+
+
Shares

अवरोध नभए गौतमवुद्ध विमानस्थलमा ९ महिनापछि उडान

टोपराज शर्मा टोपराज शर्मा
२०७७ साउन ९ गते १९:३१

९ साउन, बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा भएर अन्तर्राष्ट्रिय उडानहरु शुरु हुन कम्तीमा ९ महिना समय लाग्ने भएको छ ।

‘बीचमा कुनै अवरोध नभए अझै कम्तीमा नौ महिनाभित्र विमानस्थलबाट व्यवसायिक रुपमा अन्तर्राष्ट्रिय उडान शुरु गर्न योग्य हुन्छ’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने, ‘राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध विमानस्थल नै पहिलो आयोजनाको रुपमा निर्माण सम्पन्न हुने हाम्रो विश्वास छ ।’

यद्यपि कोरोनाको असरका कारण विदेशबाट उपकरण र प्राविधिक जनशक्ति आउन ढिलाइ भए विमानस्थलको काम सम्पन्न हुन र अन्तर्राष्ट्रिय उडान शुरु हुन स्वतः ढिलाइ हुने पोखरेलले बताए ।

यो आयोजना पूरा हुने मिति पछिल्लो पटक ३१ मार्च २०२० लाई तोकिएको थियो । तर कोरोना महामारीका कारण काम रोकिएपछि ठेक्का सम्झौताको अवधि पाँचौंपटक थप गरेर आउँदो डिसेम्बरसम्म लम्ब्याइएको छ । कोराना महामारीका कारण चीनबाट आउनुपर्ने उपकरण र प्राविधिक जनशक्ति आउन ढिलाई हुँदा पाँचौपटक म्याद थपिएको हो ।

३१ डिसेम्बर २०१४ बाट काम शुरु भएको विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ । रोकिएका चिनियाँ उपकरण जुलाईको अन्त्यसम्म जलमार्ग र स्थलमार्गबाट आइपुग्ने अपेक्षा गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक पोखरेलले बताए ।

प्राधिकरणका अनुसार डिसेम्बरमा निर्माण सकिएमा त्यसपछि सञ्चालनपूर्वको तयारीका लागि करिव तीन महिना समय लाग्नेछ ।

विमानस्थल विस्तार आयोजनाका अनुसार बन्दाबन्दीको अवधिमा विमानस्थल निर्माणको करिव तीन प्रतिशत भौतिक प्रगति थपिएको छ । आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीका अनुसार अहिले रनवे लाइट जडानको काम अन्तिम चरणमा पुगेको छ भने टर्मिनल भवनमा एयर कण्डिसन तथा अन्य उपकरण जडानसम्बन्धी काम भइरहेको छ ।

आयोजना प्रमुख अधिकारीका अनुसार आईसीबी–१ को अधिकांश उपकरण जडान भइसकेको छ । आईसीबी–२ अन्तर्गतका कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्स (सीएनएस) को काम मध्ये भीओआर/डीएमई सञ्चार उपकरण, मौसम पूर्वानुमान उपकरणहरु ९५ प्रतिशत भन्दा बढी आइसकेका र जडानको क्रममा रहेका छन् । बाँकी उपकरण र विशिष्ट दक्ष प्रविधिकहरु आउने क्रममा रहेका अधिकारीले बताए ।

बन्दाबन्दी भएपछि करिव एक महिना भने विमानस्थल निर्माणको काम पुरै रोकिएको थियो । तर सरकारले विकास आयोजना निर्माण अघि बढाउने निर्णय गरेपछि स्थानीय प्रशासनसँगको समन्वयमा निर्माण कम्पनीले कामलाई निरन्तरता दिएको थियो ।

लकडाउन अवधिमै चौथो ट्याक्सी वे, तारबार र माटो फिलिङ, रंगरोगन, एसी वायरिङ र रन वे लगायतका विद्युतीय काम पूरा भएको अधिकारीले बताए । विमानस्थल निर्माणमा चाहिने नदीजन्य कच्चापदार्थ पनि भण्डारण गरिसकेको उनले बताए ।

पाँच वटा डिभिजन रहने

विमानस्थलको संरचनामा ५ वटा डिभिजन रहने छन् । विमानस्थल प्रमुखको मातहतमा रहने गरी एयर नेभिगेसन, एयरपोर्ट अप्रेशन, सिभिल इन्जिनियरिङ, इलेक्ट्रो मेकानिकल र म्यानेजमेन्ट सर्भिसेज गरी ५ वटा डिभिजनबाट विमानस्थल सञ्चालन हुने तय भएको आयोजना प्रमुख अधिकारीले बताए ।

बन्दाबन्दीकै बीचमा करिब पाँच करोड रुपैयाँ मुआब्जा वितरणमा खर्च भएको आयोजना प्रमुख अधिकारीले जानकारी दिए । विमानस्थल निर्माणमा अहिले २९ जना चिनियाँसहित करिब तीन सय कामदारले काम गरिरहेका छन् ।

चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले सन् २०१४ डिसेम्बर ३१ मा ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेण्डरमार्फत विमानस्थल निर्माणको ठेक्का लिएको थियो ।

सन् २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्नुपर्ने शुरुको सम्झौता थियो । दैनिक १६ हजार यात्रुलाई सेवा दिने दीर्घकालीन लक्ष्य लिएको विमानस्थल अन्तर्गत प्राधिकरणकै करिब एक अर्ब लगानीमा कार्गो भवन निर्माण प्रक्रियामा रहेको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा ७ सय ८७ बिघा क्षेत्रफलमा निर्माण भइरहेको यो विमानस्थल संरचनाका हिसाबले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा अत्याधुनिक र सुविधासम्पन्न हुने आयोजना प्रमुख अधिकारी बताउँछन् ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?