Comments Add Comment

६० प्रतिशत करदाताले अब घरबाटै कर तिर्न सक्ने

७ साउन, काठमाडौं । वार्षिक २० लाखसम्म कारोबार गर्ने साना करदाताले मोबाइल एप्सलगायत अन्य विद्युतीय माध्यमबाट कर बुझाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ । बजेटमा गरिएको घोषणा कार्यान्वयनमा आएसँगै अब करिब ६० प्रतिशत करदाताले घरबाटै कर तिर्न सक्नेछन् ।

आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा कुल ६ लाख ९० हजार करदाताले आय विवरण बुझाएका थिए । उनीहरुमध्ये ४ लाख ११ हजार करदाता साना करदाता हुन्, जसको वार्षिक कारोबार २० लाखभन्दा कम छ । नयाँ व्यवस्थापछि उनीहरुले छिटो र छरितो सेवा पाउने छन् भने कर प्रशासनको कार्यबोझ पनि कम हुनेछ

चालु आर्थिक वर्षमा यस्ता साना व्यवसायीलाई सरकारले सहुलियत प्याकेजसमेत ल्याएको छ । यसअनुसार उनीहरुलाई ७५ प्रतिशतसम्म कर छुट दिने निर्णय सरकारको छ । वार्षिक २० लाख कारोबार वा २ लाख रुपैयाँसम्म आय भएको महानगर र उपमहानगरपालिकामा व्यवसाय सञ्चालन गर्ने व्यक्तिले सामान्य अवस्थामा वार्षिक ७ हजार ५ सय रुपैयाँ आयकर तिर्नुपर्छ । यस वर्ष भने यस्ता व्यवसायीले १ हजार ८ सय ७५ रुपैयाँ मात्र आयकर तिर्दा पुग्छ ।

नगरपालिकामा २० लाखसम्म कारोबार वा २ लाख आय हुनेले वार्षिक ४ हजार कर तिर्नुपर्नेमा यो वर्ष मात्र १ हजार तिरे पुग्नेछ । गाउँपालिकामा वार्षिक २० लाख कारोबार वा २ लाख आय गर्ने व्यक्तिले सामान्य अवस्थामा २५ सय रुपैयाँ कर तिरे पुग्नेमा यो वर्ष मात्र ६२५ तिर्दा हुने गरी सरकारले छुट दिएको छ ।

यो छुट सुविधाबाट सरकारलाई आयकरमा ठूलो घाटा पुग्ने छैन किनकी नेपालमा साना करदाताको संख्या ठूलो भए पनि उनीहरुले कुल आयकरमा गर्ने योगदान भने न्यून छ । विभागका अनुसार साना करदाताबाट १ प्रतिशत हाराहारी मात्र आयकर असुल हुन्छ ।

यसरी तिर्नुस् घरबाटै कर

विभागले राजस्व व्यवस्थापन सूचना प्रणाली अन्तर्गत नयाँ सफ्टवेयर बनाएर १ साउनबाट सन्चालनमा ल्याएको छ । महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा व्यवसाय गर्ने व्यक्तिले तोकिएको आयकर बैंकमार्फत तिर्दा आय विवरणसमेत पेश गर्न सकिने गरी नयाँ प्रणाली विकास गरिएको छ । आन्तरिक राजस्व विभागका अनुसार साना करदाताले आयकर ऐनअनुसार आय विवरण तथा कर दाखिला फारम भर्नुपर्छ ।

यस्तो फारममा करदाताले आफ्नो स्थायी लेखा नम्बर, आय वर्ष, कारोबार रकम, कट्टी हुने रकम, करदाता वा निजको प्रतिनिधिको पूरा नाम, हस्ताक्षर र मोबाइल नम्बर भर्नुपर्छ । यसरी विवरण भर्दा आय रकम, लाग्ने कर रकम र म्याद गुजारी आय विवरण र कर दाखिला गर्दा लाग्ने शुल्क तथा ब्याजसमेत कम्प्युटर प्रणालीबाट स्वतः गणना हुन्छ । यसले करदाता र बैंकका कर्मचारीलाई समेत कर दाखिला र संकलन सहज हुनेछ । यो प्रणालीमा त्रुटीको सम्भावना समेत कम हुने विभागले जनाएको छ ।

अहिले प्रत्येक वर्षको आय विवरण र कर दाखिला गर्ने प्रणाली रहेको छ । अबदेखि एकै पटकमा एकभन्दा बढी आय वर्षको आय विवरण र कर दाखिला गर्न सक्ने प्रणालीमा समेत सुधार गरिएको विभागले जनाएको छ ।

अबदेखि आफू दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयको राजस्व संकलन गर्ने अधिकार प्राप्त बैंकको जुनसुकै शाखामा गई यस्तो फारम भरेर आय विवरण र कर दाखिला गर्न सकिने छ । यसअघि यस्तो विवरण र कर तिर्न कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो । अब भने करदाताले नजिकको बैंक शाखामा पुगेर आय विवरण र कर भुक्तानी गर्न सक्ने भएका छन् । यसरी दाखिला भएको रकम र विवरण आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयको अभिलेखमा पुग्ने गरी प्रणाली विकास गरिएको छ ।

यसबाहेक विद्युतीय माध्यम प्रयोग गरेर पनि साना करदारताले कर तिर्न सक्छन् । यसका लागि कुनै करदाताले विभागको एकीकृत कर प्रणालीमा रहेको ट्याक्सपेयर पोर्टलमा गई विद्युतीय माध्यमबाट आय विवरण तथा कर दाखिला भौचर तयारी गरी सम्बन्धित बैंकमा गई कर भुक्तानी गर्न सक्छन् । कनेक्ट आईपीएसका माध्यमबाट समेत कर तिर्न सकिने बनाइएको छ ।

बिद्यूतीय माध्यमबाटै करचुक्ता प्रमाणपत्र

साना करदाताका लागि अब विद्युतीय माध्यमबाटै करचुक्ता प्रमाणपत्र समेत जारी हुनेछ । यसका लागि विभागको एकीकृत कर प्रणालीमा विद्युतीय कर चुक्ता प्रमाणपत्र माग गर्न सकिने गरी प्रणाली बनाइएको छ । प्रणालीले स्वतः आय विवरण र कर बक्यौता भए नभएको सुनिश्चित गरी बक्यौता नभएमा कर चुक्ता प्रमाणपत्र जारी गर्ने भएको छ । यो पनि स्वचालित प्रणालिमा आधारित बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment