Comments Add Comment

हतियार र लागुऔषध कारोबारका मस्ट वान्टेड बग्गा पक्राउ

७ भदौ, विराटनगर । प्रहरीले हतियार तथा लागूऔषध कारोबार गर्ने गिरोहका नाइके बग्गा बनिने प्रदीप यादवलाई पक्राउ गरेको छ ।

भारतको अररियाबाट नेपालको पूर्वी तराईका जिल्लामा लागूऔषध र हतियार कारोबार गर्ने गिरोहका नाइके बग्गा प्रहरीको मस्ट वाण्टेड सूचीमा थिए ।

शनिबार दिउँसो साढे ४ बजे घर मिलाउन विराटनगर आएका बग्गालाई प्रहरीले विराटनगर महानगरपालिका–१६ दरैयाबाट लागूऔषधसहित पक्राउ गरेको मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । उनको साथबाट डाइलेक्स डिसी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की बरामद भएको भएको छ ।

भारत बिहारको इन्द्रनगर ग्राम पञ्चायत– १० बस्ने ३९ वर्षका बग्गासँग जोडिएको दुई वटा हातहतियार तथा लागूऔषध मुद्धार मोरङमा विचाराधीन छ ।

प्रहरी नायव उपरीक्षक राईका अनुसार पूर्वी तराईमा हुने अधिकांश लागूऔषध र हतियार कारोबार बग्गाको हात छ । बग्गा पक्राउ परेपछि पूर्व क्षेत्रमा लागूऔषध र हातहतियारको कारोबार आधा घट्ने उनले बताए ।

नाकामा प्रहरीसँग घम्साघम्सी

शनिबार मध्यान्न नेपाल प्रवेश गरेका यादवसँग प्रहरीको विराटनगर– १६ दरैयामा जम्काभेट भएको थियो । प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोजेका उनलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

पक्राउ गर्ने क्रममा एकजना प्रहरी हवल्दार सामान्य घाइते भएका छन् । घम्साघम्सी हुँदा बग्गाको शरीरमा सामान्य चोट लागेको प्रहरीको भनाइ छ । पक्राउ गर्नेक्रममा भाग्न खोजेपछि सामान्य बल प्रयोग भएको प्रहरी नायव उपरीक्षक राईले बताए ।

एक सातामा दुईवटा हतियार कारोबार

२०७५ मंसिर ३ र ८ गते बग्गाले हतियारसहित पठाएका भरिया विराटनगरबाट पक्राउ परेका थिए ।

३ मंसिरमा विराटनगर– १६ बाट उदयपुरको उदयपुरगढी गाउँपालिका– १९ का मन्दिप तामाङ, सुनसरीको इटहरी उपमहानगरपालिका– १२ का ३५ वर्षका सुशीलकुमार साहु पेस्तोल र चार राउण्ड गोलीसहित पक्राउ परे ।

भारतबाट बग्गाले पठाएको हतियार लिएर आउँदै गर्दा उनीहरु पक्राउ परेको प्रहरीको दाबी छ । लगत्तै ८ मंसिरमा विराटनगर बसपार्कबाट दुई जना भरिया र पेस्तोल बुझ्न काठमाडौंबाट आएका अर्का भरिया पक्राउ परेका थिए ।

प्रदीपले पेस्तोल र लागूऔषध विराटनगर – १६ का २२ वर्षका विद्यानन्द मण्डल र २० वर्षका अनुप गिरीको पेटमा टेपले बाँधेर १०५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर, ३८० एम्पुल लागूऔषध, कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने दुई राउण्ड गोली पठाएका थिए ।

विराटनगर वसपार्कबाट हतियार लिन आएका सुनसरी धरान घर भई ललितपुर– एकान्तकुनामा बस्दै आएका ४१ वर्षका रुपम राईसहित दुईजना भरिया पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment