Comments Add Comment

तत्कालै खाडी मुलुक र मलेसियाले लिन्छन् त नेपाली कामदार ?

म्यानपावर व्यवसायी भन्छन्– विदेशबाट माग आउन थालिसक्यो

८ साउन, काठमाडौं । अहिले स्वदेशमा रोजगारी नपाएर छट्पटाइरहेका नेपाली युवाको जिज्ञासा छ, कहिलेबाट वैदेशिक रोजगारीमा जान पाइन्छ ?

अहिले पनि श्रम गन्तव्य मुलुकबाट बिदामा आएकालाई नेपाल सरकारले फर्किनको लागि श्रम स्वीकृति दिइरहेको छ । तर नयाँ श्रम करार गरेर विदेश जान चाहनेहरू भने कहिलेबाट रोजगारी खुल्छ भनेर कुरेर बसिरहेका छन् ।

विदेशबाट बिदामा नेपाल आएका कतिपयलाई विदेश फर्किन त्यहाँको लकडाउनले रोकेको अवस्था छ । नेपाल सरकारले आगामी भदौ १ गतेबाट अन्तर्राष्ट्रिय उडान खोलेपछि काम गर्न विदेश जान पाउनेमा धेरै युवा आशावादी छन् ।

तर प्रमुख श्रम गन्तव्यका रूपमा रहेको साउदी, कतार, यूएई, मलेसिया, कुवेत, ओमान, बहराइनको वर्तमान अवस्था र सरकारी नीतिहरू युवाको अपेक्षासँग मिल्दोजुल्दो छैन ।

अहिले पनि नेपालीको श्रम गन्तव्य मुलुकहरू कोभिड-१९को महामारीसँग जुधिरहेका छन् । विकासशील अर्थतन्त्र भएको खाडी मुलुकमा कोरोनाले नराम्रो असर पारेको छ । मुख्यगरी तेलमा आधारित अर्थतन्त्र भएकाले त्यहाँको अर्थतन्त्र अन्य देश र त्यहाँका आर्थिक नीतिमा निर्भर छ ।

यस्तो अवस्थामा बाह्य प्रभावसँग जुध्दै अर्थतन्त्रलाई पुरानै गतिमा फर्काउन श्रम गन्तव्य मुलकलाई सजिलो छैन । जसको असर नेपालीहरूमा पर्ने गरेको रोजगारीको क्षेत्रमा समेत प्रत्यक्ष रूपमा पर्ने देखिन्छ ।

अहिले मलेसिया र खाडी मुलुकहरूमा लकडाउनको मोडालिटी खुकुलो बन्दैछ । तर विदेशबाट कामदार ल्याउने सन्दर्भमा भने ती देशहरू तत्कालै नरम हुने अवस्थामा देखिएका छैनन् ।

विदेशस्थित दूतावासहरूका अनुसार मुख्य श्रम गन्तव्य मुलुकहरू तत्कालै नेपाल वा अन्य देशबाट कामदार लैजाने पक्षमा देखिएका छैनन् । श्रमिक लैजान चाहने केही मुलुकले पनि कडा किसिमको मेडिकल प्रोटोकल बनाएका छन् । क्वारिन्टन खर्च आफैँले व्यहोर्नुपर्ने लगायतका व्यवस्थासहितका त्यस्ता प्रोटकलले श्रमिकलाई आर्थिक भार थपिने अवस्था छ ।

सम्बन्धित श्रम गन्तव्य मुलुकहरूले नेपालमा कोरोनाको जोखिम र नियन्त्रणको पहलकदमीलाई पनि हेरिरहेका छन् । नेपाल कोभिड-१९को जोखिमबाट हटेको अवस्थामा मात्रै नेपालीलाई त्यहाँ रोजगारीको अवसर मिल्ने अवस्था समेत छ ।

पछिल्लो एक हप्तामा जापान र कतारले कोरोनाको मामिलामा नेपाललाई संवेदनशील देशको सूचीमा समावेश गरेका छन् । त्यसैकारण तत्कालै नेपालबाट नयाँ श्रमिकहरू रोजगारीका लागि ती देशमा जाने अवस्था कम रहेको विदेशस्थित दूतावासका अधिकारीहरू बताउँछन् ।

यो पनि पढ्नुहोस कोरोनापछिको विश्लेषण : वैदेशिक रोजगारीमा चाँदीको घेरा !

विदेशबाट कामदार लैजाने नीति पुनरावलोकन गर्दा अन्य देशले पनि महामारीको मामलामा संवेदनशील देशबाट कामदार नलिने निर्णय गर्ने पक्का छ । त्यस्तो अवस्थामा नेपालमा महामारी नियन्त्रण नभए तत्कालै नेपालीले अवसर पाउने सम्भावना कम हुन जाने अधिकारीहरूको भनाइ छ ।

त्यतिमात्रै होइन, विदेशमा कार्यरत कति नेपालीहरू कामविहीन अवस्थामै बस्नु परेको छ । लकडाउन र लुजडाउनका कारण कतिपय क्षेत्रमा कार्यरत मजदुरहरू बिदामा छन् । आर्थिक गतिविधि पनि सुस्त रहेकाले तुरुन्तै त्यहाँ कामदारको ठूलो माग भएको छैन ।

कतिपय देशले सरकारले तत्काल विदेशी कामदार नलिने नीति लिएका छन् । यसका कारण नेपालमा लकडाउन खुल्नासाथ विदेशबाट ठूलो संख्यामा कामदारको माग आउने सम्भावना कम रहेको दूतावासका अधिकारीहरूको आकलन छ ।

अहिले सबै नेपाली दूतावास तथा नियोगमा कामदारको मागपत्र प्रमाणीकरण गर्ने काम पनि रोकिएको छ । मागपत्र प्रमाणीकरण नभई नयाँ श्रमिक विदेश लैजाने प्रक्रिया नै सुरु हुँदैन ।

मलेसियामा जनवरीसम्म रोक

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे मलेसियाले जनवरीसम्म विदेशबाट कामदार नल्याउने नीति लिएको बताउँछन् । त्यतिन्जेलसम्म कोरोनाको महामारी मत्थर भएमा मलेसियाले नेपालबाट कामदार लैजाने क्रम सुरु हुने उनको अनुमान छ ।

‘मलेसियाको श्रम बजारमा नेपाली कामदारको आफ्नै विशेषताहरू छन्, त्यसैले मलेसियाले महामारी नियन्त्रण गरेपछि आवश्यक ठाउँहरूमा नेपाली कामदारलाई मौका दिन्छ,’ पाण्डेले भने,‘ तत्कालै मलेसियाको श्रम बजार पहिलेको जस्तै त नहोला तर यहाँ नेपाली श्रमिकको लागि अवसरहरू हुनेछन् ।’

मलेसियामा नेपाली सुरक्षा गार्डको माग उच्च हुन्छ । मलेसियाले सुरक्षा गार्डमा नेपालीलाई मात्रै अवसर दिने नीति लिएको छ । अन्य क्षेत्रमा पनि नेपालीहरूले मलेसियामा अवसर पाउने गरेका छन् । तर सुरक्षाजस्तो स‌ंवेदनशील क्षेत्रमा महत्व पाएका नेपाली श्रमिकका लागि अझै मलेसिया राम्रो गन्तव्य रहिरहने सम्भावना टरेको छैन ।

‘साउदीमा श्रम बजार सिथिल हुन्न’

साउदी अरेबियामा पनि तत्कालै नेपाली कामदार जान पाउने देखिएको छैन । तर महामारी नियन्त्रण हुँदै गएकाले त्यहाँको रोजगारीको क्षेत्र अब सिथिल नरहने बताउँछन् साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुत ।

उनका अनुसार साउदीमा पनि बिस्तारै महामारी नियन्त्रण उन्मुख छ । यसका कारण बिस्तारै उद्योग, व्यवसाय, परियोजनाहरूमा कामदार आवश्यक पर्छ । यस्तो अवस्थामा साउदीमा नेपालीको माग हुने अवस्था भने विद्यमान छ ।

‘वैदेशिक रोजगारी दुःखद् र बाध्यात्मक अवस्था हो, नेपाली कामदारले तत्कालै खाडीलाई छोड्नुपर्छ जस्तो लागेको छैन,’ उनी भन्छन्, ‘यहाँको अर्थतन्त्र बिस्तारै उकासिँदै जाँदा यहाँ आवश्यक जनशक्ति नेपालबाट पनि आउँछन् ।’ तर त्यसका लागि केही समय कुनुपर्ने राजदूत राजपुतको भनाइ छ ।

ठूलो भू-भाग रहेको साउदीमा हरेक जसो क्षेत्रमा नेपालीहरू काम गर्छन् । कोभिड-१९का कारण होटल, रेस्टुरेन्ट र सैलुनहरूमा कार्यरत मजदुरले रोजगारी गुमाए पनि विभिन्न उद्योग, व्यवसाय र कलकारखाना तथा परियोजनामा कार्यरतहरू कोही बेतलवी बिदामा छन् भने कोही आंशिक समय मात्रै ड्युटी गरिरहेका छन् ।

महामारी नियन्त्रणमा आउना साथ सबै गतिविधिहरू बढ्ने भएकाले नेपालीहरूको श्रम बजारमा ठूलो असर पर्ने सम्भावना कम रहेको राजदूत राजपुतको विश्लेषण छ । तर छिट्टै ठूलो संख्यामा कामदारको माग आउने सम्भावना भने कम छ ।

कतार र यूएईमा आशंका

कतारमा पनि अन्यत्रजस्तै तत्कालै ठूलो संख्यामा कामदारको माग हुने अवस्था देखिएको छैन । त्यहाँका उद्योग, कलकारखाना र परियोजनाहरूमा अहिले पनि कामदारले रोजगारी गुमाउने क्रम रोकिएको छैन ।

महामारी नियन्त्रणका लागि सरकारले विभिन्न प्रयास गर्दा निजी क्षेत्र समस्यामै छ । यस्तो अवस्थामा कतार तत्कालै नेपालीहरूको पहिलेको जस्तै गन्तव्यका रूपमा पुनर्स्थापित हुने सम्भावना कम छ ।

कोभिड-१९का कारण त्यहाँको अर्थतन्त्र पनि थिलोथिलो छ । केही समय अझै कतारबाट ठूलो माग आउने सम्भावना कम रहेको बताउँछन्, कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाज । उनका अनुसार बिस्तारै रोजगार पुनर्स्थापित हुने विश्वास भने छ।

कतारको अर्थतन्त्र आत्मनिर्भर रहेकाले समस्याहरू सल्टाएर कतारले छिट्टै आर्थिक गतिविधि बाक्लो बनाउने विश्वास गरिएको छ । सन् २०२२ मा विश्वकप फुटबल गर्न जुटेको कतारले आफ्नो तयारीलाई फितलो बन्न नदिन पनि आर्थिक गतिविधिलाई सुदृढ बनाएर अघि बढाउने अपेक्षा गरेको छ ।

यसका लागि कतार सरकारले चाल्ने कदमहरूका कारण नयाँ अवसर सिर्जना हुने र त्यस्ता कारणबाट नेपालीहरूले रोजगारी पाइरहने अवस्था आउनसक्ने पूर्वानुमान गरिएका छन् ।

तर तत्कालै त्यहाँ जाने कामदारलाई आर्थिक भार थपिने जोखिम पनि छ । कतारले विदेशबाट जानेलाई ७ दिन तोकिएको क्वारेन्टिनमा उसकै खर्चमा राख्ने र ७ दिन होम क्वारेन्टिनमा राख्ने नीति लिएको छ ।

यसले गर्दा श्रमिकलाई आर्थिक भार बढ्ने खतरा बढेको छ । दूतावासका अनुसार कामदारको खर्च कम्पनीले व्यहोर्ने भने पनि त्यसैको नाममा नेपालमै म्यानपावरबाट कामदारसँग रकम असुल्न लगाउने जोखिम छ । यस्तो अवस्थामा कमाउन जाँदा श्रमिकलाई लाग्ने ऋण अझै बढ्ने अवस्था आउने खतरा छ ।

नेपालीहरूले राम्रो कमाइ गर्ने गन्तव्यका रूपमा रहेको यूएईमा झन् पनि कतारको भन्दा खराब अवस्था छ । त्यहाँ अहिले पनि धेरै कम्पनी आर्थिक संकटमा फसेका छन् । त्यहाँको सरकारले लिने आर्थिक नीतिका आधारमा त्यहाँ जान खोज्ने नेपाली श्रमिकको भविष्य निर्धारण हुने अवस्था छ । त्यहाँ भिजिट भिसामा जान खुला गरिए पनि कामदार भिसा दिन थालिएको छैन ।

यूएईमा तत्कालै नभए पनि औद्योगिक तथा व्यावसायिक क्षेत्र चलायमान हुँदै गएपछि नेपालीहरूलाई रोजगारीको अवसर प्राप्त हुने अवस्था रहेको दूतावासका अधिकारीहरू बताउँछन् ।

‘अहिले धेरै कम्पनीको आर्थिक अवस्था बिग्रिएको छ । तर ठूलो कारोबार गर्ने कम्पनीलाई अवस्था सहज हुनासाथ श्रमिकहरू चाहिन्छ,’ दूतावासका एक अधिकारीले भने,‘त्यसैले महामारीको अवस्था अन्त्य नभइन्जेलसम्म नयाँ अवसरको ढोका नखुले पनि भविष्यमा नेपाली कामदारले यहाँ अवसर पाइराख्छन् भन्नेमा शंका गर्नुपर्ने अवस्था छैन ।’

कुवेतमा पनि आशा जीवितै

कुवेतमा पनि बिस्तारै आर्थिक गतिविधि बढ्दै गएको छ । अहिले कुवेतमा पनि विदेशी कामदारलाई जान दिइएको छैन । विदामा स्वदेश गएर भिसा अवधि सकिएकालाई तत्कालै नफर्काउने नीति पनि ल्याइएको छ ।

तर भविष्यमा अवस्था सामान्य हुँदै गएपछि कुवेतले लिन सुरु गर्नेमा दुई मत नभएको दूतावासका अधिकारीहरू बताउँछन् । कुवेतको अर्थतन्त्र चलायमान हुनासाथ नेपाली कामदारले विगतकै जसरी अवसर पाउने बताउँछन्, कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी ।

‘कोभिड-१९को महामारीपछि पनि यहाँ विभिन्न क्षेत्रमा जनशक्ति चाहिन्छ, अब अन्तर्राष्ट्रिय उडानहरू सुरु गर्ने तयारी पनि हुँदैछ,’ भण्डारी भन्छन्,‘अहिलेसम्म त यहाँ विदेशबाट कामदार ल्याउनेबारे सोधपुछ भएको पाएका छैनौं तर भविष्यमा कुवेतलाई नेपाली श्रमिकहरू चाहिन्छ भन्नेमा आशंका छैन ।’

राजदूत भण्डारी श्रमिकको मागको अवस्था पुरानै दरमा फर्किन भने समय लाग्ने बताउँछन् । कुवेतमा घरेलु महिला श्रमिकहरू बढी जाने गरेका छन् । उनीहरूले अवैध बाटो समात्ने गरेका कारण पटक-पटक विभिन्नखाले समस्या हुने गरेका छन् ।

अन्य क्षेत्रमा पनि नेपालीहरू कुवेतमा कार्यरत छन् । महामारीपछि कुवेतमा पनि रोजगारीको ढोका सहजै खुल्नेमा सबै पक्ष आशावादी छन् ।

माग आउन थालिसक्यो : व्यवसायी

अन्तरदेशीय फ्लाइट खुल्नासाथ वैदेशिक रोजगारीको चलहपहल सुरु हुने र आगामी जनवरीसम्म वैदेशिक रोजगार नियमित ट्रेन्डमा फर्किन सक्ने आकलन व्यवसायीहरूको छ ।

विदेशबाट कामदार आपूर्तिबारे सोधपुछ हुन थालेको उनीहरू बताउँछन् । होटल, रेस्टुरेन्टलगायतका क्षेत्रबाट माग नआए पनि अन्य औद्योगिक क्षेत्रबाट भने मागहरू आउन थालेको उनीहरूको भनाइ छ ।

नेपालबाट विदेशमा सबैभन्दा बढी कामदार पठाउने रिभर ओभरसिजका प्रवन्ध निर्देशक रघु पुरी आफूलाई अनौपचारिक रूपमा करिब ९ सय कामदारको माग आएको बताउँछन् । ‘औपचारिक रूपमा आउन मागपत्र प्रमाणीकरण खुलेको छैन,’ उनी भन्छन्,‘ कहिलेबाट कामदार लैजान सकिएला भनेर अब कम्पनीहरूले सोध्न थालिसके ।’

व्यवसायीका अनुसार मलेसिया र खाडीका ठूला परियोजनाहरूमा पनि असर देखिएको छ । ठूलो लगानीका रिफाइनरी लगायतका विभिन्न परियोजनाहरू कोभिड-१९का कारण केही वर्षपछि धकेलिएकाले त्यस्ता क्षेत्रबाट आउने माग केही घट्ने देखिएको छ ।

होटल क्षेत्रमा अहिले माग नभए पनि अवस्था समान्य हुनासाथ माग सुरु हुने आकलन उनीहरूको छ । अहिले विदेशबाट सुरक्षा र सरसफाइको क्षेत्रमा माग धेरै आउन थालेको छ।

‘यसैवर्ष सुरु हुने र काम भइरहेका परियोजनाहरू केही वर्षका लागिपछि सरेका छन् । त्यस्तोमा पाउने रोजगारीमा केही प्रभाव पर्छ,’ पुरी भन्छन्,‘हैन भने अन्य क्षेत्रमा महामारीपछि अवस्थामा सामान्य उन्मुख भएर अघि बढ्छ ।’

अहिले श्रमिक माग गर्ने मुलुकहरूले क्वारेन्टिनमा बस्नुपर्ने लगायतका मेडिकल प्रोटोकलहरू बनाइरहेको भन्दै उनले त्यसको खर्च कसले कसरी व्यहोर्ने भन्ने तय हुन बाँकी रहेको बताए ।

कामदारहरूलाई आर्थिक भार नपर्ने गरी प्रोटोकल बनाउन पहल हुनुपर्ने भन्दै पुरीले अब क्रमैसँग श्रम गन्तव्य मुलुकहरूले श्रमिक भिसा खुलाउने भएकाले नेपालले पनि आफ्नो तयारी गर्नुपर्ने बताए ।

‘उनीहरुले पीसीआर रिपोर्ट अनिवार्य गर्न सक्छन्, यहाँ त्यस्तो सुविधा सहजै दिने व्यवस्था हुनुपर्छ,’ उनी भन्छन्,‘कामदार विदेश गएर क्वारेन्टिन बस्दाको खर्च कसले व्यहोर्ने भन्ने पनि स्पष्ट गरिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment