शाहले सुनाए, ‘अब त कोरोनासँग डर लाग्न छाड्यो हजुर ।’

टेकु अस्पतालमा पुग्ने अधिकांश मानिसहरू उस्तै थिए ।

रोजगारीका लागि सहर छिरेका हुन् । बिरामी पनि होइनन् । अधिकांशमा लक्षण थिएन, न ज्वरो आएको थियो, न श्वासप्रश्वासमा समस्या । अधिकांशले बुझिसकेका थिए, ‘विनालक्षण कोरोना परीक्षण हुन्न ।’

यथार्थ बुझेर पनि उनीहरू बाध्यताले अस्पताल पुगेका थिए । ‘ज्वरो र श्वासप्रश्वासमा समस्या नआइकन जाँच गर्न मिल्दैन भनेर रेडियोले भनेको भन्यै छ, तैपनि घरबेटीले जाँच गर्न जाउँ भनेर किचकिच गरे’ रौतहट घर भई ठिमी बस्ने सन्तोष यादव भन्छन्, ‘मेरो कोरोना परीक्षण हुँदैन भन्ने थाहा हुँदाहुँदै अस्पताल आउनुपर्‍यो।’

बाध्य भएर अस्पताल आउने उनीहरूको कथा र डर उस्तै छ । त्यहीँबाट कोरोना सर्ला कि भनेर सचेत हुन खोज्छन् । लाइनमा सामाजिक दुरी कायम गर्ने प्रयास गर्छन् । तर त्यो भिडमा सम्भव भए पो !

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको लाइन व्यवस्थित गर्ने प्रयास पनि असफल देखिन्छ । लाइन व्यवस्थापन गर्न ड्युटीमा खटिएका उनीहरू ‘पर-पर सरेर बस्नु’ भन्दै आग्रह गर्छन् । अनि व्यवस्थित गर्न नसकेपछि थकित हुँदै भन्छन्, ‘थोरै ठाउँमा धेरै मानिस भएपछि कसरी व्यवस्थापन गर्नसक्नु ?’

लाइन बस्नका लागि सुरुमा ३० रुपैयाँको टिकट काट्नुपर्छ । एउटा झ्यालबाट टिकट दिने पुरानै तरिका भएकाले त्यहाँ ठेलामठेल छ । अस्पताल प्राङ्गणमा तीन ठाउँमा स्वास्थ्यकर्मी बसेका छन् । उनीहरूले त्यहाँ  ज्वरो नाप्छन् । ट्राभल हिस्ट्री सोध्छन् । संक्रमितसँग सम्पर्कमा आएको नआएका बारेमा ब्रिफिङ लिन्छन् ।

ज्वरो नआएको र श्वासप्रश्वासमा समस्या नआएको बुझेपछि रिपोर्ट कार्डमा ‘१४ दिन होम क्वारेन्टिन बस्नू’ भनेर लेख्छन् । अनि ‘कुनै समस्या छैन’ भनेर रिपोर्ट दिन्छन् ।

कोही शंकास्पद मानिस भेटिए भने मात्र स्वाब झिक्ने ठाउँमा पठाउँछन् ।

‘त्यो रिपोर्ट हेरेर घरबेटीले कोठामा छिर्न देलान् त ?’

‘अरू के विकल्प छ र ?’ अस्पतालका निर्देशक सागरराज भण्डारी प्रतिप्रश्न गर्दै भन्छन्, ‘यहाँ आएका जति सबैको परीक्षण गर्न प्रोटोकलले दिँदैन, स्रोत साधन पनि पुग्दैन ।’

उनका अनुसार पछिल्लो दुई साता दिनहुँ ७ सयदेखि ९ सय मानिस अस्पताल पुग्छन् । उनीहरूमध्ये १५० देखि २५० जनासम्मको मात्र स्वाब लिने गरिएको छ । बाँकी मानिसलाई केही समस्या छैन भनेर पठाइन्छ ।

समाजले नबुझेका कारण अस्पतालमा भिडसँगै चिन्ता बढेको उनको गुनासो छ । ‘हामीले बुझाउन नसकेको हो कि मानिसले बुझ्न नसकेका हुन’ उनी भन्छन्, ‘टेस्ट गर्नै नपर्ने मानिसहरू दिनहुँ अस्पताल आउँछन् । हामीले पनि केही गर्ने होइन, केही समस्या छैन भनेर चार लाइन लेखेर पठाउने त हो नि ।’

परीक्षणविनाको सामान्य रिपोर्ट मानिसहरूको घर छिर्ने लाइसेन्स बन्नुले हाम्रो समाजको बुझाइ झल्काउने डाक्टर राजभण्डारी बताउँछन् ।

परीक्षण नै गर्नु नपर्ने मानिसहरूलाई घरबेटीले दु:ख दिने समस्या बढेको भन्दै उनी भन्छन्, ‘अझै जनचेतना फैलाउन आवश्यक देखियो । यही रिपोर्टका लागि अस्पताल पठाउँदा त खतरा त उहाँहरूलाई पनि त हो नि ।’

उपत्यकाबाट भित्रिने मानिसलाई सरकारले कुनै व्यवस्थापन वा गाइडलाइन नबनाए समस्या पर्ने डाक्टर राजभण्डारीको निष्कर्ष छ ।

सामान्य मानिस  घरबेटीकै कारण दिनहुँ मानिस अस्पतालमा बस्दा अस्पतालबाट समुदायमा संक्रमण जाने जोखिम हुने उनी बताउँछन् । उनका अनुसार अस्पतालमा संक्रमितहरू आउजाउ गरिरहने भएकाले संक्रमण सर्ने उच्च जोखिम छ । किनकी  टेकु अस्पतालमा उपचार गराइरहेका ३५ जना संक्रमितमा कडा किसिमको लक्षण छ । त्यहाँ परीक्षण गराउन आउने कसैमा संक्रमण रहेछ भने अरूमा सर्ने खतरा पनि उच्च हुन्छ ।

‘अब उपत्यका बाहिरबाट आएकाहरूलाई सरकारले कुनै व्यवस्थापन गर्नुपर्छ कि घरबेटीहरूलाई सुझाउनुपर्छ’ डाक्टर राजभण्डारी भन्छन्, ‘यो विषयमा राज्यले केही सोचेन भने हामीलाई व्यवस्थापन गर्न गाह्रो हुन्छ ।’

चन्द्रबहादुर आले/अनलाइनखबर

यो पनि पढ्नुहोस टेकु अस्पतालमा तीन घण्टा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment