२ भदौ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले अन्तत: मुख्य प्रशिक्षक किके सेटिएनलाई बर्खास्त गरेको छ । यस सिजन बार्सिलोनाले कुनै पनि उपाधि जित्न नसकेपछि क्लबमा धेरै कुरामा परिवर्तन गर्नुपर्ने माग उठिरहेको बेला क्लबले पहिलो निर्णय स्वरुप सेटिएनलाई बर्खास्त गरेको हो ।
बार्सिलोनाको बोर्ड अफ डिरेक्टरले सोमबार सेटिएनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । जनवरीमा एर्नेस्टो भेलभेर्डलाई बर्खास्त गर्दै बार्सिलोनाले अप्रत्यासित रुपमा सेटिएनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । स्पानिस ला लिगाको उपाधि जोगाउने र युरोपियन च्याम्पियन्स लिग जित्ने लक्ष्यहसित सेटिएनलाई भित्र्याएको बार्सिलोनाले आफ्नो लय अनुसार खेल्न सकेन र यस सिजन उपाधि विहीन बन्यो ।
मुख्यत च्याम्पियन्स लिग अन्तर्गत सिंगल लेगको क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८-२ को लज्जासपद हारसहित बाहिरिएपछि सेटिएनको पद धरापमा परेको थियो ।
बायर्नसँगको खेलपछि नै सेटिएनले पनि क्लबमा परिवर्तन गर्नुपर्ने बताएका थिए । यस्तै क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउले पनि क्लबमा परिवर्तनको संकेत त्यतिखेरै गरेका थिए र त्यसमा केही निर्णय पहिल्यै भइसकेको बताएका थिए । त्यसैअनुसार पहिलो परिवर्तनको रुपमा क्लबले सेटिएनलाई गुडबाई भनेको हो ।
१३ जनवरीमा बार्सिलोनाको प्रशिक्षक बनेका सेटिएनको प्रशिक्षणमा क्लबले कूल २५ खेल खेल्यो । जसमा १९ खेल ला लिगामा, ३ खेल च्याम्पियन्स लिगमा र ३ खेल कोपा डेल रेमा थियो । जसमा बार्सिलोनाले १६ खेल जितेको थियो भने ५ खेलमा पराजित भएको थियो । यस्तै ४ खेल बराबरी खेलेको थियो । ला लिगामा च्याम्पियन रियलभन्दा ५ अंक पछाडि रहँदै बार्सिलोना दोस्रो भएको थियो ।
६१ वर्षीय सेटिएनलाई बर्खास्त गरेपछि बार्सिलोनाले छिट्टै नयाँ प्रशिक्षक घोषणा गर्ने जनाएको छ । पछिल्लो विकसित घटना अनुसार क्लबकै पूर्व खेलाडी नेदरल्याण्ड्सका रोनाल्ड कोएमन बार्सिलोनाको मुख्य प्रशिक्षक बन्ने लाइनमा छन् ।
डच कोएमनले सन् १९८९ देखि १९९५ सम्म क्याम्प नोउमा खेलेका थिए । यस्तै उनले खेलाडी जीवनपछि बार्सिलोनामै लुइ भान, हालको सहायक प्रशिक्षक,को रुपमा समेत काम गरेका थिए ।
स्पानिस फुटबल एक्सपर्ट गुइलेम बालागका अनुसार कोएमनसँग बार्सिलोनासँग दुई वर्षको सम्झौता हुनेछ । टोटनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनोको नाम अगाडि रहे पनि बार्सिलोनाले कोएमनलाई नै प्रशिक्षक बनाउन लागेको बताइएको छ।
प्रतिक्रिया 4