Comments Add Comment

बाढी पहिरोपछिको खाद्य व्यवस्थापन

नोवेल कोरोना भारस (कोभिड–१९) महामारीसँगै बाढी पहिरोको विपद् आइलागेको छ । अविलम्ब केही सावधानी अपनाइएन भने यसले अप्रत्यक्ष रुपमा विपद्पश्चात जनस्वास्थ्यमा झन ठूलो असर पार्ने देखिन्छ । संसार भरिका ठूलाठूला बाढीका घटनाले सिकाएको पाठ भनेको बाढी पछिको व्यवस्थापन हो ।

सुरक्षित आवाससँगै स्वच्छ पानीको आपूर्ति, वातावरणीय सरसफाइ, तात्कालिक चोटपटकको उपचारसँगै सम्भावित सरुवा रोग नियन्त्रण र सुरक्षित खानाको आवश्यकता पर्छ । यी काम जति चाँडो र सजिलो गरी सम्पन्न हुन्छन्, देशका बाढी पीडित नागरिक त्यति नै चाँडो सामान्य अवस्थामा फर्किन सक्छन् ।

अमेरिकाको तटीय क्षेत्रमा वर्षेनिजसो आउने हुरी केनबाट हताहत हुनेको संख्या पछिल्लो दशकमा अत्यन्तै कम हुँदै आएको छ । विश्वमा आइपर्ने प्राकृतिक विपत्तिहरु मध्ये बाढी ४० प्रतिशत र करिब ५० प्रतिशत मृत्युको कारक हो । भौगोलिक बनावट र व्यवस्थापकीय कमजोरीले एशिया महादेश बाढीको सबैभन्दा उच्च जोखिममा पर्दछ । हामी बाढीले बगाएर मृत्यु हुनेको संख्यामात्र जोड्ने गर्छौ तर हाम्रा जस्ता साधन, स्रोत र तयारी नभएका देशमा बाढीले बगाएर मृत्यु हुने मानिसको संख्याभन्दा त्यसपछि फैलने संक्रमणले ज्यान जानेको संख्या बढी देखिन्छ ।

बाढी पहिरोका कारण खानेपानीको पाइप फुट्ने, ढल मिसिने, पानीको मुहान प्रदूषित हुने, रुखविरुवा ढल्ने तथा जनावरको मृत्यु भई पानीमा मिसिने आदि धेरै सम्भावना हुने हुँदा पानी खाँदा हरेक पटक निरोगीकरण गरेर मात्र खानु पर्छ ।

बाढी पहिरोका कारण विशेष गरी खानेपानी तुरुन्तै प्रदूषित हुने हुँदा यो रोग सार्ने प्रमुख कारण हुन सक्छ । हाम्रो यो आपतकालीन अवस्थामा यातायात र सञ्चार अवरुद्ध भएका बेला सामान्य बिरामीको पनि मत्यु हुन सक्छ । बाढी पहिरोका कारण खानेपानीको पाइप फुट्ने, ढल मिसिने, पानीको मुहान प्रदूषित हुने, रुखविरुवा ढल्ने तथा जनावरको मृत्यु भई पानीमा मिसिने आदि धेरै सम्भावना हुने हुँदा पानी खाँदा हरेक पटक निरोगीकरण गरेर मात्र खानु पर्छ । पहाडमा धारा, खोल्सा, नदीदेखि लिएर तराईमा प्रयोग हुने ट्युवेलको पानीसमेत यस्तो समयमा प्रदूषित हुन सक्छ । आपतको समयमा सरकारी सेवा प्रभावित हुन सक्ने हुँदा धाराको पानी जहिले पनि निरोगीकरण गरेर मात्र खानु बुद्धिमानी हुन्छ ।

बाढी पहिरोका समयमा पानी निरोगीकरण कसरी गर्ने ?

उमालेर : पानी उमालेर खाने सबैभन्दा सजिलो र पुरानो तरिका हो । बाढीपहिरोका समयमा इन्धनको अभाव हुन सक्ने हुँदा पानी उमालेर खान समस्या हुन सक्छ । परिस्थिति हेरेर दैवी प्रकोपमा सक्रिय सरकारी तथा गैरसरकारी संघसस्थाले पानी निरोगीकरणका अन्य वैकल्पिक साधनहरु आपूर्ति गर्नु पर्ने हुन सक्छ ।

ब्लिचिङ गरेर : अहिले बजारमा विभिन्न ब्राण्डका पानी शुद्धीकरण गर्ने क्याल्सियम तथा सोडियम हाइपोक्लोराइड, ब्लिचिङ पाउडर आदि पाइने हुँदा प्राविधिज्ञ वा उत्पादकको सल्लाहबमोजिम प्रयोग गर्न सकिन्छ । यस्ता रसायनले तत्काल जीवाणु मार्ने हुँदा आपतकालीन अवस्थामा धेरै देशहरुले उद्धार कार्यमा खानेपानीको आपूर्ति गर्दा ब्लिचिङ गर्ने प्रविधि प्रयोग गरेको देखिन्छ । अन्य सामान्य अवस्थामा पनि गाउँ सहरमा वितरण गरिने सार्वजनिक पानी वितरण प्रणालीमा पानी निरोगीकरण गर्न यो प्रविधि प्रयोग गरिन्छ ।

सोलार डिस्इन्फेक्सन (सोडिस) प्रविधि : झरी परिरहँदा घाम नलाग्ने भएकोले यो प्रविधि उपयुक्त नभए पनि झरी रोकिएर घाम लाग्न थालेपछि भने विना इन्धन यो प्रविधिद्वारा पानी निरोगीकरण गर्न सकिन्छ । यसका लागि एउटा पारदर्शी प्लास्टिक वा सिसाको बोतलमा तीन चौथाइ पानी हाल्ने र बिर्को बन्द गरी करिब दुई मिनेट बेस्सरी हल्लाउने अनि ३ देखि ६ घण्टासम्म घाममा राख्ने । यसो गर्दा घामको युभी विकिरण पानीको सबै तहमा पुग्ने र पानी हल्लाउँदा हावामा भएको अक्सिजन पानीमा घुलेर जीवाणु मर्न सक्ने नेसेन्ट अक्सिजन तयार भई सम्पूर्ण जीवाणु नष्ट हुन्छन् ।

पानीबाहेक अरु बालीनालीहरु पनि बाढीका कारण प्रदूषित हुने गर्छन् । हरियो सागपात, गोलभेंडा, काउलीजस्ता तरकारी फलफूल, अन्न आदि सबै फोहोर पानीले विषाक्त हुन सक्छन् । यो बाहेक भण्डारण गरिएका अन्न पानी परी ढुसी आउने पनि हुन सक्छ । पशुहरु बिरामी हुन सक्ने हुँदा ती पशुको दूधसमेत संक्रमित हुन सक्छ । त्यसैले यस्तो विपतको समयमा एकदमै होसियारी अपनाउनु पर्दछ ।

सफा पानीको व्यवस्था गर्ने, साग सब्जीहरु राम्ररी पखाल्ने, राम्ररी पकाएर मात्र खाने, दूध राम्ररी उमालेर खाने, पशुलाई पनि सकेसम्म सफा पानी ख्वाउने आदि बाढीको समयमा अपनाउने सावधानीहरु हुन् । धेरैजसो अवस्थामा बाढी पहिरो चल्दै गर्दा खानपिउन सम्भव नहुन सक्छ । तर, पनि खानु अनिवार्य आवश्यकता भएकोले त्यतिवेला चिउरा, भुजा, चना, मकैजस्ता सुख्खा खानेकुराहरु खानु सुरक्षित हुन्छ ।

बाढी पहिरोपछिको व्यवस्थापन

बाढी पहिरोपछि सञ्चालन हुने होटल, रेस्टुरेन्ट, खाद्य उद्योगहरुले आफ्नो सेवा सुचारु गर्दा धेरै सावधानी अपनाउनुपर्छ । मौज्दात रहेका प्रत्येक कच्चा सामग्रीहरु प्रदूषित छन् कि छैनन् यकिन गर्ने, प्रशोधन कक्ष वा भान्सा राम्ररी निरोगीकरण गर्नु अनिवार्य छ । पानीको स्रोत, ढलको अवस्था यकिन हुनु जरुरी हुन्छ ।

घरगृहस्थीले पनि बाढीपछि सावधानी नअपनाएमा संक्रमण फैलन सक्छ । मरेका जनावर भए उचित व्यवस्थापन गर्नु पर्छ ।

–गहिरो खाल्डो खनी ती जनावर पुर्ने

–जनावर मरेको स्थानमा ब्लिचिङ पाउडर जस्ता औषधि छर्ने

–बिरामी पशुपन्छीलाई अलग्गै राख्ने

–भण्डारण गरिएका अन्न गेडागुडी घाममा सुकाएर राख्ने

–तरकारी, फलफूलमा फोहोर पानी मिसिएको भए भण्डारण नगर्ने वा निरोगीकरण गरेर वा प्राविधिज्ञको सल्लाह लिएर मात्र उपभोग तथा बिक्रवितरण गर्ने ।

विशेष गरी पानी निरोगीकरण गरेर मात्र सेवन गर्ने जस्ता कार्य गरेमा बाढीपछिको जनजीवन सहज हुँदै जान्छ जनस्वास्थ्यमा प्रतिकूल असर पर्दैैन । केही देशहरुले आफ्नो रिपोर्टमा बाढी विनासपछि छरिएका अन्न गेडागुडी र फोहोरका कारण मुसाद्वारा सर्ने रोगहरु फैलिएको उल्लेख गरेका छन् ।

त्यस्तै, बाढीले अस्पतालको ढल तथा फोहोर पानीको स्रोतमा मिसिने सक्ने हुँदा अस्पताल पुनः सञ्चालन गर्दा राम्ररी सरसफाइ गर्नुपर्छ र त्यस्ता स्थानका फसलहरु उपभोग गर्नु हुन्न । सरकारी तवरबाट प्रकोप पश्चात् गरिने व्यवस्थापनमा खाद्य पदार्थहरुको अनुगमन, परीक्षण, पानी निरोगीकरण जस्ता कार्य तीव्र रुपमा सञ्चलन गर्नु र जनचेतना अभिवृद्धि गर्नु जरुरी हुन्छ ।

(लेखक खाद्य वैज्ञानिक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment