+
+

एसिड प्रहारका अधिकांश घटनामा प्रेम सम्बन्ध कारक

तत्काल चिसोपानी हाले क्षति कम गर्न सकिन्छ : चिकित्सक

गौरव पोखरेल गौरव पोखरेल
२०७७ साउन ११ गते १०:०७

११ साउन, काठमाडौं । काठमाडौंको सीतापाइलामा बिहीबार साँझ ओखलढुंगाकी २२ वर्षीया युवती पवित्रा कार्कीमाथि तेजाब आक्रमण भयो । केहीबेरअघि सँगै बसेर चिया खाएको व्यक्तिको योजनामा उनीमाथि आक्रमण भएको खुलेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुले घटनामा संलग्न दुई जनालाई बिहीबारै पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा गार्मेन्ट उद्योग सञ्चालक रौतहट घर भइ डल्लु बस्दै आएका मोहम्मद आलम र उनका कर्मचारी भारतीय नागरिक मुन्ना मोहम्मद छन् ।

प्रहरीले शुक्रबार जिल्ला अदालत, काठमाडौंबाट ७ म्याद लिएर विस्तृत अनुसन्धान थालेकाे छ । तर, प्रारम्भिक अनुसन्धानमा एसिड प्रहार गर्नुको कारण आलमको प्रस्ताव कार्कीले अस्वीकार गर्नु भएको खुलिसकेकाे छ ।

स्मरणीय विषय चाहिँ के छ भने आलम विवाहित व्यक्ति हुन् । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘शारीरिक सम्बन्ध राख्ने चाहले उनी नजिकिएको जस्तो देखिन्छ ।’

कार्कीले भने उनलाई तीन महिना अघिबाटै फेसबुकमा ब्लक गरेकी थिइन् । यद्यपि, आलमले पछ्याउन छाडेका थिएनन् ।

अपराध महाशाखाका प्रमुख एसएसपी दीपककुमार थापा भन्छन्, ‘एकदमै योजनाबद्ध तरिकाले तेजाब प्रहार गरेको पाइएको छ ।’

०००

एसिड प्रहार भइसकेको अवस्थामा तुरुन्त चिसो पानी हालेर क्षतिलाई कम गर्न सकिन्छ – डा. ईश्वर लोहनी

गत वर्ष २ जेठमा पनि साँझकै समयमा २० वर्षीया जेनी खड्कामाथि कालोपुलमा तेजाब प्रहार भयो । घटनाबारे जानकारी पाएलगत्तै परिचालित प्रहरीले पेप्सिकोलाबाट एसिड आक्रमण गर्ने विष्णु भुजेललाई पक्राउ गर्‍यो ।

अनुसन्धानका क्रममा भुजेल खड्काको पूर्वपति भएको खुल्यो । पहिल्यै विवाह भइसकेको कुरालाई लुकाएर दोस्रो विवाह गरेको थाहा पाएपछि खड्का भुजेलबाट टाढिएकी थिइन् । तर, भुजेलले भने उनको पिछा छाडेनन् ।

अनुसन्धानमा संलग्न तत्कालीन डीएसपी (हाल एसपी) होविन्द्र बोगटीका अनुसार कार्की प्रकरणमा जस्तै यो घटनामा पनि एसिड हान्नु अघि भुजेलले पीडितलाई भेट्न आग्रह गरेका थिए ।

‘उनीहरुबीच पटकपटक सम्पर्क भएको कल डिटेल रेकर्डले पनि देखाएको थियो’, बोगटी सम्झन्छन्, ‘करिब ८ बजेतिर उनले योजनाबद्ध रुपमा जेनीमाथि एसिड प्रहार गरेका थिए ।’

०००

वीरगञ्जमा विद्यालय जाने क्रममा १५ वर्षीय मुस्कान खातुन एसिड आक्रमणमा परिन्, २० भदौ २०७६ मा । छपकैयास्थित घरबाट विर्तामा रहेको त्रिभुवन माध्यमिक विद्यालय जाने क्रममा वीरगञ्ज–६, गणेशमान चौकमा मुस्कानमाथि एसिड हानिएको थियो ।

घटनालगत्तै अनुसन्धान थालेको प्रहरीले योजनकार मुस्कानको नजिकै घर भएका १६ वर्षीय सम्साद मियाँलाई पक्राउ गर्‍यो । अनुसन्धानका क्रममा मुस्कानले मजिदको प्रेम प्रस्ताव अस्वीकार गरेपछि घटना भएको देखियो ।

वसन्तपुर झोछेमा रहेको ‘ए प्लस’ ट्युसन सेन्टरमा बसिरहेका वेला १० फागुन २०७१ मा दुई युवती तेजाब आक्रमणमा परे । प्रवेशिका परीक्षाको तयारी गरिरहेका १६ वर्षीया संगीता मगर र रौतहटकी १५ वर्षीया सीमा बस्नेत घाइते भए ।

मास्क लगाएर आएर जीवन विकले संगीतालाई लक्षित गरेर एसिड प्रहार गरेको खुल्यो । प्रहरीले करिब एक महिना लामो प्रयासपछि विकलाई पक्राउ गर्‍यो ।

अनुसन्धानका क्रममा उनी विक र संगीताको परिवार वसन्तपुरमा एउटै घरमा डेर गरेर बस्दै आएको खुलेको थियो । विकले संगीतालाई ट्युसन पनि पढाउँदै आएका थिए र दुवै एकअर्काबीच नजिकिएका थिए ।

त्यसबारे भाइले थाहा पाएपछि दुई परिवारबीच खटपट सुरु भएको थियो र विकले एसिड हान्ने योजना बनाउन थालेको खुलेको थियो ।

०००

प्रस्तुत घटनाहरु केही उदाहरण मात्रै हुन् । पछिल्लो समय प्रेम प्रस्ताव अस्वीकार गर्दा वा सम्बन्ध टुटेपछि युवतीमाथि एसिड प्रहार गर्ने क्रम बढ्दो छ । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार पछिल्लो ६ वर्षको विवरण हेर्दा वर्षेनि ४ वटा एसिड आक्रमणको घटना सार्वजनिक हुने गरेका छन् ।

प्रहरी प्रवक्ता निरजबहादुर शाहीका अनुसार आर्थिक वर्ष ०७१/०७२ देखि ०७६/७७ सम्मको अवधिमा २० वटा एसिड प्रहारका घटना भएका छन् । ती घटनामा १८ जना महिला पीडित भएका छन् भने चार जना पुरुषमाथि पनि एसिड प्रहार भएको तथ्यांकले देखाउँछ ।

पीडकमा पुरुषको बाहुल्य छ । ‘एसिड छ्याप्ने २५ जना पुरुष छन् भने दुई जना महिलाले पनि एसिड हानेका देखिएको छ’, शाही भन्छन्, ‘दुई जनालाई कर्तव्य ज्यान, १३ जनालाई ज्यान मार्ने उद्योग, एक जनालाई सार्वजनिक अपराध र ४ जनालाई कुटपिट अंगभंग सम्बन्धी कसूरमा मुद्दा चलेको छ ।’

त्रिवि शिक्षण अस्पतालका डा. ईश्वर लोहनीका अनुसार आगो वा अन्य चिजले पोलेभन्दा एसिडको असर फरक र गहिरो हुन्छ ।

‘हुन त यो कतिवेर एसिडको सम्पर्कमा रह्यो र इन्टेनसिटीमा फरक पर्ने कुरा हो’, लोहनीले अनलाइनखबरसँग भने, ‘एसिड प्रहार भइसकेको अवस्थामा तुरुन्त चिसो पानी हालेर क्षतिलाई कम गर्न सकिन्छ ।’

अधिकांश घटनाका कारण प्रेम सम्बन्ध

अपराध महाशाखाका एसपी होविन्द्र बोगटीका अनुसार एसिड प्रहारका अधिकांश घटनाका पछाडि प्रेम सम्बन्ध नै कारक हुन्छन् । ‘प्रायः केसमा पहिले दुवै प्रेम सम्बन्धमा बस्ने र पछि केटी टाढा भएको अवस्थामा आक्रमण भएको देखिन्छ’, बोगटीले अनलाइनखबरसँग सुनाए, ‘कतिपय केसमा एकतर्फी प्रेमले पनि अप्रिय घटना निम्त्याएको छ ।’

लामो समय सम्बन्ध रहेका वेला एक्कासी सामाजिक सञ्जालमा पनि ब्लक भएर कुराकानी हुन छाडेपछि पनि यस्ता घटना हुने गरेको बोगटी बताउँछन् ।

‘मेरो नभए अरुको पनि हुन दिन्न भन्ने खाल्को मनोविज्ञानले काम गर्दो रहेछ, यदी पक्राउ परिएन भने सहानुभूति दिएर फेरि उसलाई पाउँछु भन्ने सोचाइ पनि राख्ने गरेको पाइएको छ’, उनले थपे, ‘कतिपय घटनामा केटीले राम्रो नियतले दाजु, भाइ र साथीको सम्बन्ध राखेको हुन्छ तर, केटाले बदनियत राखेको पनि पाएको छु ।’

युवतीले अस्वीकार गरेपछि पुरुषको इगोका कारण पनि एसिड प्रहारको घटना हुने गरेको विज्ञहरु बताउँछन् । प्रतिनिधिसभाकी सांसद विद्या भट्टराई सुन्दरतालाई महिलाको शक्ति ठान्ने आधुनिक समाजमा उनीहरुलाई कमजोर बनाउने अस्त्र स्वरुप एसिड प्रहारको घटना हुने गरेको बताउँछिन् ।

‘हाम्रो धार्मिक इतिहास हेर्दा पनि जतिबेला देवताहरु कमजोर हुन्छन्, त्यतिबेला महिलाहरुको सुन्दरताले मोहित बनाएर आक्रमण भएका इतिहास, कथाहरु छन्’, समाजशास्त्रकी पूर्वप्राध्यापक समेत रहेकी उनले भनिन्, ‘अहिलेको समाज पनि त्यही मनोविज्ञानबाट गस्रित भएको देखिन्छ ।

थ्रेट महसुस भए तुरुन्त खबर गर्नुस् : प्रहरी

मनोविद् शिशिर सुब्बा कतिपय अवस्थामा संवेगलाई काबुमा राख्न नसक्दा आपराधिक घटना हुने गरेको बताउँछन् ।

महाशाखाका प्रमुख एसएसपी दिपककुमार थापा भने कसैलाई कोहीबाट थ्रेट महसुस भए, तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गर्छन् । परिवारलाई पनि सम्बन्धबारे जानकारी दिन सके अपराध रोक्न सकिने उनको भनाइ छ ।

‘अपराध भइसकेपछिको अनुसन्धान त छँदैछ, त्योभन्दा पहिले सबै सचेत भएर सकेसम्म अपराध हुनै नदिनेतर्फ सजग हुनुपर्छ’, उनी भन्छन् ।

सितापाइला एसिड आक्रमणबारे जानकारी दिँदै प्रहरी । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

सांसद भट्टराई भने कानुनले अवैध भने पनि एसिड प्रहार जस्ता घटनालाई सामाजिक रुपमा अवैध बनाउन नसकिएको गुनासो गर्छिन् । उनी भन्छिन्, ‘जहिलेसम्म सिंगो समाजले त्यस प्रकारको अपराधलाई अवैध मान्दैन, त्यतिवेलासम्म यो अन्त्य हुन सक्दैन ।’

त्यसैले एसिड प्रहार नियन्त्रणको विषय महिलाको मात्र नभइ, समाजका हरेक तप्का र राज्यको दायित्व भएको उनको भनाइ छ । र, यसका लागि समाजका हरेक क्षेत्रमा छलफल र बहस हुनुपर्ने भट्टराई बताउँछिन् ।

नेपाल प्रहरीका अवकाश प्राप्त नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी एसिडको किनबेचलाई चाउचाउ किने जस्तो सहज हुन दिनु नहुने सुनाउँछन् । ‘पूर्णतः नियन्त्रण गर्न गाह्रो भए पनि किनबेचलाई अहिले जस्तो सहज पनि छाड्नु हुन्न’, उनले अनलाइनखबरसँग भने, ‘निश्चित मापदण्ड अनुसार मात्र यसको विक्री गरिनुपर्छ ।’

साथै, पीडितको उपचार र पुनर्स्थापनामा पनि सरकारले पूर्ण सहयोग गरेर पीडकलाई कडा कारबाही र जेलमुक्त भए पनि सामाजिक सुरक्षा भत्ता लगायतका सरकारी सेवाबाट बञ्चित गराउनुपर्ने उनी बताउँछन् । भन्छन्, ‘कारबाहीको व्यवस्था अझै पर्याप्त छैन, यस किसिमको कार्यलाई जघन्य अपराध अन्तरगत राखेर कडा कारबाहीको प्रावधान राखिनुपर्छ ।’

मुलुकी अपराध संहितामा भएको नयाँ व्यवस्था अनुसार कसुरको प्रकृति हेरेर अनुहार कुरुप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र एक लाखदेखि ५ लाखसम्म जरिवाना हुनसक्छ ।

शरीरको अन्य अंग कुरुप पारेमा वा शरीरमा पीडा पुर्‍याएमा तीन वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।

एसिड आक्रमण महिलालाई कमजोर बनाउने अस्त्र

विद्या भट्टराई, सांसद

समाजमा हुने हरेक कुरा हाम्रो दृष्टिकोणका उपज हुन् । पछिल्लो समय समाजमा आपराधिक घटना बढ्न थालेका छन् । अपराध, हिंसा भन्ने कुरा समाजको जुन पक्ष विभेदित छ, त्यसमाथि नै हुने गरेको छ । हिंसा र अपराध भन्ने कुरा चाहिँ माथिल्लो वर्गले तल्लो वर्गमाथि गर्ने व्यवहार हुन्छ ।

महिला र पुरुषको हकमा चाहिँ अहिले पनि महिलाको शक्ति सुन्दरता हो भन्ने हिसाबले व्याख्या गरिन्छ । र, एसिड प्रहार भनेको चाहिँ महिलाको सुन्दरतामाथिको प्रहार हो । एसिड प्रहारपछिको अवस्थामा महिला कमजोर हुन्छन् भन्ने बुझाइ छ । त्यसैले एसिड आक्रमण महिलालाई कमजोर बनाउने एउटा प्रयासको रुपमा प्रयोग गरिएको अस्त्र हो । यो कुटपिट र हिंसाभन्दा अलि फरक कुरा हो ।

अहिलेको आधुनिक समाजमा सुरन्दरतासँग जोडिएर भइरहेको एउटा अपराध हो यो । एसिड प्रहार वा महिला हिंसा वा कुटपिटका कुरालाई महिलामाथि गरिने एउटा दमनको रुपमा लिन्छु । यो उत्पीडनको एउटा रुप हो ।

समाज लोकतन्त्रमा गइसकेपछि लोकतान्त्रिक गणतन्त्रको एउटा मूर्त रुप भनेको कानूनी शासन हो । हामी कानुनी शासनको परिकल्पना गरिरहेका छौं । कानुनलाई वैधता दिनु हाम्रो मुल मर्म हो भन्ने मलाई लाग्छ । तर, हाम्रो समाज अहिले पनि कानूनभन्दा पनि सामाजिक मूल्य मान्यताहरुबाटै बढी निर्देशित छ ।

एसिडको कुरा चाहिँ हिजोको परम्परागत समाजभन्दा पनि आधुनिक समाजको अपराधको एउटा रुप हो । त्यसैले अहिले पनि कानुन समातेर कानुनी कारबाही गर्ने कुरामा न्यायालय पनि अझै स्पष्ट छैन । खास गरी हाम्रो मुलुकी संहिताले व्याख्या गरे अनुसार जुनसुकै अपराधको पनि आफ्नो परिभाषा छ । कानून अहिले बलियो छैन भने जस्तो लाग्दैन । तर, के छ भने समाजले चाहिँ अहिले पनि त्यस्ता कुराहरुलाई अपराध भनेर बुझिरहेको छैन ।

जसका कारण त्यस्ता व्यक्तिहरु आपराधिक क्रियाकलपामा रहे पनि सामाजिक सम्बन्धका हिसाबले पनि मुक्त हुने खाल्का अवस्थाहरु देखिएका छन् ।

हामीले धार्मिक इतिहासलाई हेर्‍यौं भने पनि जतिवेला देवताहरु कमजोर हुन्छन्, त्यतिवेला महिलाहरुको सुन्दरताले मोहित बनाएर उनीहरुले आक्रमण गरेको इतिहास, कथाहरु छन् । त्यसैबाट हाम्रो मनोविज्ञान ग्रसित छ । महिलाहरुलाई कुरुप बनाइयो भने उनीहरु कमजोर हुन्छन् भन्ने सोचको आधारमा एसिड प्रहारका घटना हुने गरेका छन् ।

यो अपराधको एउटा कुरुप रुप हो र आधुनिक समाजको एउटा प्रवृत्ति बनेर आइरहेको छ । यो महिलाको मात्र होइन, समाज र राज्यको दायित्व हो । यसका विरुद्ध लड्नु भन्ने मलाई लाग्छ ।

हामी घटना केन्द्रीत भएर बहस गरिरहेका छौं । प्रवृत्ति केन्द्रीत भएर बहस कमै हुन्छन् । जब समाज विविधिकृत हुँदै जान्छ, त्यहाँ हुने सबै कुराले हरेकलाई छुँदैन । हिजो समाजमा एकरुपता हुँदा सम्म के हुन्थ्यो भने मेरो कुराले तपाईंलाई छुन्थ्यो । तपाईँको कुराले मलाई छुन्थ्यो । अब चाहिँ समाज बहुरुपतामा जाँदैछ । यसमा हरेक कुराले हरेकलाई छुँदैन ।

तर, हामीले बहसलाई बढाउँदै लान सके यसविरुद्ध आवाज बलियो हुन्छ । आखिर जबसम्म अपराधलाई हामीले कानुनी र सामाजिक रुपमा अवैध बनाउन सक्दैनौं, तबसम्म अपराधको गर्न सकिन्न ।

(कुराकानीमा आधारित)

‘चाउचाउ जसरी एसिड किन्न पाइने अवस्था रोक्नुपर्छ’

हेमन्त मल्ल, अवकाश प्राप्त डीआईजी

एसिड दैनिक जीवनमा जोडिएको वस्तु हो । त्यसले यसलाई विश्वभरि नै पूर्णतः नियन्त्रण गर्न सकिएको छैन । हामीले दैनिक प्रयोग गर्ने ट्वाइलेट, मोटरसाइकलदेखि विद्यालयका प्रयोगशाला र उद्योगहरुमा यो प्रयोग हुने गरेको छ ।

विश्वकै रेडर्क हेर्ने हो भने वर्षेनि १५ सय एसिड आक्रमणका घटना हुने गरेका छन् । त्यसमा पनि दक्षिण एसियामा यस्ता घटना अत्यधिक छन् । बंगलादेश, भारत, पाकिस्तान, अफगानस्तानमा एसिड आक्रमणका धेरै घटना रिपोर्ट हुने गरेका छन् ।

हाम्रो जस्तो मुलुकमा एसिड आक्रमणबाट महिला बढी पीडित हुने गरेका छन् भने युरोप, अमेरिकातिर पुरुषमा बढी आक्रमण भएको देखिन्छ ।

नेपालको सन्दर्भमा सरकारले गर्न सक्ने भनेको एसिडलाई चाउचाउ किने जसरी सजिलै किन्न पाइने अवस्थामा रोक लगाउनुपर्छ । उमेर नपुगेको बच्चालाई किन्न दिनु हुँदैन । हरेक पसलमा सजिलै पाइने अवस्थालाई रोकेर रेकर्ड राखेर निश्चित मापदण्ड अनुसार मात्र विक्री गर्ने व्यवस्था मिलाउनुपर्छ ।

धेरै कडाइ गर्दा पनि दैनिक जीवनमा अफ्ठ्यारो पर्न सक्छ । पीडकको हकमा सजाय कडा पार्नु आवश्यक छ । एसिड पीडितले जीन्दगीभर त्यो पीडा बोकेर बाँच्नु पर्छ । त्यसैले अरु अपराधभन्दा यो फरक छ । र, जघन्य मुद्दामा राखेर कडा सजायको व्यवस्था गरिनुपर्छ । हरेक देशले एसिड आक्रमणका लागि गरिरहेको काम पनि यही हो ।

पीडितको उपचारपछि पुनर्स्थापनामा पनि सरकारले सहयोग गर्नुपर्छ । पीडकको हकमा जेलबाट बाहिर आउँदा पनि उनलाई दिइने सरकारी सेवा सुविधाबाट बञ्चित गर्न सकिन्छ । जस्तै, सरकारी जागिरका लागि अयोग्य ठहर्‍याउन सकिन्छ । सामाजिक सुरक्षामा रोक लगाउन सकिन्छ ।

एसिड आक्रमणलाई नियन्त्रण गर्न अर्को मुख्य कुरा चाहिँ आमनागरिकलाई सचेत र सजग गराउने नै हो ।

(कुराकानीमा आधारित)

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?