+
+
Shares

दाङमा मृत्यु भएका प्युठानका पुरुषको रिपोर्ट नेगेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ७ गते १७:१७

७ भदौ, काठमाडौं । दाङमा मृत्यु भएका प्युठानका एक पुरुषको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । रिपोर्ट नेगेटिभ आएसँगै उनको आइतबार नै  प्यूठानमा अन्त्येष्टि गरिएको छ ।

दाङ सदरमुकाम घोराहीस्थित एक होटल (चिया–नास्ता पसल)मा काम गर्ने प्यूठानको ऐरावती गाउँपालिका–५ गोटिवाङ निवासी ४० वर्षीय विनोद भण्डारीको शनिबार अपराह्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

उनको स्वाब संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमै कोरोना परीक्षण गर्दा आज (आइतबार) विहान नेगेटिभ रिपोर्ट आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी सुमित खड्काले जानकारी दिए ।

डीएसपी खड्काले भने, ‘उनको डेथ भएपछि हामीले होटल पनि सिल गरेका थियौं, आज विहान रिपोर्ट नेगेटिभ आएपछि होटल खोलिदिएका छौं ।’

ऐरावती गाउँपालिकाका अध्यक्ष नविलविक्रम शाहका अनुसार भण्डारी दुई महिनाअघि भारतबाट प्युठानस्थित घर आएका थिए । उनलाई ऐरावती गाउँपालिकाले स्थानीय जनकल्याण प्राविको क्वारेन्टिनमा राखेको थियो । कोरोनाको कुनै लक्षण नदेखिएपछि उनीलाई घर जान दिइयो ।

‘क्वारेन्टिनबाट घर गएपछि केही दिन उनी प्यूठानमै रहेका आफन्त र ससुरालीको घरमा बसे,’ गाउँपालिका अध्यक्ष शाहले अनलाइनखबरसँग भने, ‘त्यसपछि ससुरालीले सालाहरुले घोराहीमा चलाएको होटलमा काम गर्न जान भनेपछि उनी दाङ गएका थिए ।’ अध्यक्ष शाहका अनुसार उनी मिर्गौलाको बिरामी थिए ।

घोराहीमा काम गर्दागर्दै उनी बिरामी परे । श्वासप्रश्वासमा पनि समस्या देखिएपछि उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । प्रतिष्ठानमा उपचार गर्दागर्दै शनिबार उनको मृत्यु भएको थियो ।

प्रतिष्ठानमा भेन्टिलेटर मेसिन भए पनि जनशक्ति नभएको भन्दै प्रयोगमा ल्याइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?