Comments Add Comment

‘१० प्रतिशतमा खुम्चियो लघुवित्तको कारोबार, निक्षेप भने बढ्यो’

१० भदौं, काठमाडौं । कोरोना महामारीपछि लघुवित्त वित्तीय संस्थाहरुको कर्जा लगानी सुस्ताएको छ । तर, निक्षेप संकलन भने अनपेक्षितरुपमा बढेको छ ।

लघुवित्त वित्तीय संस्थाहरुको कर्जा लगानी २५ प्रतिशतसम्म घटेको लक्ष्मी लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले बताए । अहिले लघुवित्तको कारोबार १५ प्रतिशत भन्दा तल रहेको उनको भनाइ छ । अहिले लघुवित्तका ग्रामीण भेगमा अवस्थित केही शाखा कार्यालयहरु मात्रै सञ्चालनमा छन् ।

‘जहाँ कोरोनाको जोखिम छैन, त्यहाँका मात्रै शाखा सञ्चालनमा छन्, अन्त त प्राय बन्द अवस्थामा नै छन् भन्दा पनि हुन्छ’ उनले भने, ‘ती शाखाको कारोबार हेर्दा १० देखि १५ प्रतिशत मात्रै हुन आउँछ ।’

कोरोना महामारीपछि लघुवित्तहरुको कर्जा लगानी २० देखि २५ प्रतिशतसम्म घटेको सीईओ शर्माको अनुमान छ । उता निक्षेप भने अनपेक्षित तरिकारले बढेको उनले बताए । कर्जा लगानी करिब २५ प्रतिशतले घट्दा निक्षेप भने १५ प्रतिशत हाराहारीमा बढेको उनले जानकारी दिए ।

निक्षेप बढ्नुको कारण रेमिट्यान्स

सीईओ शर्मा निक्षेप बढ्नुको एउटा कारण वैदेशिक रोजगारीमा गएकाहरुले पठाएको रेमिट्यान्स भएको बताउछन् । विश्व बैंकले कोभिड–१९ को महामारी सुरु हुनासाथै नेपाल आउने रेमिट्यान्समा यस वर्ष १४ प्रतिशतसम्म गिरावट आउन सक्ने भनेको थियो । नेपाल राष्ट्र बैंकले पनि ५ देखि १० प्रतिशतशसम्म रेमिट्यान्स आप्रवाह घट्ने अनुमान गरेको थियो ।

तर, रेमिट्यान्स आप्रवाहमा आर्थिक वर्ष २०७६/७७ मा ०.५ प्रतिशतको मात्रै गिरावट आयो । आर्थिक वर्ष २०७५/७६ मा १६.५ प्रतिशतले बढेको रेमिट्यान्स गत आर्थिक वर्ष २०७६÷७७ मा ०.५ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । जुन अपेक्षित भन्दा राम्रो अंक हो । राष्ट्र बैंकका अनुसार कोरोना भाइरसको असरकाबीच ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल आएको छ ।

रेमिट्यान्स धेरै नघटेका कारण पनि निक्षेपमा सुधार भएको उनले सीईओ शर्माको तर्क छ । अर्को कारण भने बैंकहरुमा तरलता बढ्नु हो ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले ४ महिना देशभर पूर्ण लकडाउन गर्यो । अहिले पनि काठमाडौं उपत्यकासहितका धेरै जिल्लाहरु बन्द नै छन् । लामो समय लकडाउन भए पनि महामारी तत्कालै नियन्त्रण हुने सम्भावना देखिएको छैन । नियन्त्रणको सट्टा दिनप्रतिदिन जोखिम बढ्दो अवस्थामा छ ।

कोरोनाका कारण मुलुकको अर्थतन्त्रलाई नकारात्मक असर परेको छ । आन्तरिक उत्पादनसँगै रेमिट्यान्समा पनि गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थाहरुको मूनाफा घटेको छ । निकै अप्ठेरो अवस्था भए पनि बैंकहरुले भने सेवा सुचारु नै राखेका छन् ।

नेपाल राष्ट्र बैंकले नियमन तथा सुपरीवेक्षण गर्ने नेपालमा ४ किसिमका बैंक तथा वित्तीय संस्थाहरु छन् । पूर्ण लकडाउन हुँदा पनि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक वित्तहरुले सेवा शुचारु नै राखे । खासगरी बैंकहरुले थोरै कर्मचारीहरु राखेर पालैपालो सिमित शाखाहरु सञ्चालन गरेर सेवा दिए ।

तर राष्ट्र बैंकले नै नियमन गर्ने ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुले पनि यसरी सेवा दिन निकै गाह्रो छ । ग्रामीण भेगका विपन्न वर्गलाई सेवा दिने मूख्य उद्देश्य रहेका यि संस्थाहरु गाउँ–गाउँमा पुगेका छन् । बैंकमा जस्तो सहरका एकै चोकमा धेरै शाखा यी संस्थाहरुका छैनन् ।

अत्यावश्यक क्षेत्रमा पर्ने भए पनि ठूला बैंकले जस्तो महामारीमा यी बैंकले यसरी शाखा खोलेर सेवा दिन सक्दैनन् । टाढा–टाढा शाखा हुने भएका कारण एउटा बन्द भए अर्को शाखामा गएर सेवा लिन सर्वसाधारणलाई निकै कठिन पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment