Comments Add Comment

लापरवाहीको ओखती हुन्न

कोरोना भाइरस न त झम्टिदै आउँछ, न लखेट्दै आउँछ, न खोजीखोजी आउँछ । यसको अर्थ के भने, तपाईं÷हामी सर्तक रहने हो भने कोरोना भाइरसको जोखिम पटक्कै रहँदैन । कोरोनाबाट भयभित हुनुपर्दैन । न चिन्ता लिनुपर्छ, न अस्पताल दौडनुपर्छ ।

अतः कोरोना भाइरसको जोखिमबाट बच्ने काइदा हो, संक्रमित व्यक्तिको सम्पर्कमा नपुग्ने । त्यसो भए संक्रमित व्यक्ति कसरी पहिचान गर्ने ? जटिलता यही छ । कोरोना भाइरसबाट जो कोही संक्रमित हुनसक्छन् । तर, उनीहरुलाई हामी यसकारण पहिचान गर्न सक्दैनौ कि धेरैजसो अवस्थामा कोरोनाको लक्षण देखिदैन । लक्षण देखिएपनि अन्यसँग मिल्दोजुल्दो हुन्छ । जस्तै, रुघाखोकी, ज्वरो आदि अन्य अवस्थामा पनि हुन्छ । कतिपयलाई कोरोना संक्रमण भएपनि परीक्षण नगरेका हुनसक्छन् ।

यसर्थ तपाईं-हामीले बाटोमा भेट्ने व्यक्ति, सार्वजनिक यातायातमा भेट्ने व्यक्ति, छिमेकी, आफन्त, पसले, व्यापारी, सहकर्मी जो कोहीमा कोरोना भाइरसको संक्रमण हुनसक्छ ।

त्यही कारण भनिएको हो, शारीरिक दुरी कायम गरौं । अर्थात यदि हामीले भेटेका व्यक्ति संक्रमित भएपनि त्यसको भाइरस हामीकहाँ आउन नसकोस् ।

त्यही कारण भनिएको हो, नाक र मुख राम्ररी ढाक्नेगरी मास्क प्रयोग गरौं । अर्थात यदि हामीसँग भेटिने व्यक्ति संक्रमित भए त्यो भाइरस हामीमा प्रवेश नगरोस् ।

त्यही कारण भनिएको हो, साबुन पानीले हात धोऔं । अर्थात हाम्रो हातको माध्यामबाट भाइरस हाम्रो शरीरमा प्रवेश नगरोस् ।

त्यही कारण भनिएको, सेनिटाइजर प्रयोग गरौं । अर्थात साबुन पानी उपलब्ध नभएको स्थानमा सेनिटाइजरले हातलाई जीवाणुमुक्त बनाऔं ।

यी सबै सुरक्षात्मक विधी अपनाउने हो भने  हामी कोरोनाबाट एकरत्ती डराउनुपर्दैन । भौतिक दूरी कायम गर्नु, मास्क लगाउनु, हात धुनु, सेनिटाइजर प्रयोग गर्नु व्यक्तिगत सुरक्षाको सर्वोत्तम उपाय हो । तर, हामी यावत् कुरा गर्नु आनाकानी गरिरहेका छौं । मानौं, अरुका निम्ति हामीले यी सबै गरिदिनुपरेको हो । मानौं, अरुलाई कोरोना नसरोस्, समुदायमा कोरोना नफैलियोस् भन्नका खातिर हामीले यी सबै विधीहरु बाध्यकारी रुपमा अपनाउनुपरेको हो । यही कारण हामी लापरवाही गरिरहेका छौं ।

प्रत्येक घण्टामा १५ रुपैयाँ खिल्लीको चुरोट तान्ने व्यक्तिले १० रुपैयाँको मास्क लगाउन कञ्जुस गरिरहेका छन् । कतिपयले नाक र मुख होइन चिउडोमा मास्क लगाएका छन्् । अनावश्यक पनि सडक, चोकतर्फ निस्किएका छन् । भिडभाड गरेका छन् । यात्रा गरेका छन् । शारीरिक सरसफाईमा पटक्कै जाँगर चलाएका छैनन् । आफ्नो सुरक्षाका लागि अपनाउनुपर्ने न्युनतम सावधानी पनि अपनाएका छैनन् । यो अज्ञानता होला वा लापरवाही ?

कोरोनाबाट दिनहुँ सैयौंको संख्यामा संक्रमित भइरहेका छन् । यो त सरकारले दिएको आधिकारिक तथ्यांक मात्र हो, जो परीक्षण गरेकाहरुमा पाइएको हो । परीक्षण नगरेका वा परीक्षणको पहुँचमा नभएका अरु लाखौं छन्, जसलाई कोरोनाको संक्रमण तीब्र गतिमा भइरहेको हुनसक्छ । मृत्यु दर पनि उही मात्रामा बढिरहेका छन् ।

यस्तो पृष्टभूमीमा हामी जति–जति लापरवाही गर्छौं, उत्तिनै यो स्थिति अरु भयावह र अनियन्त्रित बन्नेछ । त्यसपछि न तपाईं÷हामीले हाम्रो घरभित्र पनि कोरोनालाई प्रवेश गराउनेछौं । हाम्रा बुढा बुवाआमा, कलिला बालबच्चा, निर्दोस परिवारका सदस्यहरुले बिना गल्ती सास्ती खेप्नुपर्नेछ । रोग र मृत्युसँग जुध्नुपर्नेछ ।

जबकी हामीकहाँ न भरपर्दो अस्पताल छन्, न उन्नत उपचार पद्धती । भोलिको दिनमा कोरोनाले भयानक रुप लिएमा हामी एकदमै निरिह हुनुपर्ने स्थिति आउनसक्छ । तर, सत्य के पनि हो भने कोरोना भाइरसको संक्रमणले त्यसबेला मात्र हामीलाई सताउनेछ, जब हामी लापरवाही गर्नेछौं । भनिन्छ नि, लापरवाहीको कुनै ओखती हुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment