Comments Add Comment

निषेधाज्ञासँगै सुनसान वीरगञ्ज

१० साउन, वीरगञ्ज । कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि वीरगञ्जमा शनिबारदेखि अनिश्चितकालका लागि निषधाज्ञा लगाइएको छ । निषेधाज्ञाको पहिलो दिन वीरगञ्ज बजार क्षेत्र सुनसान छ । जरुरी कामले हिँडेका सर्वसाधरण बाहेक सडकमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सफाईकर्मी मात्रै देखिएका छन् ।

भित्रि गल्लीहरुमा भने पसल व्यवसाय खुलेका छन् भने मानिसहरुको चहलपहल पनि देखिएको छ ।

बाहिर जिल्लाबाट वीरगञ्ज आएकालाई फर्काइएको छ ।

पछिल्लो एकसातामा वीरगञ्जमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ भने भने पर्सामा भेटिएका ७० संक्रमितमध्ये अधिकांश वीरगञ्जकै छन् ।

गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचाररत भारत माइती भई वीरगञ्ज- २१ बस्ने १७ वर्षीया युवतीको शुक्रबार मृत्यु भयो । शुक्रबार बिहान वीरगञ्जकै कोभिड अस्पतालको आइसोलेसनमा वीरगञ्ज-११ श्रीपुरकी ८५ वषर्ीया महिलाको मृत्यु भएको थियो भने मङगलबार आइसोलेसनमै ज्यान गुमाएकी माइस्थानका ७० वषर्ीय बृद्धमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमितसँगै मृतकको संख्या बढ्न थालेपछि जिल्ला संकट व्यवस्थापन केन्द्रले संक्रामक रोग ऐन, २०२० अनुसार महानगरमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

संक्रमण व्यापक बन्दै गएको देखिएको, पछिल्लो समय लक्षण सहितका कोरोना संक्रमितहरु समेत देखा पर्न थालेका, केही संक्रमितका मृत्यु भएको र कोभिड अस्पतालको आइसोलेसनमा रहेका अन्य केहीको अवस्था समेत जटिल देखिएकाले निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरु घरबाहिर निस्कन नपाउने, शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार , भन्सार, आइसीपि, ड्राईपोर्ट, बैंक, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधि जस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचालन गर्न पाइने छैन ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने तथा अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाउने छ ।

भारतीय सीमा क्षेत्रबाट लुकीछिपी आउने मानिसहरुको आवागमन रोक्न सुरक्षाकर्मीहरुको गस्ती बढाउने, अत्यावश्यक अवस्थामा नेपाल आउनुपर्ने नेपालीका लागि रक्सौल-वीरगञ्ज सीमा नाकाबाट मात्रै आउन दिने निर्णय गरिएको छ ।

निर्णयको अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही गर्ने निर्णय समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment