Comments Add Comment

अवैध मिर्गौला प्रत्यारोपण प्रकरण : प्रहरीले कमजोर बनायो मुद्दा

आधा सजाय हुने, वडाध्यक्षलाई जोगाइयो

१८ साउन, काठमाडौं । पुरानो भरतपुर मेडिकल कलेजमा भएको भनिएको अवैध मिर्गौला प्रत्यारोपण प्रकरणमा प्रहरीले मुद्दा परिवर्तन गरेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले २८ असारमा प्रकरणका १२ जना अभियुक्तलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो ।

तर अभियोजनको प्रक्रियासम्म पुग्दा पीडित भनिएका खोटाङका सन्तोष राईलाई समेत पक्राउ गरेको व्युराले कम सजाय भएको मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ अनुसार मुद्दा चलाउन राय दिएको छ ।

ब्युरोले ललितपुर प्रहरीमार्फत अघि बढाएको कानूनी प्रक्रिया अनुसार आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन पेश भएको छ ।

मानव बेचबिखन ऐन अनुसार प्रतिवादीहरुलाई १० वर्ष कैद र दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ । प्रहरीले हाल लगाएको अंग प्रत्यारोपणमा यसको आधा ५ वर्षसम्म कैद र ५ लाख रुपैयाँ जरिवाना सजाय हुने व्यवस्था छ ।

कर्तव्य भन्दै वडाध्यक्षलाई छुट !

यो प्रकरणमा ललितपुर वडा नं. ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनलाई नक्कली नाता प्रमाणितको सिफारिसको फोटोकपीलाई पुष्टि गरिदिएको आरोप लागेको छ । तर नाता प्रमाणित गरिदिनु वडाध्यक्षको कर्तव्य भएकाले अवैध मिर्गौला प्रत्यारोपणको गिरोहमा उनको संलग्नता नदेखिने अभियोग पत्रमा उल्लेख छ ।

उनलाई मतियारको अभियोग लगाइएको छ । मतियारलाई अन्य अभियुक्तलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ । जसअनुसार उनलाई अधिकतम साढे २ वर्षसम्म कैद सजाय हुनसक्छ ।

वडाध्यक्ष महर्जनसहितका व्यक्तिलाई छाड्न शक्तिकेन्द्रबाट दबाब आएका कारण ब्युरोले २८ असारमा पनि अभियुक्तहरुलाई सार्वजनिक गरेका थिएनन् ।

ब्यूरोका प्रमुख एसएसपी देवबहादुर बोहोराले मिर्गौला दिने व्यक्ति पीडित भएको बताउँदै नामसमेत उल्लेख गरेका थिएनन् । तर एकाएक उनलाई पक्राउ गरिएको छ र, मुद्दा भने कमजोर लगाइएको छ ।

यस विषयमा जानकारी लिन बोहोरासँग सम्पर्क गर्दा उनले सबै कुरा ललितपुर प्रहरीसँग बुझ्न आग्रह गरे । तर, ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले भने अनुसन्धान ब्युरोले नै गरेको बताए ।

यो पनि पढ्नुहोस अष्ट्रेलियामा भएका भान्जाको नाममा नेपालमा मिर्गौला प्रत्यारोपण

भक्तपुरका ५५ वर्षीय विष्णुगोपाल बतासको २७ जेठ २०७६ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भान्जा (कान्छी बहिनीको छोरा) ले मिर्गौला दिएको भनिएको थियो ।

३ कात्तिक २०७६ मा नक्कली आफन्त खडा गरेर मिर्गौला प्रत्यारोपण गरिएको भन्दै उजुरी पर्‍यो । ८ महिना लामो अनुसन्धानमा प्रहरीले नक्कली भान्जा खडा गरेर मिर्गौला प्रत्यारोपण गरिएको भेट्टाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment