Comments Add Comment

विकास दुबे : उज्जैनमा गिरफ्तारदेखि कानपुरमा इन्काउन्टरसम्मको कहानी

फाइल तस्वीर

२६ असार, काठमाडौं । उत्तर प्रदेशको कानपुरमा आठ प्रहरीको हत्याका मुख्य आरोपी विकास दुबेको शुक्रबार बिहान मृत्यु भएको छ । उत्तर प्रदेश प्रहरीका अनुसार प्रहरीको एक स्पेसल टास्क फोर्स दुबेलाई लिएर मध्यप्रदेशबाट कानपुर आइरहेको थियो । बीचमा प्रहरीको गाडी पल्टियो । यही मौकामा दुबेले भाग्ने प्रयास गरेका थिए । अन्ततः प्रहरीको कारबाहीमा उनको मृत्यु भएको प्रहरीको दाबी छ । गोलीकाण्डको सात दिनपछि बिहीबारमात्रै दुबेलाई प्रहरीले नाटकीय ढंगले मध्यप्रदेशको उज्जैनबाट पक्राउ गरेको थियो ।

उज्जैनको आधिकारिक स्रोतका अनुसार विकास दुबेले बिहीबार बिहान महाकालेश्वर मन्दिर पुगेर २५० रुपैयाँको भीआईपी टिकट काटेका थिए । टिकटमा नाम पनि विकास दुबे नै लेखिएको थियो । उनीसँग एउटा झोला थियो । उनी मन्दिरमा चढाउने प्रसाद किन्नको लागि नजिकैको एउटा पसलमा समेत गएका थिए ।

विकास आफ्नो झोला कतै राख्न चाहन्थे । उनले एकजनासँग झोला राख्ने ठाउँ पनि सोधेका थिए ।

त्यसपछि दुबे दर्शन गर्न मन्दिरभित्र गए । यसै क्रममा सुरक्षा गार्डलाई उनीमाथि शंका भइसकेको थियो र उनीहरूले प्रहरीलाई सूचना पनि दिइसकेका थिए । मन्दिरबाट विकास बाहिर निस्किँदासम्म प्रहरी आइपुगिसकेको थियो र उनलाई हिरासतमा लिइएको थियो । विकासका दुई साथीहरू बिट्टु र सुरेशलाई पनि गिरफ्तार गरिएको थियो । तर उनीहरूको विषयमा भने केही बताइएको छैन ।

प्रहरीका एक अधिकारीले विकासको उज्जैनमा आएर महाकाल मन्दिर जानुको कारण विकास प्रहरीसँगको कुनै पनि मुठभेडबाट बच्न चाहनु रहेको बताए । विकास मन्दिर परिसरमा बिहान लामो समयसम्म घुमिरहेका थिए ।

प्रहरीले उनलाई गिरफ्तार गरेर लैजाँदै गर्दा उनी चिच्याइरहेका थिए, ‘म विकास दुबे हुँ, कानपुरवाला’ ।

विकास दुबेको गिरफ्तारपछि महाकाल प्रहरी थानामा लगिएको थियो । यो क्रममा उनले सञ्चारकर्मीसँग कुराकानी गर्ने प्रयास गरेका थिए । त्यति नै बेला विकासले पुनः चिच्याएर आफू कानपुरवाला विकास दुबे रहेको बताएका थिए । तर प्रहरीले उनलाई चिच्याउन दिइरहेको थिएन ।

थानामा सोधपुछ

प्रहरीले विकासलाई थाना लगेर लामो समयसम्म सोधपुछ गरेको थियो । उनीहरू पक्राउ गरेको व्यक्ति विकास दुबे नै हो भन्ने पुष्टि गर्न चाहन्थे । जो व्यक्ति पछिल्लो एक सातादेखि धेरै प्रदेशका प्रहरीको खोजीका बाबजुद पक्राउ परेका थिएनन्, उनी यति सजिलै कसरी पक्राउ परे भन्ने कुराले पनि उनीहरूले लामो समयसम्म सोधपुछ गरेका थिए ।

त्यसपछि मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले नै विकास दुबे पक्राउ परेको जानकारी दिएका थिए । यद्यपि उनले पक्राउ कुन अवस्थामा कसरी गरियो भन्ने विषयमा भने जानकारी दिएका थिएनन् ।

नरोत्तम मिश्राले भोपालमा भने, ‘अहिले उनी प्रहरी हिरासतमा छन् । कसरी गिरफ्तार गरियो, यसको बारेमा केही पनि भन्नु उपयुक्त छैन । उनले क्रूरताको हद सुरुदेखि नै पार गर्दै आएका थिए । गुप्तचर संस्थाको विषयमा पनि केही भन्नु उचित हुँदैन । घटनापछि प्रदेशको प्रहरी पूर्णरुपमा सतर्क थियो ।’

मुख्यमन्त्री शिवराज चौहानले पनि त्यसपछि सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै विकास दुबेको गिरफ्तारीको पुष्टि गरेका थिए । प्रहरी स्रोतका अनुसार उज्जैन प्रहरीले दुबेलाई कुनै अज्ञात स्थानमा लगेका थिए । उनलाई उत्तर प्रदेशको प्रहरीलाई जिम्मा लगाउने कुरा पनि भइरहेको थियो । जुलाई २ मा कानपुरको बिकरु गाउँमा उनलाई गिरफ्तार गर्न गएको प्रहरी टोलीमाथि उनले आक्रमण गरेका थिए । प्रहरीमाथि गरिएको आक्रमणमा एक डीएसपीसहित आठ प्रहरीको मृत्यु भएको थियो । त्यसपछि उनलाई बुझाउने मानिसलाई पाँच लाख पुरस्कार दिइने घोषणा समेत गरिएको थियो ।

राजनीति

विकास गिरफ्तारीमा परेपछि मध्य प्रदेशको राजनीतिक सरगर्मी पनि बढ्यो । जुन गिरफ्तारीलाई सरकारले आफ्नो सफलता भनिरहेको थियो भने विपक्षी कांग्रेसले भने यसलाई असफलता बताउँदै आएको थियो ।

मुख्यमन्त्री चौहानले महाकाल गएर आफ्नो पाप पखालिन्छ भन्ने सोच राख्ने मानिसहरू महाकाल नजान सुझाएका छन् । उनले आफ्नो सरकारले कुनै पनि अपराधीलाई नछाड्ने बताएका छन् ।

मध्य प्रदेशको भारतीय जनता पार्टीले ट्विट गर्दै विकास दुबे उज्जैनबाट पक्राउ परेको पुष्टि गर्दै कसैले उनलाई मध्य प्रदेशमा शिवराज चौहानको सरकार छ भनी कसैले नबताएको हुन सक्ने भन्दै सरकारको तारिफ गरेको छ ।

यसैबीच, कांग्रेसले भने मध्यप्रदेश अपराधीको शरणस्थल बनेको भन्दै प्रदेश सरकारको आलोचना गरेको छ । विकास दुबे पनि अहिलेसम्म मध्य प्रदेशमा लुक्दै आएको पाइएको कांग्रेसको तर्क छ ।

पूर्वमुख्यमन्त्री दिग्विजय सिंहले ट्विट गर्दै भनेका छन्, ‘यो त उत्तर प्रदेशको इन्काउन्टरबाट बच्न प्रायोजित आत्मसमर्पणजस्तो लागिरहेको छ । मेरो सूचनाअनुसार भाजपाका नेताको एक सौजन्यको सहयोगमा यो सम्भव भएको हो । जय महाकाल ।’

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment