Comments Add Comment

जसले लकडाउनलाई अभिशाप हैन, बरदान बनाए

यी हुन् महामारी र लकडाउनका बेला फस्टाएका उद्यम

११ साउन, काठमाडौं । सरकारले लकडाउन अन्त्य गरेसँगै विभिन्न व्यवसाय बिस्तारै बौरिन थालेका छन् । करिब ४ महिना लामो लकडाउन सकिए पनि केही व्यवसायिक क्षेत्रमा अझै प्रतिबन्ध हटेको छैन । कोरोनाको रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनले अर्थतन्त्रमा कति प्रभाव पार्‍यो भन्ने हिसाब अहिलेसम्म भएको छैन ।

सबैले स्वीकारेको विषय हो कि धेरैजसो आर्थिक तथा व्यवसायिक क्षेत्र कोरोनाका कारण थिलोथिलो भएका छन् । धेरै उद्योगपति तथा व्यापारीका लागि लकडाउन अभिशाप नै बन्यो । तर, मौकालाई अवसर बनाउँदा कतिपय व्यवसाय यहीबेलामा चम्किएका पनि छन् । केही व्यवसायका लागि महामारीको समय अवसर बनेर आएको छ ।

महामारीमा पनि मेडिकल, खानेपानी, खाद्यान्न, तरकारी लगायतका व्यवसायमा ठूलो प्रभाव नपर्नु स्वाभाविक थियो । जनताको दैनिकी, भान्छा र स्वास्थ्य जोडिएका अत्यावश्यक बाहेकका केही वस्तु तथा सेवाले पनि यही समयमा प्रवर्द्धन हुने मौका पाए ।

कति व्यवसायलाई घरभाडा तिर्न सकस भइरहेका बेला कतिले भने लकडाउनलाई एउटा अवसरका रुपमा उपयोग गरे । कतिपय व्यवसायलाई भने लकडाउनकै स्वतः कारण लाभ मिल्न गयो ।

कतिपय ठूला उद्योगीले मेडिकल उत्पादनको अभावलाई हेरेर मास्क, पीपीई, सेनिटाइजर लगायतको उत्पादन नेपालमै नथालेका हैनन् । तर, महामारीमा मेडिकल उत्पादन गर्ने भन्दा फरकखालबाट पनि यही समयलाई बिजनेस गर्ने अवर बनाउन सकिन्छ भनेर सोच्नेहरु भने सीमित रहे ।

‘आइडिया’वालाको ‘शुभ समय’

चैत ११ देखि लकडाउनको सुरुआत भएसँगै चल्तीका ई-कमर्स साइटहरु पनि अन्योलमा फसे । डेलिभरी गर्नेहरुले सेवा दिन नसक्ने बताएपछि कम्पनीहरुसँग सेवा बन्द गर्नुको विकल्प थिएन । महामारी फैलिने खतरासँग खेल्नु चुनौतीपूर्ण नै थियो ।

चल्तीका साइटहरु अन्योलमा फसेका बेला कतिपय ई-कमर्स साइटहरुले यसैलाई मौका बनाइदिए । सबै तयारी सकेर बसेको ‘ग्यापु अनलाइन’ले यही लकडाउन सुरुभएपछि सेवा थाल्यो ।

अरु अरु ई-कमर्स साइटहरु पाखा लागेपछि ग्यापु बजारमा छिरेको थियो । विहान बेलुकी मात्रै किराना र तरकारी पसल खुल्ने बेलामा ग्यापुले अनलाइनबाट अर्डर गरेमा घरमै डेलिभरी गरी सेवा थालिदियो ।

त्यतिबेला काम थाल्न सकस हुने देखेपछि अनलाइनले होटलमा ४ वटा कोठा नै लिएर अर्डर लिने व्यवस्था गर्‍यो । विद्युतीय भुक्तानीका लागि चल्तीका भुक्तानी सेवा प्रदायकहरु आइएमएस, खल्ती तथा प्रभु लगायतको प्रयोग गरियो । पैसा नभएर एटीम कार्ड ‘स्वाप’ गर्न मल्निे ‘पीओएस’ मेसिन बोकेर डेलिभरी दिनेहरु घर-घर पुगे ।

सुरुआत नै राम्रो भयो । दिनमा ३ देखि ५ सयवटा अर्डर आउन थाले । यो कम्पनीले चल्तीका ई-कसर्म साइटको बिजनेस खोस्नकै लागि चक्रपथ बाहरिपनि निःशुल्क डेलिभरीको काम गर्‍यो ।

‘हामी अहिले दैनिक १० लाखको कारोबार गर्छौं,’ कम्पनीका संस्थापक ज्ञानेन्द्र खड्का भन्छन्,’यदि लकडाउन नभएर सामान्य अवस्थामा कारोबार थालेको भए आजको अवस्थामा आउन हामीलाई ३ वर्ष लाग्थ्यो ।’

साढे २ सय वटा आइटमबाट ई-कमर्स बिजनेसमा छिरेको ग्यापुमा अहिले १० हजार आइटम पुगेका छन् । ३ महिनामै लकडाउनले ग्यापुलाई चल्तीको इकमर्स साइट बनाइदियो । १२ जना कर्मचारी राखेर सुरु भएको कम्पनीमा अहिले करिब ४५ जना कर्मचारी काम गर्दैछन् । अब देशभरका १२० वटा शहरबाट सेवा दिने योजना ग्यापुको छ ।

ग्यापु मात्रै हैन, अरु धेरै स्टार्टअप ई-कमर्सहरु यो बेलामा फस्टाउन पाए । लकडाउनमै चम्किएको अर्को स्टार्टअप हो, कौसी खेति । ‘फार्मर्स मार्केट’ मार्फत कृषिसम्बन्धी व्यवसाय गर्दै आएको ‘एग्री नेपाल’ ले लकडाउनमै नयाँ प्रोडक्टका रुपमा कौसी खेतीको अवधारणा बनाएर काम थाल्यो ।

फामर्स मार्केटमा रहेका कृषक र उपभोक्ताको विवरणकै आधारना कौसी खेतीलाई प्रवर्द्धन गर्ने गरी लकडाउनमा कम्पनीले काम थालेको थियोे । कौसी खेतीलाई प्रोत्साहित गर्दै मल, बीउ, औजारहरु कृषकको पुर्‍याउने कम्पनीको योजना थियो ।

कृषकले अर्डर गरेको कौसी खेतीका लागि आवश्यक वस्तुदेखि परामर्शसम्म कम्पनीले दिन्छ । अहिले यसमा जोडिने ग्राहक बढ्दै गएका छन् । कम्पनीले नयाँ बिजनेसमा स्थापित हुने मौका लकडाउनकै पाएको छ ।

निम्बस समूहले पनि लकडाउनकै बेला ‘निम्बस बजार’ नामक इ-कमर्स साइट सार्वजनिक गर्‍यो । ‘शप इन्फिनिटी’ नामको इकमर्स प्लेटफर्म पनि सुरु भयो । अरु ई-कमर्स बिजनेस पनि यही बेलामा उपभोक्तामझ चिनिए ।

लकडाउनकै समयमा नै सभा समारोहमा जानेका लागि भाडामा ड्रेस उपलब्ध गराउने ‘एन्टिडट नेपाल’ले नयाँ अवधारणामा व्यापार थालेको छ । कम्पनीले कसैले प्रयोग गरेको तर, अझै पनि प्रयोग गर्न सकिने अवस्थामा रहेको महंगो कपडाहरु विक्रीमा राख्न सकिने गरी प्लेटर्फम उपलब्ध गराइयो । यो पनि लकडाउनले समस्यामा परेका बेला जन्मिएको नयाँ बिजनेस हो ।

सरकारी कम्पनीले छोप्यो मौका

निजी मात्रै हैन, सरकारले पनि यही मौकामा ई-कमर्स बिजनेस थाल्यो । लकडाउनकै बेलामा सरकारी संस्थानको रुपमा रहेको खाद्य तथा ब्यापार कम्पनीले अनलाइनमार्फत अर्डर लिएर खाद्यान्न र इन्डक्सन चुल्हो घरमै डेलिभरी दिने सेवा थाल्यो । सरकारी स्वमित्वको कम्पनीले पहिलोपटक चैत्र २६ गतेदेखि नेपाल फुड डट जीओभी डट एनपीबाट अनलाइन सेवा सुरु गरेको थियो ।

अहिले कम्पनीले यसका लागि अन्य  सस्तो डिल लगायतका ई-कमर्स साइटको प्लेटर्फम पनि प्रयोग गरिरहेको छ । यसअघि चक्रपथभित्र मात्रै सेवा दिईरहेको सरकारी कम्पनीले अनलाइन डलिभिरी सेवा प्रदायक निजी कम्पनी सस्तो डिलसँगको सहकार्यमा सेवा विस्तार गर्ने भएको हो । व्यापार साझेदारीका लागि सस्तो डिलसँग सम्झौता भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्रप्रसाद सुवेदी बताउँछन् ।

‘सस्तो डिलको वेबसाइटमा खाद्य कम्पनीको सामाग्री राखिन्छ, उपभोक्ताको अर्डर आएपछि हाम्रो गोदाममा आएर उहाँहरुले डेलिभरी दिनुहुन्छ,’ सीईओ सुवेदीले थपे ‘यसरी डेलिभरी दिँदा अर्डरको रकम खाद्य कम्पनीकै बैंक खातामा जम्मा हुन्छ ।’

सस्तो डिलमार्फत उपत्यकाभरि डेलिभरी सेवा दिइँदैछ । तत्कालका लागि सस्तो डिलसँग सम्झौता भएपनि कानूनी रुपमा दर्ता भएको अरु थप कम्पनीसँग सहकार्य गरेर धेरै सहभागितामा बजार विस्तारको योजनामा कम्पनी रहेको सीईओ सुवेदीले बताए । कम्पनीले अब साल्ट ट्रेडिङको आयो नुन र गहुँको पिठो, दुग्ध विकास संस्थानको घीउ पनि बिक्री थाल्दैछ ।

लजिस्टिक कम्पनी

लकडाउनका बेला सरकारले घरभित्रै बसेर अनलाइनमा समान अर्डर गर्न र बाहरि ननिस्कन जनतालाई आग्रह गरेको थियो । ठूला डिपार्टमेन्टल स्टोरले पनि फोन, फेसबुक, भाइबर, अनलाइनबाट सेवा दिन खोजेका थिए ।

तर, समस्या डेलिभरी कसरी गर्ने भन्नेमै थियो । यही बेला केही लजिस्टक कम्पनीहरुले लकडाउनकै बेलामा सेवा दिने योजना बनाएर काम थाले ।
लकडाउनमा मान्छे घरभित्रै थुनिँदा ई-कमर्स साइटहरुमा धेरै अनलाइन अर्डर आए । उनीहरुले डेलिभरी सेवा दिने कम्पनीको अभाव भोगेपछि केही युवाले यसैलाई मौका बनाएका हुन् ।

पिक एण्ड ड्रप, अर्डर साथी, उपाय, नेपएक्प्रेसलगायतका कम्पनी लकडाउनै खुले र प्रवर्द्धित भए । उनीहरु अहिले विभिन्न ईकमर्स सेवा दिने कम्पनीका लजिस्टिक सर्पोटर हुन् । डेलिभरीबापत उनीहरुले कमिसन बुझ्छन् ।

यी मध्ये केही कम्पनी पहिल्यै नै खुलेपनि प्रगति हात पार्न सकिरहेका थिएनन् । तर, लकडाउनमा नै उनीहरुले धेरै ग्राहक बटुल्न सफल भए ।

खानाको डेलिभरी

लकडाउनको सुरुआततिर तयारी खाना घरसम्म डेलिभरी गर्दै आएका ई-कमर्स बिजनेसले समस्या भोगे । तर , लकडाउन खुकुलो हुँदै गएपछि सेवा थालनी भयो । अहिले खाना अर्डर हुने क्रम बढेको छ ।

‘फुडमान्डु’ का प्रवन्ध निर्देशक मनोहर अधिकारीका अनुसार अहिले अनलाइनबाट खाना अर्डर गर्ने क्रम भने उत्साहजनक रुपमा बढेको छ । लकडाउनमा समस्या परेपछि फुडमान्डुले पनि किराना समानको डेलिभरी थालेको थियो ।फुडमान्डु, तातोमीठो, भोजडिल्स, भोकलाग्यो, भोकमान्डुलगायतका सेवा प्रदायकहरूले यो सयममा फुड डेलिभरी सेवा दिएर रेस्टुरेन्टहरूलाई सघाएका छन् । अहिले ठूला र महँगा रेस्टुरेन्टले समेत मेनुमा छुटको घोषणा गरेर डेलिभरी सेवा दिइरहेका छन् । इन्डियन, चाइनिज र अन्य कन्टिनेन्टल परिकार घरमै मगाएर खानेको संख्या लकडाउनपछि बढ्न थालेको छ ।

नेपालीहरूले बढी रुचाउने मःम, चाउमिन, पिज्जा, चिकेन तथा बेकरीलगायत परिकारको अर्डर पुरानै दरमा हुन थालेको देखेर अधिकांश सेवा प्रदायक खुसी छन् । ग्राहकको दैलोमै खाना पुर्‍याइदिएर बिजनेस बचाउने उनीहरूको रणनीति सफल पनि भएको छ ।

फुड डेलिभरी गर्ने तातोमीठोका प्रवन्ध निर्देशक निश्चल कार्कीको अनुभव पनि उस्तै छ । घर तथा अफिसबाट खाना अर्डर गर्नेको संख्या लकडाउनपछि पहिलेभन्दा ५० प्रतिशतले बढेको उनको अनुभव छ ।

ई-सर्भिसलाई पनि मौका

लकडाउनकै समयमा डाक्टर र बिरामीलाई भिडियो कन्फ्रेन्समार्फत जोड्ने उद्देश्यले अनलाइन प्लेटर्फमको सुरुवात भयो ।

‘डक्टर्स अन कल’ नेपालले अनलाइन प्लेटर्फम विकास गर्दै बिरामी र डाक्टरलाई भिडियो कन्फ्रेन्समार्फत जोड्ने गरी अनलाइन प्लेटर्फम विकास गर्‍यो ।

कोरोना भाइरस संक्रमण जोखिमका कारण लकडाउन भएपछि अन्य रोगका बिरामीहरु डाक्टरसम्म पुग्न कठिन हुन थालेपछि अनलाइन प्लेटर्फम विकास गरिएको थियो । आपतकालीन अवस्थामा चिकित्सकीय सेवा प्रवाह गर्न उपयोगी हुने गरी आएको यो सेवा सुरुआतमै धेरैले मन पराएका छन् ।

यसबाहेक विभिन्न कम्पनीले डिजिटल प्लेटर्फममार्फत विभिन्न विषयमा तालिमहरु दिन यही बेलामा थालेका छन् । मान्छे घरभित्रै थुनिनुपर्ने भएपछि मेक-अप आर्टिस्ट, मोटिभेसनल स्पीकर, आरजे लगायतका तालिमहरु सञ्चालन गरेर पनि विभिन्न कम्पनीले यही सकयमलाई सहज रुपमा कमाउने मौका बनाएका थिए ।

विद्युतीय भुक्तानी तथा कारोबार

लकडाउनको बेलामा विभिन्न विद्युतीय कारोबार गर्ने सेवा प्रदायकमार्फत हुने भुक्तानी पनि फस्टायो । ई-कमर्स बिजनेसको सहयोगी कारोबार भएकाले यसको बढोत्तरी स्वभाविक थियो ।

सँगै घरबाट बाहिर निस्कन कठीन हुने भएकाले व्यक्ती वा कम्पनीहरुबीच नगद कारोबार गर्न सम्भव नहुने भएपछि विद्युतीय भुक्तानी फस्टाउन पुग्यो ।

नेपाल क्लेयरिङ हाउस लिमिटेड (एनसीएचएल)मार्फत लकडाउनको अवधिमा मात्रै विभिन्न भुक्तानी प्रणालीमार्फत ५२.५ लाख वटा भुक्तानी कारोबारहरु भए ।

एनसीएचएलले विभिन्न भुक्तानी प्रणालीहरुले सर्वसाधारण तथा बैंकिङ क्षेत्रलाई नगदरहित कारोबार गर्न आवश्यक सहयोग पुर्‍याउँदै आएको छ ।

एनसीएचएल-ईसीसी, एनसीएसएल-आईपीएसका निम्ती सेवाग्राही बैंककै शाखा पुग्नु पर्ने भएता पनि कनेक्ट आईपीएसमार्फत भने बैंक शाखा नपुगी अनलाईनबाटै फन्ड ट्रान्सफर तथा अन्य भुक्तानी दिन्छ ।

यसै कारणले लकडाउनअघि एक अर्ब दैनिक औसत कारोबार हुने गरेको ‘कनेक्ट आईपीएस’मा असारमा भने २.५ अर्ब बराबरको दैनिक औसत कारोबार भएको रेकर्ड छ । डिजिटल भुक्तानी प्रणालीले लिएको गतिलाई निरन्तरता दिन साउन १ बाट एनसीएचएलका भुक्तानी प्रणालीहरुमा शुल्क पनि घटाइएको छ ।

यो सँगै ई-सेवा, आईएमई पे, प्रभु पे खल्ती लगायतका भुक्तानी सेवा सञ्चालक तथा सेवा प्रदायकको पनि ग्राहक राम्रो संख्यमा थपिएका छन् । अनलाइन कारोबारमा ध्यान तानिएसँगै यस्ता सेवा लिनेको संख्या बढेको छ । बैंकहरुको मोबाइल बैंकिङ लिनेहरु पनि लकडाउनपछि बढ्न थालेका छन् ।

मोबाइल व्यवसाय

लकडाउनपछि मोबाइल पसलहरु बन्द भएका थिए । सर्भिसिङलगायतका सेवा पनि ठप्प थिएए । तर, यही लकडाउन मोबाइल व्यवसायका लागि एउटा बरदान जस्तो भएर आएको छ ।

असार १ पछि लकडाउन खुकुलो भएपछि मोबाइल पसलहरु खुले । नेपालका सामसुङ मोबाइलको आधिकारिक विक्रेता रहेको आईएमएस समूहका अध्यक्ष दीपक मल्होत्राका अनुसार अहिले मोबाइल फोनको व्यापार बढेको छ ।

कम्पनीले व्यापार बढ्यो भनेर हामीले केही अध्ययन पनि गरेको छ । उनका अनुसार चोरी पैठारीले गर्दा बजार एकदमै ध्वस्त भइरहेको रहेछ ।

‘लकडाउन कडा भएपछि चोरी पैठारीका फोनहरू आउने क्रम बन्द भयो । त्यसैले लकडाउन सहज भएसँगै मोबाइल फोनको माग एक्कासी बढ्न गएको छ,’ उनी भन्छन् ।
सीमामा दुवैतर्फ उच्च निगरानी भएपछि मोबाइलको चोरी पैठारी अहिले लगभग ठप्प छ । यसको लाभ भने अहिले नेपालका व्यवसायीहरुले स्वतः उठाउन पाएका छन् ।

आईएमएस समूहले यसको जानकारी सरकारलाई पनि दिएको छ । मोबाइलको व्यापार बढ्दा सरकारलाई राजस्व असुलीका हिसवाले सहयोग पुग्छ । सरकारले मोबाइलमा सरकारले १३ प्रतिशत भ्याट पाउँछ ।

‘साढे २ प्रतिशत भ्याट हामीलाई फिर्ता भए वैधानिक च्यानलबाट धेरै मोबाइल फोन बिक्री हुने र सरकारलाई राम्रै राजस्व संकलन हुन्थ्यो । उहाँहरूले मान्नु भएन,’ मल्होत्रा भन्छन् ।

साढे २ प्रतिशत छोड्दा जति राजस्व घट्छ, त्यो व्यापार १५ देखि २० प्रतिशत बढेर कर राजस्व पूर्ति हुने उनको दावी छ ।

‘हामीले मोबाइल फोन इम्पोटर्स एसोसिएसनको बैठक बोलाएर नेपालमा अब उप्रान्त कुनै पनि पसलले चोरी पैठारी फोन बेचेको पाएमा त्यस पसललाई कारबाही गर्ने निर्णय गरेका छौं,’ उनी भन्छन्,’ हाम्रो तर्फबाट यो हामीले गर्‍यौंं, सरकारले पनि त्यति छुट दिएको भए भारतबाट हुने चोरी पैठारी कम हुने थियो ।’

मोबाइल फोनको  बिक्री बढ्नुमा एउटा मात्रै कारण छैन, अहिले सामाजिक दुरीको सवालका कारण अनलाइन कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । विद्यार्थीहरूलाई पनि अनलाइनबाट कक्षा लिइरहेका छन् । त्यसले गर्दा पनि स्मार्ट फोनको माग बढाएको मोबाइल फोन इम्पोटर्स एसोसिएसनको निष्कर्ष छ ।

नेपालमा केही समय अघिसम्म करिब ५० प्रतिशत मात्रै स्मार्ट फोन र बाँकी साधारण फोन रहेको अनुमान थियो । इन्टरनेटको पहुँच बढ्दै जाँदा स्मार्ट फोन अपरिहार्य बनिरहेको एसोसिएसनको भनाइ छ । अहिले भेटघाटका लागि बाहिर निस्कन असहज अवस्था रहेकाले समय बिताउनलाई पनि स्मार्ट फोन चाहिएको अध्यक्ष मल्होत्रा बताउँछन् ।

मोबाइलको मात्रै हैन, ल्यापटप र ट्याबलगायतका व्यापार पनि यो समयमा फस्टायो । विभिन्न ‘वर्क र्फम होम’ को अवधारणा आएसँगै यस्ता डिभाइसको माग ह्वात्तै बढेको छ । यसकै कारण बजारमा कतिपय ब्रान्डका ल्यापटपको अभाव समेत सिर्जना भएको अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment