Comments Add Comment
शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन :

‘नेपाल फर्किँदा हवाई टिकट र होटल खर्च नलेऊ’

९ भदौ, काठमाडौ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विदेशमा अप्ठेरोमा परेर फर्किने नेपालीसँग हवाई टिकट र क्वारेन्टिन खर्च नलिन सरकारलाई निर्देशन दिएको छ ।

‘विदेशबाट आएका नेपाली कामदारलाई क्वारेन्टिन, खाना बस्नेको व्यवस्था सरकारले गर्नुपर्ने’ मंगलबार समितिले दिएको निर्देशनमा भनिएको छ, ‘खाडी राष्ट्रमा भिसा अवधि समाप्त भई अलपत्र परिरहेका, टिकट किन्न नसक्नेहरुलाई सरकारले टिकटको व्यवस्था गरी समयमा नै नेपाल फर्काउने व्यवस्था मिलाउनुपर्ने ।’

मंगलबार प्रविधिको प्रयोगमार्फत भएको बैठकमा सांसदहरुले स्वदेश फर्किनेले आफैँ टिकट खर्च बेहोर्नुपर्ने र आइसकेपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारको निर्णय उचित नरहेको धारणा राखे ।

प्रमुख विपक्षी कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले सरकारले आफ्नै नागरिकलाई दुईथरी व्यवहार गरेको आरोप लगाए । ‘केही देशका साथीहरुलाई फ्रिमा लिएर आयौं । फ्रिमा क्वारेन्टाइन्मा राख्यौं । तर, रेमिट्यान्स दिलाउनेहरु ७ दिन आफ्नै खर्चमा बस्नुपर्ने ?’ विश्वकर्माले प्रश्न गरे ।

उनले चीनबाट नेपाली विद्यार्थीलाई निशुल्क उद्धार गरेको उदाहरण दिएर अहिले पनि निशुल्क फिर्ता ल्याउनुपर्ने बताएका हुन् ।

सिधै घर नपठाउन सुझाव

सांसदहरुले विदेशबाट फर्किनेहरुलाई सिधै घर नपठाउन पनि सरकारलाई सुझाव दिएका छन् । सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्यमन्त्री योगेश भट्टराईले विदेशबाट फर्किनेहरु पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रमाण भए सिधै घर जान दिने बताएका थिए ।

तर सांसदहरुले त्यसले समुदायमा कोरोना फैलिने जोखिम हुने बताए । ‘विदेशबाट आउनेलाई जोसुकै होस, कम्तीमा हप्ता क्वारेन्टिन राख्नैपर्छ’ जनता समाजवादीका सांसद सुरेन्द्र यादवले भने ।

समिति सभापति जयपुरी घर्तीले पनि विदेशबाट आउनेको व्यवस्थापनमा समस्या रहेको बताइन् । ‘स्थानीय तहसँग समन्वय गरेर पठाउने काम अहिले पनि भइरहेको छ तर, अव्यवस्थित देखिन्छ’ घर्तीले बैठकमा भनिन्, ‘विदेशबाट आउनेलाई घर पठाउने कुरालाई व्यवस्थित गरेर जान जरुरी छ ।’

उपत्यकामा होम आइसोलेसनमा नराख्नू

शिक्षा तथा स्वास्थ्य समितिले काठमाडौंका कोरोना संक्रमितलाई घर (होम आइसोलेसन) मा नराख्न पनि निर्देशन दिएको छ ।

‘संक्रमित व्यक्तिलाई आफ्नै घरमा आइसोलेसनमा राख्ने कार्यलेसंक्रमणको अवस्थालाई नियन्त्रण भन्दा झनै परिवार र परिवारबाट टोल, समुदायमा सर्ने अवस्था भएको हुुँदा सरकारले नै पर्याप्त आइसोलेसन केन्द्रहरु व्यवस्थापन गर्नुपर्ने’ समितिको जारी गरेको निर्देशनमा उल्लेख छ ।

काठमाडौं उपत्यकामा हालैका दिनहरुमा देखा परिरहेको संक्रमितको संख्याले स्थिति भयावह बन्दै गइरहेको समितिले निश्कर्ष निकालेको छ । स्थिति भयावह हुन नदिन कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन र संक्रमितलाई आइसोलेसन सेन्टरमा राख्न समितिले निर्देशन दिएको छ ।

नेकपा सांसद जीवनराम श्रेष्ठ र सरिता न्यौपानेले उपत्यकामा होम आइसोलेसनमा राख्न निरुत्साहित गर्नुपर्ने बताए । ‘मान्छे एउटा, दुईटा कोठा लिएर बसिरहेका हुन्छन् । शौचालयको व्यवस्था हुँदैन । त्यस्ता ठाउँमा संक्रमितलाई होम आइसोलेसनमा राख्दा उनीहरुको स्वास्थ्य अवस्था कस्तो छ भन्ने रेकर्ड कसले लिने हो ?’ उनले प्रश्न गरिन् ।

परीक्षणको रिपोर्ट यथाशीघ्र दिनू

समितिले कोरोना संक्रमण परीक्षण गराउनेलाई यथाशीघ्र रिपोर्ट दिन पनि निर्देशन दिएको छ ।सांसदहरुले पीसीआर रिपोर्ट आउन १३ दिनसम्म कुर्नुपरेको बताएका थिए ।

सभापति जयपुरी घर्तीले कम्तीमा २४ घण्टाभित्र पीसीआर रिपोर्ट इमेल, फोन अथवा भाइबरबाट भए पनि उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने बताइन् । समितिले जटिल समस्या देखिएका कोरोना संक्रमितलाई अक्सिजनसहितको उपचारको व्यवस्था मिलाउन, संक्रमितलाई स्वास्थ्यवर्धक र सन्तुलित आहारको प्रबन्ध गिर्न पनि निर्देशन दिएको छ ।

सबै जिल्लाहरुमा भेन्टिलेटर र आईसीयूको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

पसलमा भीड हुन नदेऊ

समितिले बिहान बेलुकी खुल्ने अत्यावश्यक सामान बिक्री गर्ने पसलमा भीड हुन नदिन पनि निर्देशन दिएको छ । सर्वसाधारणलाई तरकारी तथा खाद्यान्न किन्न टोल टोलमा साना पसल खोल्ने व्यवस्था गरी एकैपटक भीड हुने स्थितिलाई अन्त्य गर्न समितिले भनेको छ ।

समितिले स्वास्थ्यकर्मीप्रति दुव्र्यहार गर्नेलाई कडा कारवाही गर्न निर्देशन दिएको छ । स्वास्थ्यकर्मीको सुरक्षा प्रबन्ध मिलाउन र उनीहरुको खाना र बसोबासको व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ ।

उपसमिति गठन

समितिले कोरोना भाइरसको जोखिम न्युनीकरण र रोकथाममा सरकारले गरेका कामको अनुगमन गर्न उपसमिति गठन गरेको छ । उपसमितिले संक्रमण रोकथामका लागि सरकारले गरेका कामको अनुगमन गरी सुझाव पनि दिनेछ ।

समिति सभापति घर्तीले उपसमितिको म्याद कोरोना भाइरसको महामारी अन्त्य नहुँदासम्म रहने बताइन् ।

उपसमितिमा सांसदहरु जीवनराम श्रेष्ठ, सन्तकुमार थारु, अञ्जना विशंखे, सरीता न्यौपाने, एकवाल मियाँ र नमिता चौधरी र तिलबहादुर महत सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment