Comments Add Comment

कोरोना संक्रमणबाट एक सातामा ५२ जनाको मृत्यु

७ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार रुपन्देहीमा ३ जना, झापा, सुनसरी, धनुषा सर्लाही र पर्सामा एकएक जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको छ ।

यससँगै मृतकको संख्या १५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभरमा गरी १३७ जना संक्रमित आईसीयूमा छन् भने १० जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।

  • सुनसरीको धरान– ८ का ६८ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । २९ साउनमा कोरोना पुष्टि भएका उनको ३० गतेबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको थियो । प्लाज्मा थेरापी समेत गरिएका उनको आइतबार बेलुकी मृत्यु भएको छ ।
  • झापाका ५८ वर्षका पुरुषको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ । ९ दिन अगाडि कोरोना पुष्टि भएका उनको ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
  • धनुषाको जनकपुरधाम–२० रुपैठाका ५८ बर्षीय पुरुषको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको छ । उनको ३ गते स्वाब संकलन गरिएको थियो, तर रिपोर्ट नआउँदै मृत्यु भएको थियो ।
  • सर्लाहीको लालबन्दीकी ३३ वर्षीया महिलाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । एक साताअघि ज्वरो आएर स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि चितवन लगिएकी उनलाई अस्पतालले भर्ना लिन नमानेपछि काठमाडौं लगिएको थियो ।
  • रुपन्देहीको बुटवल–१ का ६७ वर्षीया महिलाको बुटवल कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । ३१ साउनमा कोरोना पुष्टि भएको उनको भेन्टिलेटरमा उपचारका क्रममा आइतबार मृत्यु भएको छ ।
  • रुपन्देहीकै समरीमाई गाउँपालिका–२ का ३८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएपछिद्ध उनलाई १ गते भर्ना गरिएको थियो ।
  • रुपन्देहीकै रोहिणी गाउँपालिका–३, धकधईका ५३ वर्षीय पुरुषको मृत्यु भएको छ । उपचारका लागि भारत लैजाने क्रममा बाटैमा मृत्यु भएको र, शव नेपाल ल्याएर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ ।
  • पर्साको वीरगञ्ज–११ की ५६ वर्षीया महिलाको कोरोना अस्पताल वीरगञ्ज हेल्थकेयरमा मृत्यु भएको छ । २४ साउनमा कोरोना पुष्टि भएकी उनको आईसीयूमा उपचार भइरहेको थियो । स्वास्थ्यमा समस्या बढेपछि पछिल्लो १२ घण्टा भेल्टिलेटरमा राखेपनि बचाउन सकिएन ।

किन बढिरहेको छ मृत्यु ?

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पहिलो मृत्यु जेठ ३ गते पुष्टि भएको थियो । साउन महिनामा मृत्युदर बढ्यो । र, भदौमा मृत्युको ग्राफ अझ उकालो लागेको छ ।

साउन ३२ गतेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ थियो । भदौ ७ गते यो संख्या बढेर १५६ पुगेको छ । अर्थात भदौ महिनाको सुरुवाती ७ दिनमा मात्र कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ५२ पुगेको छ ।

संक्रमक रोग बिशेषज्ञ डा. अनुप सुवेदी अहिले भइरहको मृत्यु कम्तिमा पनि तीन हप्ता अगाडि फैलिएको कोरोना संक्रमणको रिजल्ट भएको बताउँछन् । उनका अनुसार समुदायमा जुन स्तरमा संक्रमण फैलिएको छ, त्यो लेभलमा टेष्ट र कन्ट्याक ट्रेसिङ हुन सकेको छैन । ‘महामारी नियन्त्रणका लागि हामीले गरेको प्रयास अनुसार संक्रमित र मृत्युदर बढ्नु स्वभाविक हो’ उनले भने ।

जनस्वास्थ्य विज्ञहरुका अनुसार एक जनामा संक्रमितले उसको सम्पर्कमा आएको ५÷७ जनालाई संक्रमण सारेको हुनसक्छ । त्यो संक्रमितलाई पत्ता लगाएर उसको सम्पर्कमा आएकाहरुको परीक्षण गर्ने, संक्रमितलाई पत्ता लगाउने र आइसोलेट गर्ने काम जति छिटो हुनसक्यो, त्यही महामारी नियन्त्रण गर्न सम्भव हुन्छ । डा. सुवेदी भन्छन्, हामीले अझै त्यसअनुसार गर्न सकेको छैनौं ।’

पछिल्लो समय जिल्ला जिल्लामा निषेधाज्ञा लगाइएको छ । तर यो अवधिमा समुदायमा भएको सम्भावित संक्रमितको पहिचान गर्ने काम जसरी हुनपर्ने हो, त्यो भएको छैन । भित्रभित्रै फैलिएको संक्रमणलाई समुदायमा पुग्नबाट रोक्न सकिएन भने पनि मृत्युदर अझै बढ्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

डा. सुदेवीका अनुसार कोरोना संक्रमणबाट भएको मृत्युको बढ्दो दरसँग अस्पतालहरुको क्रिकिटल केयरको क्षमताको पनि सम्बन्ध छ । अहिलेसम्म क्रिकिटर केयरमा सबैभन्दा निजी अस्पतालहरुलाई दिएको छ भन्दा फरक नहुने अवस्था छ । कोरोना संक्रमण देखिएपछि पनि सरकारले यसमा खासै काम गरेको छैन ।

क्रिटिकल केयरमा काम गर्ने जनशक्ति रातारात थप गर्न सकिँदैन । तर भएकै जनशक्तिहरुको प्रशिक्षित गर्ने र काठमाडौंमा उपलब्ध जनशक्तिको प्रत्यक्ष निगरानीमा देशभरका प्रमुख अस्पतालहरुमा संक्रमितको उपचार गर्ने व्यवस्था गर्न सकिने जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् । त्यो पनि भएको छैन ।

८१८ संक्रमित थपिए

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र २६६ जनासहित ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३१ हजार ३१ हजार ९३५ पुगेको छ । उनीहरुमध्ये १८ हजार ६३१ जना निको भइसकेका छन् भने १३ हजार १५५ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment