+
+

बालुवाटारको दम्भ र विवेकहीन सत्ता

डा. कृष्ण पौडेल डा. कृष्ण पौडेल
२०७७ असार २४ गते २०:२९

अहिले सत्तासीन पार्टीका ठालु नेताले खुट्टा नटेकेकोमा पार्टीभित्रै व्यापक असन्तोष बढेको छ । यसको परिणति पालैपालो दुई तिहाईको दम्भ बालुुवाटारदेखि शीतलनिवासको बाटोभरि छताछुल्ल भएको छ । सँगै, तीन दशकसम्म पनि फेरिन नसकेका पार्टी र तिनका ढोंगी सारथि देखेर आक्रोसित नागरिकले सत्ता र सरकारी अकर्मन्यताको व्यापक विरोधसमेत गर्न थालेका छन् । यसको अग्रपंक्तिमा उर्जाशील युवा दस्ता छन् । यिनको उत्साहलाई मलजल गर्ने सचेत नागरिक पनि अब त भएन है भन्दै सँगै जुर्मुराउन थालेका छन् ।

०३६ देखि ०४६ सालको १० बर्षको आन्दोलनको तयारीबाट सम्भव भएको पहिलो जनआन्दोलनले समाज परिवर्तनका बाहक बन्न जब्बर बनेका उत्साहित मनहरुमा निरासाको बादल मडराएको छ । मुख्यत ओ आन्दालन हाँक्ने पार्टी र यिनका सारथी असक्षम साबित भएका छन् । यो आन्दोलनपछि यी सारथी र अन्य पुनर्जन्म पाएका सबै पार्टीका रेफ हराएर पाटी भएका छन् ।

पार्टीहरुको रेफ हटनुमा अहिलेको मूल प्रवाहको राजनीतिको स्खलन र नेताहरुको निकम्मापन पूर्ण जिम्मेवार छ । यस्तो मुख्यतः उनीहरु नालायक वरिष्ठ कर्मचारी र बिचौलिया दलालको उक्साहटमा लागेर कुशासन र भष्ट्राचारको दलदलमा भासिँदै गएर भएको हो भन्दा धेरै अर्घेलो हुँदैन ।

यिनले लोकतन्त्र भनिने शासन व्यवस्थालाई नै ठगतन्त्र, झुटतन्त्र र लुटतन्त्रमा परिणत गरेर कुरुप बनाएका छन् । समृद्धि आशको पराले त्यान्द्रो चुँडिएको छ । एकातिर आम मानिस आक्रोशित बनेर सडकमा आउन थालेका छन् भने अर्कोतिर सत्ता राजनीति सर्वसत्तावादी उन्मादले लुटेराकोे अखडा बन्दै जाने क्रमसँगै निरन्तर विघटित हुँदै गएको छ ।

हुन त समय पछाडि फर्किँदैन । तर, भुँवरीमा परेर धिमा गतिका सयौं उदाहरण छन् । तत्कालका लागि नेपाली समाज अराजकतातर्फ उन्मूख हुँदै दुर्घटित हुने दिशातर्फ उन्मूख छ । यी सबै कुराले हामीलाई कहाँ चुक्यौं भनेर इतिहासका पाना पल्टाएर घोत्लिन विवश बनाएको छ ।

राजनीतिको मूल प्रवृत्ति फेर्ने अठोटबिना नेपाली समाजको रुपान्तरण सम्भव छैन भन्ने बुझ्नु र बुझाउनमै सबैको कल्याण छ । गुटका गोटी फेरेर यो देशको मुहार फेरिँदैन ।

विडम्बना नै भन्नुपर्छ, आधुनिक नेपालको सामाजिक परिवर्तनका लागि भएका सबै आन्दोलनहरु राजनीतिक स्थिरता, सामाजिक तथा आर्थिक उन्नतिको गहिरो बहस सिर्जना हुन नपाउँदै तुहिएका छन् । यहाँसम्म आइपुग्दा अरु त परै जाउन् पहिलो जनआन्दोलनका उपलव्धि समेतले समाज नफेरिने भन्दै भएको १० बर्षे जनयुद्धको उत्साह थपेर गरिएको १२ बर्ष अगाडिको दोस्रो जनआन्दोलनको बलमा स्थापित नामको संघीय गणतन्त्र तर कामको केन्द्रीय संसदीय व्यवस्थासमेत ढोंग साबित हुने लक्षणहरु देखिएको छ ।

राजनीतिक पार्टीका नेताहरुको आन्तरिक शक्ति सघर्ष र गुटका जोड घटाउले बन्द कोठा र चोटामा अपारदर्शी निर्णय गर्ने र मुलुकका महत्वपुर्ण रणनैतिक सवालमा समेत गुटका चाखमा चलखेल गरेर सके गलत निर्णय नसके अनिर्णयको बन्दी बनाउने गरिएको छ । अत्यन्त साघुरो व्यक्तिगत स्वार्थ र गुटका वरिपरि मात्र केन्द्रित नेता र यिनै गुटका गोटी बनेका कार्यकर्ताहरु यिनका दास बन्दै कित्ताकाटमा रमाएका छन् ।

लुटपाट, सौदाबाजी र लेनदेनमा ठूला साना भनिने पार्टीहरु सबै एकै ठाउँमा थिए र अहिले पनि सँगै छन् । सांसद किनबेचको रुप केही फेरिएको छ । तर, सार फेरिएको छैन । अहिले पनि आफ्ना विवेकले मात्र हैन या त नेताका उर्दीले या अन्ध भएर स्वीकृतिमा टाउको हल्लाउने साहससम्म गुमाएका रैतीहरुले टेबल ठटाउने गरेका छन् । यसका बिरोधीले क्रोधित हुँदै कुर्सीसमेत भाँच्ने गरेका इतिहास पनि सँगै साक्षी छन् ।

सत्ताका नायक सिहांसनमा बसेर स्थिरता र शान्ति नै समाजको समृद्धिको आधार भएकाले शासक र व्यवस्थालाई विश्वास गर्न उर्दी गरिरहन्छन् । यति भन्दाभन्दै पनि अटेर गर्ने अटेरीलाई ठेगान लगाउन हेप्ने ? भन्दै हान्ने गोरुजस्ता राता आँखा बनाएर तह लगाउने दुस्साहस समेत गर्ने गरेका छन् ।

आफ्ना कमजोरीमा औंला ठड्याउनेलाई कोर्रा लगाउन आफ्ना रैती कार्यकर्तालाई मण्डलेकरण गर्ने गरेका छन् । यिनलाई विरोधी तह लगाउन सधैं बफादार हुन प्रशिक्षित गर्छन्। यस बापत राज्यकोष बाट पर्याप्त दानदक्षिणा दक्षिणा र भेटी चढाउँछन्, पद र विज्ञताको फुलीसमेत लगाइ दिन्छन् । त्यसैले त यस्ता मण्डले कार्यकर्ता यस्तो शासन टिकाउन ज्यान फालेर लागेका छन् । बेलाबेला यिनले माइतीघर मण्डलामा समेत अन्धभक्तिको जात्रा देखाएर यसको मर्मको खिल्ली उडाउने गरेका छन् ।

कुशासन, बेथिति र भ्रष्टाचारको पर्यायवाची बनेको अहिलेको राजनैतिक नेतृत्व सबैभन्दा भ्रष्ट छ भन्दा पनि कानमा तेल हालेर सुतेको छ । संघीयताको खिल्ली उडाउने नै अहिले यसका हर्ताकर्ता भएका छन् । अरु केही यही संघीय संबिधान अन्तरगत बनेको सरकारको मानो पचाउन लाज सरम पचाएर लागेका छन् ।

संघीयता नै घाँडो हुने भनेर यसको पक्ष लिनेलाई सत्तोसराप गर्ने काजु कान्छाहरु नै अहिले यसैका यसैका नाइके छन् । यी सबैले आजसम्म यिनलाई सत्तासीन गराउने राजनैतिक आन्दोलनलाई साथ दिने आम नेपाली जनसमुदायकोे अपेक्षा र मर्मलाई आत्मसात गर्न सकेका छैनन् ।

विगतलाई फर्केर हेर्दा, संस्थागत भष्टाचार, आन्तरिक लोकतन्त्रको अभाव र कुशासनमा जकडिएको राजनैतिक नेतृत्व आफ्नै असफलताले रुग्ण त छ नै । छुवाछुत, बलत्कार, हिसां, हत्या र आदिवासी जनजातिका जिविका, भाषा र संस्कृतिमाथिको अभिजात्य बल मिचाई निरन्तर जारी छ । जातिवादले झनै उग्र रुप लिएर रुकुममा छताछुल्ल भएको छ । अ

ाफ्ना अधिकार रक्षाका लागि संघीयता र समावेशिताको माग उठाएका आदिवासी, जनजाती तथा मधेसी मूलका स्वाभिमानी नेपालीलाई राष्ट्रवादी होस कि हैनस् भन्दै बेला कुबेला सिस्नोपानी लगाउन उद्धत छन ।

यी सबै देखेर निराश नागरिक अगुवाहरु आफ्नो निरीहताले समाजको हिसाब–किताब नमिलेकोमा शीर निहुर्‍याएर हिँड्न विवश छन् भने भावी पुस्ता यी सबैको मूल्य लामो समयसम्म चुकाउनुपर्ने कुराले चिन्तित छन् ।

अहिलेको सत्ताका (खल) नायक लोकतन्त्र दुहाई दिँदै खास समुदाय र वर्गको बर्चश्व बनाई राख्न उमेर, रंग, वर्ग, लिंग, राष्ट्रियता, धर्म, बसोबास, साक्षरता, स्वास्थ्य, सम्पतिका आधारमा भेदभावको पर्खाल लगाएर थुनछेक गर्न उद्यत छ ।

संसदीय लोकतन्त्र आम नागरिकलाई बर्जित गर्ने पद्दतिका रुपमा विकृत हुँदै गएको छ । यिनीहरु गणतन्त्र त परै जाओस् संसदीय लोकतान्त्रिक आचरण र व्यावहारबाट समेत कोशौं पर छन् । उनीहरुका रैतीले बाहेक यिनका कर्तुतलाई कुनै पनि अर्थमा आम नागरिकले सहेर बस्नु पर्ने कारण छैन ।

अहिले छिमेकीले बल मिचाई गरेको अतिक्रमित नेपाली भुभाग फिर्ता गर्नु पर्ने माग जबरजस्त उठेको छ । यो भुभाग र महाकाली नदी नेपालको हो र यो फिर्ता हुनुपर्छ यसमा कुनै विवाद छैन । तर महाकाली सन्धि गर्दा यसबारेमा चुँसम्म नबोल्ने र महाकाली नदीको मुहान र यो नदी छिमेकीलाई सगौरव सुम्पने शासक र तिनका रैती नै अहिले टेबुल ठटाएर भुमि फिर्ता गरी छाड्ने उदघोष गरेका छन् । तर, यसतर्फ सार्थक पहल गर्न छोडेर एमसीसी भन्दै अर्को राष्ट्रघातको खेती भित्र्याउन उद्यत छन् । यिनले आम नेपालीका सामु राष्टद्रोह गरेकोमा क्षमा नमागी यिनलाई किन पत्याउनुपर्ने ?

यसबाट यिनको देशभक्ति र राष्ट्रवादको स्वाङमा भ्वाङ परेको प्रष्ट देख्न सकिन्छ । । तर, आफ्ना कमजोरी ढाकछोप गर्न मात्र अतिक्रमित माटो जोगाउने ठूला कुरा गरेर मात्र हुन्छ ? यो एक हिसावले राष्ट्रवादको चर्को नारा लगाएर आफ्ना सारा कर्तुत लुकाउने प्रयत्न मात्र हो । अन्यथा यिनको माटोमा कृत्रिम रसायन र विषादी बर्जित गरेर देशभित्रको माटो जोगाउने विवेक कता हरायो ? यो कुरा किन गरिँदैन ? र, यस्तो कुरा नगर्नेलाई राष्ट्रद्रोही किन नभन्ने ?

आफ्ना भाटे रैतीमात्र रिझाउने यस्ता सस्ता राष्टवादका कुरा गरेर यिनलाई एकछिनको पिसाबको न्यानो त होला । यस्ता कुराले आफ्नै कुण्ठा र धङधङीको राष्टवाद पनि बचाउला, तर नेपाली राष्ट्रियता बलियो हुदैन । किनकि सबैको अनुभवमा राष्ट्रियता यस्ता भाषणले जोगिँदैन बरु अझ बढी कुण्ठित हुँदै जान्छ ।

भनिन्छ, अहिलेसम्मका सबै शासक अफिमका अम्मली जस्ता छन् । यताका पनि त्यस्तै छन् । यिनले पनि सिद्धान्त, वाद वा दर्शन भाषणका लागि मात्र कथ्ने गरेका छन् । यी भाषण बैंक खाता, अकूत सम्पति, सुबिधा र विलासिताका अगाडि निरिह छन् । लेनदेन, घुस, नातावाद, कृपावाद र शक्तिको दुरुपयोग नै शासकीय विशेषता भएको छ ।

राजनीतिको मूल प्रवृत्ति फेर्ने अठोटबिना नेपाली समाजको रुपान्तरण सम्भव छैन भन्ने बुझ्नु र बुझाउनमै सबैको कल्याण छ । गुटका गोटी फेरेर यो देशको मुहार फेरिँदैन । रेफ हराएका यी कुनै पनि पार्टीका नेताको नेतृत्वबाट यो मुलुकको समृद्धिको सपना देख्नु भनेको भदौमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ भन्ने नेपाली उखान जस्तै हो । यिनीहरु धेरैको प्रवृति हेर्दा लाग्छ, यिनले कुनै हालतमा नफेरिने कसम खाएका छन् ।

लेखकको बारेमा
डा. कृष्ण पौडेल

कृषिविज्ञ पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?