Comments Add Comment

सीपीएललाई ट्रिनिडाड एण्ड टोबागो सरकारको स्वीकृति

२७ असार, काठमाडौं । आगामी अगष्ट-सेप्टेम्बरमा ट्रिनिडाड एण्ड टोबागोमा हुने तय भएको क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२० ले त्यहाँको सरकारबाट सहमति पाएको छ ।

ट्रिनिडाड एण्ड टोबागोको स्थानीय सरकारले सीपीएल आयोजकलाई स्वीकृति दिएपछि अब यस वर्षको लिग अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म हुनेछ । यसअघि नै मिति तय भए पनि त्यहाँको सरकारले अनुमति दिन बाँकी थियो ।

सीपीएलमा दुई सेमिफाइनल र एक फाइनलसहित कूल ३३ खेल हुनेछन् । उपाधिका लागि ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

सीपीएल र ट्रिनिडाड एण्ड टोबागो सरकारबीच भएको सम्झौताअनुसार सहभागी सबै टिम सदस्य, टिम व्यवस्थापन आयोजक र सबै क्यु मेम्बरहरु प्रतियोगिता हुने स्थान पुग्नुअघि दुई हप्ता सेल्फ आइसोलेसनमा बस्नुपर्छ । यस्तै ट्रिनिडाड एण्ड टोबागोमा पुगेपछि त्यहाँ पनि दुई साता आइसोलेसनमा बस्नुपर्नेछ । सहभागी सबैको दुई पटक कोभिड-१९ टेष्ट गरिनेछ ।

यस्तै ६ वटै ट्रिनिडाडमा एकै होटलमा बस्नेछन् । हरेक टिमलाई मिनि क्लस्टरमा छुट्याएर राखिने र त्यसमा कसैको कोभिड-१९ पोजेटिभ देखिए त्यो समूहको सबैजना सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ । होटलमा अरु कुनै गेष्टलाई अनुमति दिइने छैन ।

ट्रिनिडाड एण्ड टोबागोका खेलकुद तथा युवा मन्त्री शाम्फा कुड्जेले कोभिड-१९ को अवस्थाबारे मोनिटोरिङ गरिरहने र त्यसका लागि विभिन्न नियम हरु पालना गर्नुपर्ने बताए । उनले प्रतियोगिता सफलतापूर्वक आयोजना गरेपछि अरुको लागि पनि उदाहरण हुने बताए ।

कोभिड-१९ का कारण गत मार्चमा ट्रिनिडाड एण्ड टोबागोमा अरुलाई प्रवेश अनुमति थिएन। यही प्रतियोगितामार्फत त्यहाँ बाहिरका मानिसहरुलाई भित्रने अनुमति दिन लागिएको हो । क्यारेबियन राष्ट्रहरुमध्ये ट्रिनिनाड एण्ड टोबागो थोरै प्रभावित राष्ट्रमा पर्छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार जहाँ जुलाई ९ सम्म १३३ पोजेटिभ केस देखिएको छ भने जम्मा ९ जनाको मृत्यु भएको छ ।

नेपाली युवा स्टार सन्दीप लामिछाने यसपटक जमैका तल्हावाजबाट सपीएल खेल्दैछन् । उनी ड्राफ्टमा नेपाली रकम करोडभन्दा बढीमा जमैकामा अनुबन्ध भएका थिए । सन्दीपले तेस्रो पटक सीपीएल खेल्न लाग्दा उनको पनि यो तेस्रो टिम हुनेछ । यसअघि उनले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स र बार्बेठोस ट्राइडेन्ट्सबाट खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment