Comments Add Comment

किसान क्रेडिट कार्डको तयारी अन्तिम चरणमा, यस्ता छन् फाइदा

बासु अधिकारी 

७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै किसानलाई सूचना दिन किसान क्रेडिट कार्डको व्यवस्था गरिने बताए । किन्छु भनेको बेलामा मल र बीउसमेत नपाउने किसानलाई सरकारले क्रेडिट कार्ड दिने कुरा आफैंमा नौलो थियो । केन्द्रीय बैंकको घोषणालाई लिएर सामाजिक सञ्जालमा ठट्यौली टिप्पणीहरु पनि गरिए ।

कृषि विकास मन्त्रालयले आफ्नो नीत तथा कार्यक्रममा समेत उल्लेख गरेको किसान क्रेडिट कार्ड कार्र्यान्वयन गर्न केन्द्रीय बैंकले कृषि विकास बैंकलाई अख्तियारी दिएको छ । किसान क्रेडिट कार्ड जारी गर्नका लागि बैंकले धेरै प्राविधिक कामहरु गरिसकेको जनाएको छ ।

किसान क्रेडिट कार्ड हाल सर्वसाधारणले प्रयोग गरिरहेको एटीएम र भिसा कार्डकै आकारमा हुनेछ । एटीएम र भिसा कार्ड चिप्समा चल्छन् भने किसान क्रेडिट कार्ड क्युआर कोडमा आधारित हुन्छ । यो एटीएम बुथमा भने चल्दैन ।

यो कार्डले सुरुआती चरणमा कृषि विकास बैंकबाट लिएको ऋणको थप किस्ता झिक्न चेक बोकेर बैंकसम्म किसान धाउनु पर्ने बाध्यताको अन्त्य गर्ने कृषि विकास बैंकका  डिजिटल बैकिङ विभाग प्रमुख बासु अधिकारी बताउँछन् । बैंकले नगद भुक्तानी प्रदायकहरु गाउँस्तरमा खडा गर्ने र सोहीमार्फत किसानले कृषि कर्मका लागि चाहिएको बेला नगद लिन सक्ने व्यवस्था किसान क्रेडिट कार्डमार्फत हुनेछ ।

कसरी बन्छ किसान क्रेडिट कार्ड ?

कृषि कर्म गर्नका लागि देशभरका कृषि विकास बैंकका कुनै पनि शाखाबाट ऋण लिएपछि कृषकले बैंकबाट किसान क्रेडिट कार्ड पाउँछन् । क्रेडिट कार्ड र बैंकले बनाइरहेको किसान एप एकअर्कामा अन्तरसम्बन्धित हुन्छन् ।

कार्ड प्रचलनमा ल्याउन कृषि विकास बैंकले किसान भन्ने मोबाइल एप निर्माण अन्तिम चरणमा पुर्‍याएको छ । किसानले बैंकबाट ऋण स्वीकृत गराएपछि ऋणको निश्चित रकम कार्डमा लोड गरिन्छ भने किसान एपमा किसानको प्रोफाइल तयार हुन्छ । यसलाई खोल्न, पढ्न तथा आफ्नोबारे केही जानकारी थप गर्न किसानलाई बैंकले युजर आईडी र पासवर्ड उपलब्ध गराउँछ । किसान एप सञ्चालनको प्रक्रिया किसानले कम्तिमा एउटा मोबाइल बोकेका हुन्छन् भन्ने अवधारणामा निर्माण गरिरहेको बैंकले जनाएको छ ।

उत्पादनदेखि आपूर्तिसम्मको जानकारी

किसान क्रेडिट कार्डले दोस्रो चरणमा किसानलाई उत्पादनको पुँजी र बीउ तथा उत्पादनका साधनदेखि बजारसम्म जोड्ने आपूर्ति शृंखला निर्माण हुने कृषि विकास बैंकले जनाएको छ । बैंकले निर्माण गरिरहेको यो सफ्टवेरमा किसानले लिएको ऋण, सरकारबाट पाएको अनुदान, आफ्नो कृषि उत्पादनको अवस्था, कृषि औजार उपलब्धता, उत्पादनको बजारीकरण र मूल्यसमेतको सूचना ड्यासबोर्ड मार्फत प्राप्त गर्न सक्ने तथा आफूले राख्न सक्ने बैंकका डिजिटल बैकिङ विभाग प्रमुख अधिकारी बताउँछन् ।

‘कृषि उत्पादनको समग्र चक्रसहित किसानलाई बजार र कृषिसँग सम्बन्धित सबै निकायसँग जोड्ने सफ्टवेयर नै किसान क्रेडिट कार्ड हो,’ उनले भने ।

कृषि विकास बैंकबाट कृषि कर्जा लिएपछि ऋणको प्रकृतिअनुसार केही रकम किसानले पहिल्यै लान्छन् । त्यसपछि कृषि कर्मको अर्को चरणका लागि चाहिने पैसा लिन किसान चेक बोकेर पुनः बैंकको शाखासम्म धाउनु पर्ने विद्यमान अवस्था छ । तर अब किसान क्रेडिट कार्ड बनेपछि स–साना कृषि कामका लागि चाहिने थोरै रकम निकाल्न कृषक गाउँबाट सहर आउनु पर्दैन ।

हरेक गाउँमा पैसा होल्ड गर्ने तथा पैसा खेलाउने मान्छेलाई बैंकले भुक्तानी प्रदायक तोक्छन् । यो भनेको कृषकलाई पैसा चाहिएको सूचना बैंकले पाएपछि आफूले तोकेको भुक्तानी प्रयोगकर्तालाई एक पटकका लागि प्रयोग हुने युजर आईडी र पासवर्ड उपलब्ध गराउँछ र सोही आधारमा भुक्तानी प्रदायकले किसानलाई रकम उपलब्ध गराउँछन् ।

‘ग्रामिण बजार केन्द्रमा भएका व्यक्तिहरुलाई पनि सिस्टममा इनरोल्ड गर्ने र किसानका लागि आवश्यक नगद स्थानीय तहबाट नै सृजना गरिदिने कार्डको उद्देश्य हो,’ अधिकारीले भने ।

यस्तै स्थानीयस्तरका व्यापारीसँग कृषकको कारोबार बैंकको सिस्टमबाट नै गराइने उनले बताए । कार्डको माध्यमबाट युनिक कोडमार्फत् सरकारी अनुदान च्यानलाइज गर्ने र डिजिटल रेकर्ड राख्ने काम पनि हुने बैंकको विश्वास छ । कार्ड घोटेरै किसानले पैसा पाउने अवस्था भने दोस्रो चरणको कामपछि हुने बैंकले जनाएको छ ।

कहाँ पुग्यो तयारी ?

कृषि विकास बैंकको प्राविधिक कार्यदलले किसान क्रेडिट कार्ड र किसान एपका लागि प्राविधिक काम अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । ‘काम निकै तीव्र गतिमा अघि बढेको छ, हामी पनि निकै छिटो कार्यान्वनयमा ल्याउन चाहन्छौ,’ अधिकारीले थपे, ‘अहिले सिस्टम एसेप्टेन्स टेष्ट चलिरहेको छ, प्राविधिक कमजोरीहरु सुधार गर्ने काम भइरहेको छ ।’

सेवा सुरुवात मिति तोक्न नसकिए पनि नयाँ प्रयोगका लागि बैंक आतुर रहेको अधिकारीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment