Comments Add Comment

वीरगञ्जमा कोरोना संक्रमित बढेसँगै मास टेस्टिङ सुरु

महानगर र प्रशासनद्वारा छुट्टाछुट्टै स्थानमा स्वाब संकलन

११ साउन, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–९ की सवी सुवेदीले स्वाब दिनका लागि झण्डै डेढ घण्टा कुर्नु पर्‍यो । वीरगञ्ज महानगरले ‘एक घर एक पीसीआर परीक्षण’ अभियान सुरु गर्न स्थानीय रेल्वे माविमा स्वाब संकलन गर्ने पूर्व सूचना जारी गरेको थियो ।

सवी लगायत डेढ सयजना जति स्थानीय स्वाब दिन स्कुलमा पुगेका थिए । दिउँसो १ बजेबाट गएका उनीहरु ३ बजेसम्म पनि स्वाब संकलन नभएपछि आक्रोशित बनेका थिए । लामो समयसम्म चर्को घाममा उभिएर लाइनमा बस्नु परेको उनीहरुको गुनासो थियो ।

‘कोरोना संक्रमण फैलन्छ भनेर निषेधाज्ञा जारी गरिएको छ । पीसीआर जाँच गर्न आउ पनि भन्छन्,’ उनले भनिन्, ‘ फटाफट स्वाब लिएर पठाउँछन् होला भनेको त एउटा भाँडो दिएर डेढ घण्टा कुराए । जाँच गर्न आएका हौं, संक्रमण लिन हैन भनेर होहल्ला गरेपछि बल्ल स्वाब संकलन गरे ।’

उनको जस्तै गुनासो नन्द किशोर चौहान, टेकबहादुर श्रेष्ठको पनि थियो । चर्को घाममा लाइन बस्नु पर्दा उनीहरु आक्रोशित थिए । फटाफट स्वाब नलिँदा भिडभाड बढेको र उल्टै संक्रमणको जोखिम बढेको उनीहरुले तर्क गरे । सर्वसाधरणले आक्रोश पोख्दै गर्दा महानगरपालिकाको स्वास्थ्य महाशाखाका कर्मचारीहरु भने स्वाब संकलनको तयारी गर्दै थिए । अगाडि सरेर उनीहरुलाई ढिलाई हुनुको कारण बताउने कोही थिएनन् । आफूहरुको गुनासो सुनिदिने कोही नभएको दुखेसो चौहानले समाचार संकलनका लागि पुगेका सञ्चारकर्मी माझ पाेखे ।

वडाध्यक्ष मनोज कलवारले रजिस्ट्रेसन लगायतका रेकर्ड प्रक्रियाका कारण सर्वसाधरणले केही समय कुर्नुपर्ने अवस्था आएको बताए ।

केही छिनमा विद्यालयकै एउटा कोठाबाट पीपीई लगाएका स्वास्थ्यकर्मी निस्किए । त्यति नै खेर महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी पनि आइपुगे । उनले धैर्य गर्न र दुरी कायम गरेर बस्न आग्रह गरे । साथै स्वाब दिइसकेपछि रिपोर्ट नआउँदासम्म घरमै बसेर सहयोग गर्न आग्रह गरे । पीपीई लगाएका तीन जना स्वास्थ्यकर्मीले धमाधम स्वाब संकलन सुरु गरे । रेल्वे माविमा आइतबार १ सय १३ जनाको स्वाब संकलन भएको महानगरपालिकाले जनाएको छ ।

प्रशासनद्वारा छुट्टै स्वाब संकलन

कोरोना संक्रमितको संख्या बढेपछि निषेधाज्ञा लगाएको प्रशासनले पनि आइतबारबाट मास टेस्टिङ सुरु गरेको छ । जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रको नेतृत्वमा मास टेस्टिङ सुरु गरिएको हो ।

स्वास्थ्य कार्यालय, नारायणी अस्पतालका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको टोली स्वाब संकलनमा खटिएका छन् । टोलीले वीरगञ्जको माइस्थानमा २ सय ९ जनाको स्वाब संकलन गरेको छ ।

राधेमाईमा पनि आइतबार नै स्वाब संकलन गरिको छ । त्यस्तै नारायणी अस्पतालमा पनि स्वाब संकलन गरेको जनाएको छ ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले संक्रमित भेटिएको र बढी भिडभाड हुने संकास्पद क्षेत्रमा स्वाब संकलन गरिएको जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जोखिम बढी भएको ठाउँमा समुदाय स्तरमा कोरोना भए नभएको परीक्षण गर्न लागिएको जानकारी दिए ।

‘नारायणी अस्पताल, विर्ता क्षेत्र, माईस्थान, श्रीपुर, राधेमाई क्षेत्रमा संक्रमित भेटिएका छन् । पहिला ती स्थानबाट स्वाब संकलन गर्छौ,’ उनले भने,  ‘दैनिक ७/८ सय स्वाब संकलन गरेर ८/१० हजारको पीसीआर परीक्षण गर्ने तयारी हामीले गरेका छौं ।’

सरावगी भन्छन् – सीमा नाका पूर्णरुपमा सिल गर्नुपर्छ

वीरगञ्जमा महानगरपालिकाले एक घर एक परीक्षण अभियान मार्फत ५० हजार घरधुरीको पीसीआर परीक्षण गर्ने बताउँदै आएको छ ।

अभियान सञ्चालनका लागि सीसीएमसी र डीसीएमसीले सहमति नदिएको गुनासो नगर प्रमुखले गर्दै आएका थिए । स्थानीय प्रशासनले राजनीतिक दलसँगको परामर्शपछि निषेधाज्ञा गरेर मास टेस्टिङ गर्ने निर्णय गरेको थियो ।

महानगरपालिका प्रमुख सरावगीले त्यहि आधारलाई टेकेर ‘एक घर एक परीक्षण’ अभियान सुरु गरेका छन् । सुरक्षाकर्मी समेतको उपस्थितिमा स्वाब संकलन गरिँदै आएकोमा आइतबार रेल्वे माविमा सुरक्षाकर्मी खटाइएको थिएन ।

स्वाब संकलन केन्द्रमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै नगर प्रमुख सरावगीले सोमबारदेखि स्वाब संकलनका लागि थप टिम परिचालन हुने जानकारी दिए ।

‘यो भन्दा अगाडी लकडाउन र निषेधाज्ञा भयो तर मास टेस्टिङ भएन । अब मास टेस्टिङ गरेर महानगरपालिकाले जनताको जीवन रक्षा गर्छ । त्यसका लागि कुनैपनि उपाय बाँकी राख्दैन ।’ उनले भने ‘’३५ जनालाई स्वाब संकलनको तालिम दिलाएका छौं । भोलिदेखि ५ वटा टिम बनाएर स्वाब संकलन गर्छौ ।’

महानगरपालिकाले संकलनको गरेको स्वाब परीक्षणका लागि आवश्यक सबै सामग्रीको बन्दोबस्त पनि गरिएको दाबी उनले गरे ।

‘भीटीएम, रिएजेन्ट किट लागयत साधन सबै ल्याएका छौं । नारायणी अस्पताललाई मेसिन लगायत टेस्टिङका दौरान आवश्यक सबै साधन दिएका छौं । स्थानीय प्रशासन र नारायणी अस्पतालसँग समन्वय र सहकार्यमा नै काम अघि बढेको छ,’ सरावगीले भने, ‘ नपुग किट सरकारले उपलब्ध गरायो भने ठिकै छ हैन भने महानगरले नै प्रबन्ध गर्छ । ’

कोरोना अस्पताल भरिएर संक्रमितलाई राख्ने ठाउँको अभावमा घरमै राखिएका छन् नी ? भन्ने सञ्चारकर्मीको जिज्ञासमा नगर प्रमुख सरावगीले भने, ‘संक्रमित छन, तर लक्षण छैन भने पहिलो लेभलका संक्रमित हुन् । त्यस्ता संक्रमितलाई ठाउँ छ भने होम आइसोलेसनमा पनि राख्न सकिन्छ । अन्य अस्पताल र स्कुलमा राखेर उपचार गराउन सकिन्छ । तर दोस्रो र तेस्रो लेभलमा मात्रै समस्या हो । १ हजार जनामा कोरोना निस्कोस वा ५ हजार जनामा निस्कोस । आइसोलेटेड गर्नै पर्छ । त्यसका लागि सबै मिलेर तयारी गर्नुपर्छ ।’

महानगरपालिकाले संक्रमितका लागि काउन्सिलिङ गर्ने र औषधी पठाउने सेन्टर स्थापाना गर्ने जानकारी उनले दिए । सँगसँगै कोरोना महामारीबाट मुक्त हुनका लागि सीमा नाका सिल गर्नुको विकल्प नभएको धारणा उनले व्यक्त गरे ।

‘छिमेकी मुलुक भारतको सीमावर्ती राज्य बिहारमा लक्षण सहितको कोरोना संक्रमण व्यापक रुपमा फैलिएको छ । सीमा नाकालाई लगातार सील गरेर राख्न नसके कोरोनाको जोखिमबाट कहिल्यै मुक्त हुन सकिँदैन, वीरगञ्जमा पनि उताका मानिस पटक–पटक लुकेर ओहोरदोहोर गरेकै कारण कोरोना पसेको हो । सम्बन्धित व्यक्तिलाई पटक पटक यसबारेमा ध्यानाकर्षण गराएका छौं,’ उनी भन्छन्, ‘ वीरगञ्ज मात्रै होइन, देशैभरको सिमानामा कडाइ गर्नुपर्छ । कोरोनाकालमा सीमा लगातार सिल गर्न सक्यौं भने मात्रै मुलुकलाई कोरोनामुक्त बनाउन सकिन्छ । नेपाल सरकारबाट यसका बारेमा ठोस निर्णय आउनुपर्छ ।’

गलत ढंगले मानिस आउने क्रमलाई रोकेर तोकिएको स्थानबाट आएर क्वारेन्टिन लगायतका मापदण्ड पुरा गरेर मात्रै मानिसलाई आउन दिनुपर्ने तर्क उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment