Comments Add Comment

विदेशी मदिरा आयात रोक्दा तीन महिनामा ५० करोड जोगियो

२५, असार, काठमाडौं । सरकारले विदेशी महंगा मदिराको आयात रोक्दा तीन महिनामा झण्डै ५० करोड रुपैयाँ विदेशिनबाट जोगिएको छ । सरकारले गत चैत १६ गतेदेखि विदेशबाट हुने मदिरा आयात रोक्ने निर्णय गरेको थियो ।

कोरोनाका कारण अर्थतन्त्र संकटमा परेका बेला विलासी वस्तुको आयात घटाउने रणनीति अन्तर्गत सरकारले उक्त निर्णय लिएको हो । नेपालले वार्षिक २ अर्बभन्दा बढीको विदेशी मदिराको आयात गर्ने गरेको छ । यस हिसाबले तीन महिना मदिरा आयात रोकिदा झण्डै ५० करोड रुपैयाँ बराबर स्वदेशी मुद्रा विदेशिनबाट जोगिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

विदेशबाट कस्ता मदिरा आउँछन् ?

नेपालमा स्कटिस ह्वीस्कीको बजार ठूलो रहेको मदिरा आयातकर्ताहरुको दाबी छ । स्कटिस ह्वीस्की, जोनी वाकर तथा सिवास रिगल र अमेरिकी जेडी ह्वीस्की नेपालमा प्रख्यात ब्राण्डका मदिरा हुन् ।

नेपालमा वाइन, भोड्का, जिनजस्ता अल्कोहलिक पदार्थको आयात उच्च हुने गरेको भन्सार विभागले जनाएको छ । नेपालमा भारत, जर्मनी, फ्रान्स, स्कटल्याण्ड, इटाली, अमेरिका, बेल्जियमदेखि क्युवा तथा खाडीका मुलुकबाट समेत मदिरा आयात हुने गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

नेपालले बेलायतबाट रम र चीनबाट बियरसमेत आयात गरेको छ । यस्तै, अब्सुलुट, सिरक, स्क्रिअस जस्ता मदिरा पनि नेपालमा आउँछन् ।

महँगा मदिराको मौज्दात रित्तिदै

सरकारले आयातमा प्रतिबन्ध लगाएको तीन महिनापछि बजारमा महंगा मदिराको मौज्दात रित्तिन थालेको छ । देशका विभिन्न सहरका ठूला मदिरा स्टोरहरु जोनी वाकर, अमेरिकी जेडी ह्वीस्की, सिवास रिगल जस्ता ब्राण्डका मदिरा अभाव भएको व्यवसायीहरुले बताएका छन् ।

ब्लु लेबल, रेड लेबल, डबल ब्ल्याक, जोनी वाकर, सन्स ह्वीस्की, स्की जस्ता मदिरा स्कटल्याण्डको डियाजा कम्पनीले उत्पादन गर्छ । यस्तै सिभास रिगल पनि स्कटल्याण्डमै बन्छ । अमेरिकी जेडी कम्पनी तथा फ्रान्सेली वाइन र ह्वीस्कीहरु पनि बजारमा पाइन छोडेको व्यवसायीहरु बताउँछन् ।

नियमित प्रयोगका हिसाबले ती ब्राण्डका मदिरा अबको १५ देखि ३० दिनका लागि मात्रै पुग्ने मौज्दात रहेको जोनी वाकर कम्पनीको मदिरा नेपाल आयात गर्ने एक व्यवसायीले अनलाइनखबरलाई बताए । ‘निकै महँगासहित नियमित सेवन हुने, वाइन र ह्वीस्कीको मौज्दात बढीमा एक महिनालाई पुग्छ,’ ती व्यवसायीले भने ।

आयात गरेका ठूलो मात्राको मदिरा भन्सार नाकामै रोकिँदा आफूहरु मारमा परेको उनले सुनाए । भएका मदिरा खुद्रा बिक्रेताकोमा पुगेको हुँदा अब ठूला स्टोरसँग यस्ता मदिरा नै रित्तिएको ती व्यवसायीको भनाइ छ ।

स्वदेशी मदिरा खपत बढेन

सरकारले विदेशी मदिरा रोक्ने निर्णय गरेपछि नेपाली उत्पादकहरुले यसबाट लाभ हुने अपेक्षा गरेका थिए । तर अहिलेसम्म यसको असर खासै नदेखिएको मदिरा वितरकहरुले बताएका छन् ।

विदेशी मदिराको मौज्दात अझै रहेको र लकडाउनका कारण स्वदेशी मदिराले बजार नपाएको नेपाल मदिरा व्यवसायी महासंघले जनाएको छ । मदिराको ठूलो कारोबार हुने देशका ठूला सहरहरुको चहलपहल ठप्प हुँदा मदिराको बिक्री खासै नभएको महासंघका महासचिव तारानाथ ढुंगानाले बताए ।

‘काठमाडौंको ठमेल, पोखराको लेकसाइड, चितवनको सौराहा जस्ता हबहरु बन्द छन्, रेष्टुरेण्ट र होटलहरु पनि बन्द छन्, कसरी कारोबार बढ्छ र ?’ ढुंगानाले भने ।

नेपालमा मदिरा, डिष्टिलरी, वाइन, साइडर र बियर उद्योग करिब दुई हजारको हाराहारी छन् । नेपालमा वार्षिक औपचारिक तथा अनौपचारिक रुपमा ३० अर्ब रुपैयाँ बराबरको मदिराको कारोबार हुने अनुमान गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सडक हो कि खोला ?

Advertisment