
१५ साउन, वीरगञ्ज । पर्सामा निरन्तर कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । सबै भन्दा बढी प्रभावित वीरगञ्ज छ । वीरगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालिन निषेधाज्ञा लगाएको छ । कोरोना संक्रमणकै कारण पर्सामा ७ जनाको मृत्यु भइसकेको छ ।
वीरगञ्जस्थित गण्डक अस्थायी कोरोना अस्पतालमा ६० जना संक्रमित राखिएको छ । आईसीयूमा रहेका ५ जना मध्ये २ जनाको अवस्था गम्भीर छ । ८ जना सिद्धार्थ माविमा छन्, पर्सागढीमा ५ जना, सखुवा प्रसौनीमा ३ जना र ठोरीमा १ जनालाई राखिएको छ । ठाउँ अभाव हुँदा १ सयको हाराहारीमा संक्रमितलाई घरमै राखिएको छ ।
यही समस्या समाधानका लागि वीरगञ्जमा अर्को एउटा निजी अस्पताललाई अस्थायी कोभिड अस्पताल बनाउन सिफारिस गरिएको छ । वीरगञ्ज हेल्थ केयर अस्पताललाई अस्थायी कोभिड अस्पतालको रुपमा सञ्चालन अनुमति दिन केन्द्रिय संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी), स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश नं २ सामाजिक विकास मन्त्रालय समक्ष सिफारिस गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बिहिबार संकट व्यवस्थापन केन्द्रको बैठक बसेको थियो । सोही बैठकको निर्णय अनुसार वीरगञ्ज हेल्थ केयर अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्न सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।
‘भएको अस्थायी कोभिड अस्पतालमा संक्रमित राख्ने ठाउँ छैन, त्यसैले अर्को कोभिड अस्पतालको व्यवस्थापन गर्न जरुरी छ,’ उनले भने, ‘वीरगञ्ज हेल्थ केयर अस्पताल कोभिड अस्पतालको रुपमा प्रयोग गर्न दिन सहमत भएको छ । अनुमतिका लागि माथिल्लो निकायमा पठाएका छौं । अनुमति पाइसकेको अवस्था छैन ।’
पर्सा जिल्लामा कोभिड–१९ संक्रमितहरुको संक्रमितको संख्या बढ्दै गएको र लक्षण समेत देखिन थालेको अवस्थामा नारायणी गण्डक कोभिड अस्पतालमा बेड संख्या नपुग भई लक्षण देखिएको संक्रमितलाई समेत अस्पताल पुर्याउन नसकिएको निर्णयमा उल्लेख छ । थप कोभिड अस्पतालको व्यवस्था गर्न जरुरी देखिएकोसँगसँगै कोभिड–१९ शंकास्पद तथा संक्रमितको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार सेवा सरकारी अस्पतालबाट मात्र उपलब्ध गराउन नसकिने देखिएकोले यस्तो निर्णयमा पुगिएको केन्द्रको निष्कर्ष छ ।
वीरगञ्ज हेल्थ केयर हस्पिटलले कोरोना भाइरसको संक्रमण उपचार वापत अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश २०७७, बमोजिम कोभिड अस्पताल सञ्चालन गर्न दिन सहमति समेत जनाएको छ ।
सय शैय्याको हेल्थकेयर हस्पिटलमा ८ वटा भेन्टिलेटर, २६ वटा आईसीयू सञ्चालनमा छ । अस्पतालमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, कर्मचारी गरेर १ सय ९५ जनाको हाराहारीमा कर्मचारी कार्यरत छन् ।
पछिल्ला दिनमा कोरोना महामारीमा संक्रमितले उपचार नपाएको अवस्था देखेर कोभिड अस्पताल सञ्चालनका लागि सहमत भएको हेल्थ केयर अस्पतालका सञ्चालक डा अबुल हैस अन्सारीले जानकारी दिए ।
‘वीरगञ्जको पछिल्लो परिस्थिति गम्भीर बन्दै गएको छ । आइसोलेसनको अभावमा लक्षण सहितका संक्रमितले उपचार नपाउने अवस्था छ,’ उनले भने, ‘विषम परिस्थितिमा थोरै भएपनि सहयोग पुग्छ भनेर कोभिड अस्पताल चलाउन दिने निर्णयमा पुगेका हौं ।’
प्रतिक्रिया 4