+
+
Shares
माधवप्रसाद घिमिरे :

‘साहित्यको सर्वोच्च संस्था’

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७७ भदौ २ गते २०:००

२ भदौ, काठमाडौं । २०१६ साल भदौ २९ गते लक्ष्मीप्रसाद देवकोटाको अवशानसँगै नेपाली साहित्यमा ‘अब को’ भन्ने प्रश्न नजाँनिदो किसिमले उठ्न थाल्यो । त्यसपछिका दिनमा कविता, गीत, नाटक र साहित्यका सबै विधामा माधवप्रसाद घिमिरेको उपस्थिति अग्रस्थानमा रह्यो ।

कवि बैरागी काइँला साहित्य लेख्नेहरूको लागि माधवप्रसाद घिमिरे सर्वोच्च संस्था बनेको बताउँछन् । ‘उहाँ नेपाली साहित्यको मात्र होइन नेपाली जनजीवनको सबैभन्दा उच्च स्थानमा राखिएको व्यक्ति हुनुहन्छ’, घिमिरेको निधनपछि अनलाइनखबरसँग कुरा गर्दै काइँलाले भने ‘अत्यन्तै गम्भीर प्रकृतिको साहित्य पनि उहाँले सबै जनताले बुझ्ने भाषामा लेख्नुभयो ।’

लम्जुङको पुस्तुन गाउँमा गोठाला–खेतालाहरूको विरह गाएर कविता लेख्न सुरु गरेका घिमिरेले ९० वर्ष निरन्तर कविता लेखनमा बिताए । यी वर्षहरूमा उनका नयाँनयाँ सिर्जना अविछिच्न आइरह्यो ।

सयौंको संख्यामा फुटकर कविता, खण्डकाव्य, नाटक, गीतिनाटक, निबन्ध र जीवनको उत्तराद्र्धमा ‘ऋतम्भरा’ (अप्रकाशित महाकाव्य) लेखेका घिमिरेको मुख्य कर्म नै साहित्य सिर्जना रह्यो ।

उनी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापना कालमै सदस्य भए । त्यसपछि त्यहाँ उपकूलपति, कूलपति भए । त्रिभुवन विश्वविद्यालयले २०७२ सालमा उनलाई मानार्थ महाविद्यावारिधिको उपाधि दिएको छ ।

समालोचक तारानाथ शर्मा विश्वस्तरको साहित्यकार मान्छन् । शर्मा भन्छन् ‘मुख्यगरी काव्यमा सिद्धहस्त मानिएका घिमिरेको कल्पनाशीलता र सिर्जनशीलताले उहाँलाई सर्वत्र चिनाएको छ ।’

कवि एवं लोकसंस्कृतिविद् तुलसी दिवस घिमिरेको निधनले साहित्यको एउटा परिच्छेद टुटेको बताउँछन् । दिवसका अनुसार लोकछन्द र शास्त्रीय छन्दका सिद्धहस्त कवि घिमिरेको ‘कवितामा गीत’ र ‘गीतमा कविता’ भेटिन्छ ।

दिवस भन्छन्– ‘घिमिरेको कवितामा नेपाली प्रकृतिको मात्र बयान नगरेर नेपाली भाव, गुञ्जन र साझा संस्कृतिको चित्रण गरिएको हुन्छ ।’

जीवनकालभरि आफूलाई सिर्जनशील बनाउन सक्नु नै घिमिरेको जीवनको सबैभन्दा सुन्दर पक्ष रहेको बताउँछन् दिवस ।

कवि श्रवण मुकारुङ आफूले बाल्यकाल छँदै माधवप्रसाद घिमिरेको गौरी शोककाव्य पढेको स्मरण गर्छन् । ‘आज पनि मलाई गौरीका अधिकांश श्लोक कण्ठ छ’ मुकारुङ भन्छन् ‘नेपाली सौन्दर्यलाई साहित्यमा जोड्ने महान् प्रतिभाको अवशान दु:खदायी छ ।’

मुकारुङका अनुसार विचार आआफ्नै भएनि घिमिरेको कविताको शिल्पकारिता विश्वस्तरको छ । समयचक्रमा धेरै साहित्यकार हराएर जाने सत्यलाई चुनौती दिन सक्ने नेपाली कवि माधव घिमिरे नै रहेको मुकारुङ बताउँछन् ।

माधवप्रसाद घिमिरेको पहिलो कविता संग्रहको आवरण ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहेका कवि बैरागी काइँलाका अनुसार घिमिरेको ‘अश्वस्थामा’ खण्डकाव्य विश्वस्तरको रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले २०५५ सालमा नोबेल पुरस्कारको लागि सिफारिस गरेको यो कृतिमा जीवन–मृत्युको सर्वश्रेष्ठ काव्य प्रवाहित भएको मानिन्छ ।

‘हामीले भानुभक्त, मोतिराम, देवकोटा देखेनौं, नदेखेका ती सबै कवि माधव घिमिरेमा देखेको छु’ कवि विष्णुविभु घिमिरे भन्छन् ‘शास्त्रीय छन्दको कविताका शिखर व्यक्तित्व घिमिरेमा अघिल्ला नेपाली कविहरूको विरासत समेत जोडिएर आउँछ ।

विष्णुविभुका अनुसार नेपाली संस्कृतिअनुसार माधव घिमिरेको उपस्थितिले नेपाली जातिको गौरव चुलिएको थियो । तर उनको अवशानसँगै केही अमूल्य कुरा गुमाएजस्तो महसुस भएको उनी बताउँछन् । विष्णुविभु थप्छन्, ‘एक दुईसय वर्षमा एकचोटी मात्र आउने प्रतिभाको रुपमा मैले राष्ट्रकविलाई हरेको छु । यसैले उहाँको महत्त्व भानुभक्त, देवकोटा, लेखनाथकोझैं सर्वोच्च स्थानमा रहेको छ ।’

१४ वर्षकै उमेरमा ‘ज्ञानपुष्प’ कविता गोरखापत्रमा प्रकाशित गराएका घिमिरेको पहिलो पुस्तक ‘नवमञ्जरी’ हो । वि.सं १९९४ मा सुब्बा डिल्लीजंग लामिछाने गुरुङले प्रकाशन गरेको यो कवितासंग्रहसँगै माधवप्रसाद घिमिरे नेपाली कविताको केन्द्रमा रहे ।

आफ्नो काव्यमोहबारे घिमिरेले भनेका छन्– ‘बाल्यकालमा मलाई कविता मान्छेले होइन ईश्वरले लेख्छन् होला भन्ने लाग्थ्यो । पछि लेखनाथका कविता पढेपछि, ए होइन मान्छेले नै लेख्ने रहेछ भन्ने थाहा भएपछि मभित्र कविताको ज्वार छुट्यो ।’

पहिला ‘उपदेश–मञ्जरी’का कवि तीर्थराज पाँडे र पछि लेखनाथका कविताले कविता लेख्ने प्रेरणा दिएको उनी स्वीकार्छन् ।

माधवप्रसाद घिमिरेको पहिलो रेकर्डेड गीत ‘झमझम पानी पर्‍यो असारको रात’ थियो । मास्टर रत्नदासले गाएको यो गीतसँगै घिमिरेका गीत रेकर्ड हुन थाले । उनले बालगीत, शोकगीत, चलचित्र गीत रचना गरेका छन् ।

माधवप्रसाद घिमिरेसँग सहकार्य गरेका गीतकार यादव खरेल माधवप्रसाद घिमिरेलाई सदाबहार तथा सर्वश्रेष्ठ गीतकार रहेको बताउँछन् । ३० को दशकमा शाही नेपाली चलचित्र संस्थानमा सँगै काम गरेको र त्यही बेला ‘फूलको थुंगा बगेर गयो’ गीत लेखेको सम्झिन्छन् ।

खरेल भन्छन्, ‘गाउँछ गीत नेपाली र नेपाली हामी रहौंला कहाँ भन्ने दुई गीत राष्ट्रगानजत्तिकै चर्चित रह्यो । मालती मंगले, पापिनी आमालगायत गीति नाटकका गीतले पनि उहाँले हजारौं श्रोताको मन छोएको छ ।’

‘म आफैं गीत लेख्ने भएकाले माधव घिमिरे मेरो लागि सधैं प्रेरणा दिने सर्वोच्च गीतकार हुनुुहुन्छ’ खरेलले भने ।

अर्का गीतकार राजेन्द्र थापा झ्याउरे छन्दमा लेखिएका घिमिरेका गीत हरेक नेपालीको मनमा बस्न सफल भएको बताउँछन् । उनी भन्छन्, ‘अनुभूति र ग्रामीण बिम्बलाई च्वास्स छुने अभिव्यक्ति चार लाइनकै गीतमा दिन सक्नु घिमिरेको विशेषता हो । मान्छेका दुःखलाई पनि उत्साहमा ढालेर गीत लेख्न सक्ने गीतकार माधव घिमिरे नै हुनुहुन्छ ।’

घिमिरे स्वयं पनि आफूलाई जीवनको गीत सुसेल्ने गायक मान्थे । भाका हालेर कविता लेख्ने र त्यसलाई गुनगुनाउन मन पराउने उनले महाकवि देवकोटाको निधन भएको भोलिपल्ट मृत्युमाथि एउटा गीत लेखे । त्यही गीतले भनेझैं मृत्यु पनि उत्सव हो भनेर स्वीकार्दै घिमिरे आज साँझ ६ बजे अस्ताए–

जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?