Comments Add Comment

सुन बजारको भविष्य : गहना बिक्री नहुने दिन आउन सक्छ 

२३ साउन, काठमाडौं । सुनको भाउमा ऐतिहासिक वृद्धिले बजारमा फिर्ता सुनको कारोबार बढेको व्यवसायीहरुले बताएका छन् । पुराना गहना फिर्ता बिक्री कारोबार हरेक दिन पाँचदेखि सात किलोको दरले भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।

धेरैजसो आर्थिक समस्यामा परेकाहरुले अहिले सुन बेचिरहेको व्यवसायीहरुले बताएका छन् । तर, बजारमा सुन किन्ने ग्राहक भने छैनन् । कुनै समय देशभरबाट दैनिक ४० किलोसम्म सुनका गहना बिक्री गर्ने व्यवसायीहरु अहिले बिक्री शून्य रहेको बताउँछन् ।

राज्यले तत्काल कदम नचाले एक दिन सुनको बजार ‘डेडलकको अवस्थामा पुग्ने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यको दाबी छ । ‘सोच्ने बेला छ, नत्र बजारबाट एक दिन व्यवसायी भाग्ने दिन आउन सक्छ,’ उनले भने । डेडलकको अवस्था रोक्न महासंघले राष्ट्र बैंकलाई सुझावहरु बुझाएको पनि उनले बताए ।

के हो बजार डेडलक ?

बजारमा वस्तु वा सेवाको खरिदबिक्रीको क्रममा दुई पक्षीय कारोबार हुन्छ । आवश्यकताको आधारमा मूल्य तिरेर उपभोक्ताले बिक्रेतासँग वस्तु वा सेवा खरिद गर्छ, सो बापत बिक्रेताले रकम पाउँछ । तर सुनको कारोबारमा बिक्रेताले बिक्री गरेको सुन उपभोक्तालाई आवश्यक परेमा बिक्रेताले नै फिर्ता खरिद गर्नु पर्ने नियम छ ।

सुनको बजार सामान्य हुँदा बिक्रेता र खरिदकर्ताबीच खरिद–बिक्री सामान्य थियो तर अहिले सुनको मूल्य बढेका कारण बिक्रेताको बिक्री शून्य छ भने उपभोक्ताको फिर्ता सुनको मात्रा बढी छ ।

अहिलेको कारोबारलाई सुनचाँदी व्यवसायी महासंघले ऋणात्मक भनेको छ । तर सुनको मूल्य अझै बढ्नसक्ने आंकलन अन्तर्राष्ट्रिय बजारमा भएका कारण फिर्ता सुन बिक्रीको लहर कम भएको व्यवसायीहरुको दाबी छ ।

कुनै एक बिन्दुमा पुगेर सुनको बढ्दो मूल्य आरालो लाग्न थाल्यो भने फिर्ता बिक्रीको चाप थेगिनसक्नु हुने र त्यो बेला कारोबार बन्द हुन सक्ने अवस्थालाई डेडलक भनेको महासंघका महासचिव बज्राचार्य बताउँछन् । ‘एकै दिन सयौँ किलो पुरानो गहना बिक्री गर्न उपभोक्ता बजार आउन सक्छन् त्यस्तो अवस्थामा हामीले थेग्न सक्दैनौं,’ उनले भने ।

सुनको मूल्य बढेकोभन्दा पनि कुनै एक बिन्दुमा पुगेर घट्न थाल्ने दिनले आफूहरुलाई सताएको बज्राचार्यले बताए । ‘सधैं सुनको मूल्य बढ्दैन, अझै बढ्ने आशाले उपभोक्ता बजारमा आएका छैनन्, एक दिन बढ्न रोकिने र घट्न सुरु हुने दिनमा बजार अनियन्त्रित हुनसक्छ,’ बज्राचार्यको भनाइ छ ।

सुनको बढ्दो मूल्यले अर्थतन्त्रमा प्रभाव पर्छ

सरकारले चैत १६ गतेदेखि नेपालमा सुनको आयात कोटा २० किलोबाट घटाएर १० किलोमा झारेको थियो । बढ्दो क्रममा रहेको सुनको भाउले विलासितामा राष्ट्रिय ढुकुटीको विदेशी मुद्रा सञ्चितिमा असर नपरोस् भन्ने उद्देश्यले यस्तो नीति लिएको अर्थ मन्त्रालयले जनाएको छ ।

पहिल्यैदेखि बढीरहेको सुनको मूल्य त्यसयता हरेक दिन बढ्दो क्रममा छ । वार्षिक ३० अर्बको सुन आयातमा सरकारी कोटाले केही कमी आउने सरकारी विश्वास छ । गत आर्थिक वर्षमा व्यापार घाटामा सुधार आउनुको एउटा कारण सुनको आयात कोटा घटाउनु पनि भएको सरकारी दाबी छ ।

नेपालमा सुनको औद्योगिक प्रयोजन नभएका कारण सुनमा गरिने लगानी अनुत्पादक नै हुने अर्थशास्त्री डा. केशव आचार्य बताउँछन् । नेपालीले सम्पत्ति थन्क्याउन र सांस्कृतिक रुपमा लगाउनका लागि सुनको प्रयोग गर्ने भएकाले रोजगारी तथा उत्पादनमुलक क्षेत्रमा गर्ने लगानी सुनमा जानु राम्रो नहुने उनको भनाइ छ । ‘हालको बढ्दो मूल्यका कारण बजारमा सुन नबिकेको र बैंकहरुमा पनि सुन थन्किनुले सुन आयात ठप्प भएको संकेत गर्छ,’ अर्थशास्त्री आचार्यले भने ।

सुन आयात घट्दा राज्यको विदेशी मुद्रा सञ्चिति बढ्ने भएकाले सुनको हालको बजार अर्थतन्त्रका लागि भने सकारात्मक नै रहेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय व्यापार अव्यवस्था कायमै रहेको र मूल्य बढीरहेको बेला राज्यले सुनमा लगानी गर्न भने नहुने उनको तर्क छ ।

जेठ मसान्तमा ४३ अर्ब ५२ करोड रुपैयाँ बराबर सुनमा नेपाल राष्ट्र बैंकले लगानी गरेको छ । सुन धरौटी राखेर भए पनि राष्ट्र बैंकले नोट छपाइ गर्न सक्ने भएकाले सुन बैंकका लागि महत्वपूर्ण पुँजी मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment