Comments Add Comment

कोरोनाका कारण १५ औं योजना परिमार्जन गर्नुपर्न देखियो : कँडेल

१ भदौ, काठमाडौं । राष्ट्रिय योजना आयोगले कोरोना संक्रमणका कारण अर्थतन्त्रमा प्रभाव परेकाले पन्ध्रौं योजनामा परिमार्जन गर्नुपर्ने देखिएको बताएको छ ।

आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले कोरोनाका कारण अर्थतन्त्रमा गम्भीर असर परेको र आर्थिक वृद्धि लक्ष्य अनुसार हासिल नहुने देखिएकाले पन्ध्रौं पञ्चवर्षीय योजनाका लक्ष्य परिमार्जन गर्नुपर्ने देखिएको बताए ।

पन्ध्रौं योजनाले पहिलो वर्ष साढे आठ प्रतिशत, दोस्रो वर्ष साढे नौ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको थियो । तर कोरोना महामारीका कारण लक्ष्य हासिल गर्ने सम्भावना नदेखिएकाले परिमार्जन गर्नुपर्ने कँडेलको भनाइ छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने ‘पन्ध्रौं योजनामा नै त्यसको लक्ष्यहरुमा केही परिमार्जन गर्नुपर्छ भन्ने देखिदैछ । किनभने साढे आठ प्रतिशतको आर्थिक वृद्धिदर पहिलो वर्ष भनेका थियौं, दोस्रो वर्ष झण्डै साढे नौ प्रतिशतको आर्थिक वृद्धिदरको परिकल्पना थियो । त्यो दुईवटै झर्‍यो ।’

कोरोनाको संक्रमण कम हुन्छ भन्ने हिसाबले चालु आर्थिक वर्षको वार्षिक योजना बनाएको तर दोस्रो चरणको संक्रमणका कारण कार्यान्वयनमा असर परेकाले पनि समस्या देखिएको उनले बताए ।

असारसम्मको लकडाउनपछि कोरोनाको प्रभाव न्यूनीकरण तिर गएको अवस्थालाई हेरेर योजना बनाएको तर फेरि संक्रमण बढ्दै जाँदा कार्यान्वयनमा असर परेको कँडेलको भनाइ छ ।
राष्ट्रिय गौरवका आयोजना र रुपान्तरणकारी आयोजना लक्षित समयमा सम्पन्न गर्र्न नसकिने अवस्था आएको पनि कँडेलले बताए ।

कोरोनाको असर अर्थतन्त्रमा गम्भीर रुपमा परेकोले अब कोरोना रोकथाम तथा नियन्त्रणका उपायहरु अपनाउँदै आर्थिक क्रियाकलापलाई अगाडि बढाउनुको विकल्प नभएको पनि कँडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment