+
+
Shares

११ महिनाको अर्थतन्त्र : सुधारिँदै वैदेशिक व्यापार, घट्दै रेमिट्यान्स

रोयल आचार्य रोयल आचार्य
२०७७ साउन २ गते १२:५४

१ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७६/७७ अर्थतन्त्रका सकारात्मक नै हुने देखिएको छ । गत आर्थिक वर्षको ११ महिनासम्मको तथ्यांकले अर्थतन्त्रका केहि सूचकहरु नकारात्मक दिशामा अघि बढेका छन् भने केहि सूचकहरु भने सकारात्मक देखाएको छ ।

अर्थतन्त्रको टेको मानिने रेमिट्यान्स आप्रवाहमा कमी आएको छ भने उपभोक्ताको भान्सा थोरै सस्तिएको छ । दाल तथा गेडागुडी, सुर्तिजन्य वस्तु, मसला, अल्कोहलिक पेय पदार्थ र फलफूल उपसमूहको भने मूल्य बढेको देखिन्छ ।

यसैगरी शोनानान्धर स्थितिमा सुधार हुदै गरेको देखिएको छ । उता विदेशी विनिमय सञ्चिति पनि सकारात्मक देखिएको छ । १३ महिनाको वस्तु तथा सेवा आयात धान्न विदेशी मुद्रा पर्याप्त देखिएको छ । वैदेशिक व्यापार पनि सुधार हुँदै गएको छ । समग्रमा निर्यात झिनो अंकले बढेको छ । भारतसँगको मात्रै तथ्यांक हेर्ने हो भने ११ महिनाको अवधिमा निर्यात ११ प्रतिशतले बढेकेा छ ।

कोभिड-१९ संक्रमण नियन्त्रणका लागि अपनाइएका विभिन्न उपायहरुका कारण आर्थिक गतिविधि प्रभावित भएको राष्ट्र बैंकले बताएको छ । यद्यपि, २०७७ असार १ देखि बन्दाबन्दीलाई केही खुकुलो बनाएसँगै आर्थिक क्रियाकलाप सामान्यीकरण हुँदै गएको छ ।

घट्यो विप्रेषण आप्रवाह

११ महिनामा विप्रेषण आप्रवाहमा ३ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक तथा वित्तीय स्थितिबारे ११ महिनाको रिपोर्ट सार्वजनिक गर्दै रेमिट्यान्स ३ प्रतिशतले कमी आएको जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार  गत आर्थिक वर्षको जेठ मसान्तसम्म ७ खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.१ प्रतिशतले बढेको थियो । यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामा भने १२.४ प्रतिशतले कमी आएको राष्ट्र बैंकले बताएको छ । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२.४ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या ३५.७ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३१.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो ।

उपभोक्ता मुद्रास्फितिमा सुधार 

२०७७ जेठमा वाषिर्क बिन्दुगत उपभोक्ता मुद्रास्फिति ४.५४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फिति ६.१६ प्रतिशत रहेको थियो । जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.४१ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फिति ३.८७ प्रतिशत रहेको छ । यस महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत दाल तथा गेडागुडी, सुर्तिजन्य वस्तु, मसला, अल्कोहलिक पेय पदार्थ र फलफूल उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।

अवधिमा काठमाडौं उपत्यकामा ४.४३ प्रतिशत, तराईमा ४.८६ प्रतिशत, पहाडमा ४.१३ प्रतिशत र हिमालमा ४.३४ प्रतिशत मुद्रास्फिति रहेको छ । २०७६ जेठमा यी क्षेत्रहरुमा क्रमशः ७.१० प्रतिशत, ५.८० प्रतिशत, ५.७० प्रतिशत र ६.४६ प्रतिशत मुद्रास्फिति रहेको थियो ।

घट्यो व्यापारघाटा

११ महिनाको अवधिमा व्यापारघाटामा सुधार आएको छ । आर्थिक वर्ष २०७६/७७ को एघार महिनामा कुल वस्तु व्यापार घाटा १६.४ प्रतिशतले घटेर १० खर्ब १२ अर्ब ८१ करोड कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा १७.२ प्रतिशतले वृद्धि भएको थियो । यस अवधिमा निर्यात-आयात अनुपात ८.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.८ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७६/७७ को एघार महिनामा कुल वस्तु निर्यात ०.२ प्रतिशतले वृद्धि भई रु.८८ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १९.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ११.२ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ४२.१ प्रतिशत र १८.३ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, जडिबुटी, प्लाष्टिकका भाँडा, एम.एस. पाइप लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, पोलिस्टर यार्न तथा धागो, ऊनी गलैंचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७६/७७ को एघार महिनामा कुल वस्तु आयात १५.३ प्रतिशतले घटेर रु.११ खर्ब ८१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७.३ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २०.३ प्रतिशत, ९.० प्रतिशत र ४.१ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, कच्चा सोयाविन तेल, रासायनिक मल, कम्प्युटर तथा पार्टपुर्जा, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने सुन, एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेशीनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ बीरगंज र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

बढ्यो विदेशी मुद्रा सञ्चिति

विदेशी मुद्रा सञ्चिति करिब २६ प्रतिशतले बढेको छ । तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७६/७७ को ११ महिनामा कुल विदेशी विनिमय सञ्चिति २५.८ प्रतिशतले बढेको हो ।

२०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०७७ जेठ मसान्तमा बढेर १३ खर्ब ६ अर्ब ४६ करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ जेठ मसान्तमा १० अर्ब ७९ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा रु.९०२ अर्ब ४४ करोड रहेकोमा २०७७ जेठ मसान्तमा रु.११४२ अर्ब ७८ करोड पुगेको छ । यसैगरी बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा रु.१३६ अर्ब ४७ करोड रहेकोमा २०७७ जेठ मसान्तमा रु.१६३ अर्ब ६८ करोड पुगेको राष्ट्र बैंकले बताएको छ ।

२०७७ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७६/७७ को एघार महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.३ महिनाको वस्तु आयात र ११.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिने राष्ट्र बैंकले बताएको छ ।

शोधानान्तर बचतमा, चालु खाता घाटामा सुधार

समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ८३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको एघार महिनासम्ममा ८० करोड ३१ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १ अर्ब ५० करोडले बचतमा रहेको छ ।

एक देशको अन्य देशबीच हुने वित्तीय लेनद नको हिसाव नै शोधनान्तर हो । ब्यापार घाटाजस्तै देशबाट बाहिरिने पैसाको तुलनामा भित्रिने पैसा बढि भएमा शोधनान्तर बचत हुन्छ, कम भए घाटा हुन्छ । चालु खाता घाटा पनि सुधार हुँदै गएको छ ।

११ महिनाको अवधिमा चालु खाताघाटा ७१.२ प्रतिशतले घटी ७१ अर्ब ६४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब ४९ अर्ब ८ करोड रहेको थियो ।

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?