+
+

यो वर्ष २ लाख ६ हजार पर्यटक नेपाल आउने अनुमान

पर्यटन बोर्डको बजेट आधा घट्यो

अच्युत पुरी अच्युत पुरी
२०७७ साउन २७ गते १३:५१

२७ साउन, काठमाडौं । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०७७/७८ मा २ लाख ६ हजार जना पर्यटक नेपाल भित्रने प्रक्षेपण गरेको छ ।

कोरोना महामारी रोकथामका लागि अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका बन्द गरिएका कारण चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा विदेशी पर्यटक आउने सम्भावना छैन ।

त्यसपछिको १० महिनामा २ लाख ६ हजार पर्यटक नेपाल आउने अनुमान गर्दै बोर्डले वार्षिक नीति तथा कार्यक्रम र बजेट बनाएको छ ।  ‘हामी मुलुकमा पर्यटक भित्र्याउने निकाय हौं, त्यसकारण पर्यटक भित्रनु पर्छ भन्ने मान्यता राख्छौं,’ बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले भने, ‘त्यसकै आधारमा पर्यटक आगमनको न्युनतम प्रक्षेपण गरेका हौं ।’

सन् २०१९ मा करिव १२ लाख विदेशी पर्यटक नेपाल आएका थिए । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य थियो । कोरोना भाइरसको महामारीका कारण उक्त लक्ष्यअनुसार पर्यटक नआउने पक्काजस्तै भएको छ ।

आधा घट्यो बजेट

विदेशमा पर्यटनको बजारीकरण गरी पर्यटक भित्र्याउन सार्वजनिक–निजी–साझेदारीमा सञ्चालित बोर्डको चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम सोमबार सञ्चालक समितिबाट पारित भएको छ ।

बोर्डले चालु आर्थिक वर्षमा ८२ करोड रुपैयाँको बजेट ल्याएको छ । जुन गत आव २०७६/७७ को बजेट १ अर्ब ७६ करोड रुपैयाँको करिब आधा हो ।

बोर्डको मुख्य आम्दानी त्रिभुवन विमानस्थलबाट जहाज चढेर विदेश जाने यात्रुको टिकटबाट आउने प्रतिटिकट १ हजार रुपैयाँ हो । विदेशबाट नेपाल आउने व्यक्तिबाट भने रकम उठाइँदैन । सोही कारण जति धेरै पर्यटक ल्याउन सक्यो, बोर्डको बजेट उत्तिनै धेरै हुने गर्छ ।

नेपाल आइसकेपछि पदयात्रामा जाने पर्यटकलाई दिइने टिम्सकार्ड वापतको रकम समेत बोर्डले पाउँछ । त्यस्ता पर्यटकसमेत यो वर्ष न्यून हुने प्रक्षेपणसहित बजेट बनेको सञ्चालक समिति सदस्य महतले उल्लेख गरे ।

अवस्था सामान्य भएपछि विदेशमा मार्केटिङ

अवस्था सामान्य बनेपछि विदेशमा मार्केटिङ गर्ने पर्यटन बोर्डको तयारी छ । ‘हाम्रा प्रतिस्पर्धी मुलुकले मार्केटिङ थाले भने हामी पनि जानु पर्छ भनेर योजना बनाएका छौं,’ महतले भने । तर, यो वर्ष बोर्डले पूर्वाधार निर्माणमा मठ मन्दिर रंगरोगनजस्ता खुद्रे कार्यक्रम भने रद्द गरेको छ ।

‘पूर्वाधार निर्माण स्थानीय तह तथा अन्य सरोकारवालाको हो, हामीले यसबाट हात झिक्न खोजेका थियौं, यो पटक परिस्थितिले त्यो अवस्था आयो,’ महतले भने ।

यस वर्ष बोर्डले मेला पर्व र उत्सवहरुमा बाँड्ने रकम समेत कटौती गरेको छ । यो वर्ष कोरोना भाइरसका कारण सरकारको घोषित नीति अनुसार नै मेला पर्वलाई प्रोत्साहन गर्न नसक्ने अवस्था आएको बोर्डको भनाइ छ ।

बोर्डले एयरलाइन्स र गन्तब्य खुलेपछि नेपाल आउने पर्यटकलाई प्रोत्साहित गर्ने गरी रणनीति बनाइने बताएको छ । सो क्रममा वायुसेवा कम्पनी, विदेशस्थित नेपाली नियोग र गैरआवासीय नेपालीसँगको सहकार्यलाई समेत प्राथमिकता दिने बोर्डको भनाइ छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?