Comments Add Comment

होटेल क्वारेन्टिनका ३५ सय कोठा रित्तै, सरकार भन्छ-नेपाली फर्काउन होटल पाइएन

२ भदौ, काठमाडौं । १५ दिन भित्र कुल ४३ उडानका लागि तयार भएको पाँचौं चरणको उद्धार उडान मंगलबारबाट अनिश्चितकालका लागि स्थगित भएको छ ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले परराष्ट्र र पर्यटन मन्त्रालयका नाममा पत्र काट्दै भनेको छ, ‘स्थानीय तहहरुले निषेधाज्ञा जारी गरेको र काठमाडौंमा क्वारिन्टनमा रुपमा होटेलको व्यवस्थापन हुन सकेन ।’

सीसीएमसीले उडान रोक्न निर्देशन दिएपछि वायुसेवा कम्पनीले यसअघि निर्धारण गरेको उडान तालीका स्थगित गरेका छन् । यसले विदेशमा अलपत्र करिब ८० हजार नेपाली घर फर्कन पाउने छैनन् ।

यसरी एक दिनमै उडान रोक्नुको पछाडि सीसीएमसीले होटेलको व्यवस्थापन हुन नसकेको उल्लेख छ ।

तर, काठमाडौंमा भने व्यवसायीले होटेल क्वारेन्टिन बनाउन सीसीएमसीलाई ३५ सय वटा कोठाको सूची नै बुझाएका छन् । होटेल संघ नेपाल (हान)का सदस्य युवराज श्रेष्ठका अनुसार हानले सीसीएसीलाई पटक पटक गरी कुल ३५ सय कोठाको सूची होटेल क्वारेन्टिन बनाउन सकिने गी बुझाइसकेको छ ।

यसका लागि होटेल तयार पनि छन् । तर होटेल व्यवस्थापन हुन नसकेको भन्दै उडान रद्द गरिएकोमा भने व्यवसायी अचम्म परेको उनले प्रतिक्रिया दिए ।

‘दैनिक ५ सयलाई ल्याउने भनिएको छ, हामीसँग अहिले नै ३५ सय कोठाको सूची तयार छ,’ उनले भने, ‘होटेलकै कारण उडान रोकिएको भन्न त मिल्दैन ।’

पर्यटन मन्त्रालय स्रोतका अनुसार होटेल व्यवस्थापन मूख्य कारण बताइएपनि विदेशबाट फर्कनेमध्ये धेरैजसो व्यक्ति सरकारले बनाएको क्वारेन्टिनमा बस्न चाहन्छन् । किनकी धेरै नेपाली अहिले विदेशमा बेखर्ची भएर बसेका छन् ।

सरकारले काठमाडौंमा सार्वजनिक क्वारेन्टिन बनाउन सकेको छैन । सोहीकारण जबर्जस्ती होटेलमा बस भन्न सक्ने अवस्था नभएपछि सरकार उडान नै रोक्ने निष्कर्षमा पुगेको हो ।

‘स्थानीय तहले जान दिन्नन्, काठमाडौंमा क्वारेन्टिन नै छैनन, होटेलमा बस्न मान्दैनन्, अनि ल्याएर मात्र के गर्ने भन्ने सोच हो की’ मन्त्रालयका एक अधिकारी भन्छन् ।

यसअघि सरकारले होटेलमा बस्नेलाई स्वेच्छिक र अन्यलाई सरकारी क्वारेन्टिनमा राख्ने गरी नेपाल फर्काइरहेको थियो । तर, १ भदौबाट भने सबैलाई काठमाडौंमा होटेलमै बस्ने गरी नयाँ निर्णय गर्‍यो । विदेशमा बेखर्ची बनेका धेरैजसो नेपालीले जबरजस्ती होटेलमा बस्न नसक्ने बताएपछि सरकार नेपालीलाई घरै नर्फकाउने निर्णयमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment