Comments Add Comment
आगामी मौद्रिक नीतिमा सुझाव :

‘तरलता संकुचन हुन सक्छ, राष्ट्र बैंकले बेलैमा सोचोस्’

आगामी वर्षको अन्त्यमा खर्ब बढी स्रोत अभाव हुन सक्छ

३० असार, काठमाडौं । बैंकिङ विज्ञ अनलराज भट्टराईले आगामी आर्थिक वर्ष २०७७/७८ मा लगानी योग्य पुँजी (तरलता) को अभाव हुन सक्ने भन्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिले यस विषयमा ध्यान दिनुपर्ने बताएका छन् । कोरोना त्रास रहेका कारण अहिले अधिक तरलता देखिए पनि कोरोना त्रास कम हुने वित्तिकै नेपाली बैंकिङ उद्योगमा तरलता अभाव हुने उनले बताएका हुन् ।

अहिले १ खर्ब ६६ अर्ब रुपैयाँ भन्दा धेरै तरलता पुगिसकेको छ । बैंकहरुमा अधिक तरलता भयो भनिरहेका बेला भट्टराईले भने यति तरलता अहिले थुप्रिएर केही नहुने बताए । आगामी आर्थिक वर्षको मौीद्रक नीति कस्तो बन्नुपर्छ भन्ने जिज्ञासाको जवाफ दिँदै उनले अहिलेको तरलता धेरै छ भनेर फुर्किनु भनेको ३ फिट पानी भएको पोखरीमा बसेर म डुबिनँ भने जस्तै हुने उनले बताए ।

आगामी मौद्रिक नीतिले ठूला बैंकहरुको मर्जरलाई प्रोत्साहन गर्ने नीति लिनु पर्ने समेत उनले बताए । नेपालमा रहेका बैंकहरु एकदमै सानो भएको भन्दै उनले मुलुकको अर्थतन्त्रलाई वलियो बनाउन बैंकिङ क्षेत्रपनि बलियो बनाउनु पर्ने बताए । तर, फोर्स गरेर नभई प्रोत्साहन गरेर, सहुलियत दिएर बैंकहरुलाई मौद्रिक नीतिले मर्जर लैजानु पर्ने उनले बताए ।

भट्टराईले मुद्रास्फिीति ७ प्रतिशतमा राख्नेर आर्थिक वृद्धिदर पनि ७ प्रतिशत हासिल हुने सम्भावना पनि कम रहेको उनले आकलन गरे । ‘प्रतिशत मुद्रास्फिति नियन्त्रणमा राखेर ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नका लागि २१ प्रतिशतले कर्जा बढ्नु पर्छ’ उनले भने, ‘यो वर्ष हाम्रो १३ प्रतिशतमात्रै बढेको छ, अर्को वर्ष पनि राम्रो हुन्छ भन्ने छैन । यसकारण पनि निकै गाह्रो छ ।’

आगामी मौद्रिक नीति कस्तो हुनुपर्छ भन्ने अनलाइनखबरको प्रश्नमा बैंकिङ विज्ञ भट्टराईले दिएको जवाफ जस्ताको तस्तैः

समग्रमा यो पटकको मौद्रिक नीति यसअघिका वर्षहरुको भन्दा फरक आउनु पर्छ । यस अघिका वर्षका मौद्रिक नीतिहरु परम्परागत खालको थिए । आगामी आर्थिक वर्षका आउने मौद्रिक नीति यस्तो हुनु हुँदैन । विगतको नीति नियन्त्रणमुखी विगतको थियो भने अब वातावरण सुहाउने खालको आउनु पर्छ । कोभिडको कारण देखिएका समस्याहरु समाधान गर्ने खालको आउनु पर्यो ।

अहिले व्यापार व्यवसायहरुमा नगद प्रवाहको समस्या छ । माग र आपुर्तिको समस्या  छ । बैंकले तरलता छ भन्दैमा कर्जा दिइहाल्न पनि त्यतिे सजिलो छैन । अहिलेको अवस्थामा लगानी त्यति सहज छैन । कर्जा लिएर पनि राम्रो प्रतिफल पाउने क्षेत्रमा लगानी गरिहाल्न डर नै छ । नयाँ कर्जा लगानी गर्ने भन्दा पनि अहिले लगानीमा रहेको ३२ खर्ब कर्जाको व्यवस्थापमा ध्यान दिनु पर्यो ।

अहिले तरलता धेरै भयो भनेर खुसी हुनु भनेको ३ फिट पानीमा बसेर डुबिनँ भनेजस्तै हो

केन्द्रीय बैंकले ब्याजदरको उचारचढावलाई धेरै हुन दिनु हुँदैन । अहिले व्याजदरमा उतारचढावमा केही हदसम्म कम भएको छ । योे माग नभएर कम भएको हो । यो विषयमा ध्यान दिनु पर्छ । बैंकदरमा ध्यान दिनु पर्छ । बैंकदर अहिले खाली प्रकाशनको लागिमात्रै भएको  छ । यसलाई बजारको ब्याजदरमा लिंक गराउनु पर्छ । अर्को ब्याजदर कोरिडोर पनि पोलिसीमामात्रै भयो ।

यो कार्यान्वयन गर्ने प्रतिवद्धता हुनु परो । अहिले कर्जा दिनसक्ने क्षमतालाई (कर्जा र निक्षेपबीचको अनुपात) सीसीडी रेसियोबाट नियन्त्रण गरिएको छ । यसलाई हटाइदिनु पर्छ । सीडीडी हटाएर तरलता अनुपातमात्रै १५ प्रतिशतसम्म राख्दा राम्रो हुन्छ । अन्य देशहरुमा तरलता अनुपात १० प्रतिशत छ ।

हाम्रो वित्तीइ क्षेत्र धेरै अनुशासित छ । धेरै पारदर्शी छ । यसलाई कायम राख्नु पर्यो । अपरादर्शी हुन दिनु भएन । राष्ट्र बैंकले कर्पोरेट गभर्नेन्स, व्यवस्थापकीय सुधारका लागि ठूलो कदम चाल्नु पर्छ । यसका लागि मर्जरमा जानु पर्यो । अहिले स्वदेशी पुँजीलेमात्रै पुग्दैन । विदेशी पुँजी ल्याउनु पर्छ । यसका लागि हाम्रा बैंक वित्तीय संस्थाहरुलाई वलियो बनाउनु पर्छ । जलविद्युत्, सिमेन्ट बाहेकका अन्य क्षेत्रमा विदेशी लगानी धेरै आउन सकेको छैन । वित्तीय क्षेत्र अन्य क्षेत्रको तुलनामा पारदर्शी छ ।

३ विलियन डलर माथि सम्पत्ति भएका ३ देखि ४ वटासम्म बैंक बनाउनु पर्छ । हाम्रो अर्थतन्त्रलाई थप वलियो बनाउन बैंक वलियो बनाउनु पर्यो । भारतको एसबीआई बैंको रेभ्यून्यू हाम्रो जीडीपी भन्दा ठूलो छ । यसकारण हाम्रो बैंकहरु ठूलो बनाउनु परो । यसका लागि मर्जर गर्नुपर्छ । मर्जरका लागि बैंकहरुका लागि सहुलियत दिनु पर्छ । त्यसै मर्जरमा जा भनेर पनि हुँदैन । व्यापार गरिरहेका मान्छेलाई त व्यापार नगर भनेर उसले छाड्दैन । उसलाई तैले व्यापार छाडिस् भने यो फाइदा हुन्छ भनेर फाइदा दियो भने पक्कै पनि छाड्छ । यसकारण बैंकहरुलाई प्रोत्साहन गरेर मर्जरमा जान जानु दिनु परो ।

अहिले सरकारी लगानी रहेका ३ वटा बैंक छन् । यि बैंकहरुले अन्य साना बैंकहरुलई गाभेर वलियो बन्नु पर्छ । यसको वातावरण केन्द्रीय बैंकले मिलाउनु परो । सरकारी बैंक र प्राइभेट बैंक एउटै हुँदैनन् । जस्तो राष्ट्रिय वाणिज्य बैंक एक पटक निकै समस्इामा पर्यो । पछि सरकारले यो बैंकलाई पुँजी हालियो र अहिले वलियो बैंक बनेको छ । प्राइभेट बैंकमा यति सजिलो छैन । म त भन्छु कि बैंकहरुले साना अन्य बैंकलाई गाभ्नु पर्छ ।

अब मौद्रिक नीतिले ध्यान दिनु पर्ने कुरा बैंकको ब्याजलाई पुँजीमा रुपान्तरण गरिदिने । कर्जाको अवधि १० वर्ष छ भने २० वर्ष बनाइदिने । भाका बढाइदिएर किस्ता घटाइदिनु पर्छ । अहिले आम्दानी कम छ । भुक्तानी गर्न समस्या छ । यसकारण उसलाई समय थपेर किस्ता पनि घटाइदिने हो भने उसले ऋण तिर्छ । यदि म सक्छु, चाँडै तिर्छु भनो भने उसलाई अतिरिक्त शुल्क नलिने ।

अहिले कर्जा लिन धेरै कागजातहरु पुरा गर्नुपर्छ । आम्दानीको कागजातहरु बुझाउनु पर्ने हुन्छ । यसलाई केही सहज बनाउनु पर्छ । सम्पत्तिको मूल्य स्थायित्व गरिदिनु पर्छ । इकनमी तल जाने जोखिम धेरै छन् । पुँजी बजारलाई पनि सपोर्ट गरिदिनु पर्यो । अत्यन्तै दबावमा सेयर बिक्री गर्नु पर्ने बाध्यता नआओस् ।

अहिले मुद्रास्फिीति ७ प्रतिशतमा राख्ने भनेको छ । आर्थिक वृद्धिदर पनि ७ प्रतिशत कायम गर्ने भनिएको छ । कतिपय कुराहरुमा भारतको मुद्रास्फितिमा हामी निर्भर हुनुपर्ने हुन्छ । ७ प्रतिशत मुद्रास्फिति नियन्त्रणमा राखेर ७ प्रतिशतको आर्थि वृद्धिदर हासिल गर्नका लागि २१ प्रतिशतले कर्जा बढ्नु पर्छ ।

यो वर्ष हाम्रो १३ प्रतिशतमात्रै बढेको छ । अर्को वर्ष पनि राम्रो हुन्छ भन्ने छैन । भूकम्प आएका बेला अवस्था फरक थियो । रिकभर हुन समय लाग्छ । २१ प्रतिशत क्रेडिट ग्रोथ हुन गाह्रो छ, यो नभए ७ प्रतिशत मुद्रास्फिति कायम हुन र ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिँदैन ।

अहिले ३२ खर्ब कर्जा लगानीमा छ । सरकारी लक्ष्य भेट्टाउन अर्थात २१ प्रतिशत क्रेडिट ग्रोथ अर्थात करिब ७ सय अर्ब रुपैयाँ थप कर्जा लगानी हुनुपर्छ । हाम्रो निक्षेप वृद्धि अर्को वर्ष ६ सय अर्ब भन्दा हुने देखिदैन ।

यसकारण फेरि तरलता संकुचन आउन सक्छ । कोरोना त्रास कायमै रहे लगानी हुँदैन, कर्जाको माग कम हुन्छ र तरलताको अभाव हुँदैन । तर कोरोनाको त्रास सहज भयो भने माघ पछि कर्जाको माग निकै बढ्छ । त्यसपछि तरलता संकुचन आउँछ ।

अब अहिले तरलता निकै बढेको चर्चामा छ । अहिले १६६ अर्ब रुपैयाँ तरलता छ । अहिले यति धेरै तरलता छ भनेर ढुक्क हुन सकिने अवस्था होइन । ३ फिटमात्रै पानी भएको पोखरीमा बसेर म डुबिनँ भनेर उफ्रिन भएन ।

३ फिट पानीमा भएको मान्छे चिप्लिएर ६ फिट भएतिर पुग्न लागेको छ तर अहिले ३ फिटमै भएको बेला म डुबिनँ भनेर उफ्रेर हुँदैन । अलिकति उफ्रियो भने ६ फिटमा पुग्छ र ऊ डुब्छ । आफू चिप्लिदै जाने धेरै पानी भएकातिर जाने, अनि अहिले कम पानीमा भएका बेला डुबिन भनेर खुसी हुनु भएन । अहिले तरलता धेरैभयो भनेर खुसी हुनु भनेको ३ फिट पानीमा बसेर डुबिनँ भनेजस्तै हो ।

अहिले भएको तरलता त केही पनि होइन । ३ खर्ब/४ खर्ब हामीसँग तरलता भएको भए अलि लामो समय पुग्ने थियो भनेर असिल ढुक्क हुन सकिने थियो । अहिलेकै अवस्थामा तरलता टन्न छ भनेर ढुक्क हुने अवस्था होइन । वर्तमानलाई हेरेरमात्रै होइन भविष्यलाई हेरेर विश्लेषण गर्नु पर्छ ।

कोरोना त्रास भए आगामी आर्थिक वर्षमा निकै तरलता अभाव हुन सक्ने अवस्था छ । यसबारे आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उचित व्यवस्था गरिनुपर्छ । राष्ट्र बैंकले यस विषयमा सोचोस् ।

यो पनि पढ्नुहोस मौद्रिक नीतिमा के आउँदैछ ? निजी क्षेत्रमैत्री हुने गभर्नरको संकेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment