Comments Add Comment

मेस्सीका १० क्षण : म्याराडोना बिर्साउने गोलदेखि ला लिगा किर्तिमानसम्म

के लियोनल मेसीले बार्सिलोनाका लागि अन्तिम गोल गरिसके ?

१० भदौ, काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले बार्सिलोना क्लव छोड्ने इच्छा व्यक्त गर्दै मंगलबार पत्र लेखे । यसको अर्थ नोउ क्याम्पमा १६ वर्षको करियर, जसमा उनले ३४ ट्रफीहरु र ६३४ गोल हासिल गरे, टुंग्याउन उनी तयार भएका छन् ।

बार्सिलोनामा खेल्दा ६ पटक बालोन डे ओर अवार्डसँगै मेस्सीको केही विलक्षण उपलब्धीहरु छन् । गत समरमा बीबीसीले बार्सिलोना र अर्जेन्टिनाका लागि मेस्सीको १० उत्कृष्ट क्षण सार्वजनिक गर्दै त्यसलाई क्रमैसँग राख्न भनेको थियो । पाठकहरुकै मतका आधारमा बीबीसीले त्यसलाई १ देखि १० सम्म क्रमबद्ध रुपमा राखेको छ ।

१. एकै वर्ष ९१ गोल

मेस्सीले सन् २०१२ को एकै वर्ष कीर्तिमानी ९१ गोल गरेका थिए । जसमा उनले ७९ गोल बार्सिलोनाका लागि र १२ गोल अर्जेन्टिनाका लागि गरेका थिए ।

त्यही उपलब्धीले गर्दा मेस्सीले लगातार चौथो पटक बालोन डे ओर प्राप्त गरेका थिए । यद्यपी यी सबै गोलमार्फत उनले २०१२ मा कोपा डेल रे मात्र जिते ।

२. पहिलो ह्याट्रिक

मेस्सीको पहिलो ह्याट्रिक क्लव फुटबलकै ठूलो खेलमा भएको थियो । टिनएजर मेस्सीले सन् २००७ को एलक्लासिकोमा बार्सिलोनाका लागि सबै ३ गोल गरेका थिए र त्यो नोउ क्याम्पमा पहिलो थियो । अन्तिम मिनेटमा उनले केही डिफेन्डरहरुलाई बिट गर्दै गोल गरेका थिए । उक्त खेल ३–३ को बराबरीमा सकिएको थियो । त्यही क्षणले गर्दा नै उनी घर–घरमा चिनिने भएका थिए ।

३. सर्वोत्कृष्ट गोल

१३ वर्षअघि कोपा डेल रेको सेमिफाइनल पहिलो लेगमा मेस्सीले गरेको गोल सम्भवत अहिलेसम्मकै उत्कृष्ट मानिन्छ । यो गोल सन् १९८६ को विश्वकपमा डिएगो म्याराडोनाले इंग्ल्याण्ड विरुद्ध गरेको एकल गोल जस्तै थियो ।

मेस्सीले गेटाफेविरुद्ध मैदानमा आफ्नै भागबाट बल लिएर पाँच डिफेण्डर छलाएर गोलकिपरलाई बिट गर्दै एकल प्रयासमा गोल गरेका थिए ।

४. च्याम्पियन्स लिग फाइनलमा पहिलो गोल

कुनै समय थियो, मानिसहरु प्रश्न गर्थे के मेस्सीले युरोपमा इंग्लिस क्लब विरुद्ध गोल गर्न सक्छन् ? उनले २००९ को फाइनलअघि १० पटक इंग्लिस क्लब विरुद्ध गोल गर्न सकेका थिएनन् । तर मेस्सीले जाभीको क्रसमा सन् २००९ को फाइनलमा म्यानचेष्टर युनाइटेड विरुद्ध गोल गरे । पहिलो पटक त्यो खेल मेस्सी भर्सेस क्रिस्टियानो रोनाल्डोको रुपमा चर्चित भएको थियो ।

५. बार्सिलोनाको गोल स्कोरिङ रेकर्ड

मेस्सीले सन् २०१२ मा २४ वर्षको उमेरमा बार्सिलोनाका लागि धेरै गोल गर्ने किर्तिमान तोडे । उनले ग्रानडा विरुद्ध खेलमा ह्याट्रिक गर्दै उक्त उपलब्धी हात पारेका थिए । उनले पहिलो गोल गर्दै सेजार रोड्रिगेजको २३२ गोलको कीर्तिमान बराबरी गरे । त्यसपछि दोस्रो गोल गर्दै कीर्तिमान तोडे र तेस्रो गोल गर्दै कीर्तिमान समेत बनाए ।

६. ५०० औँ गोल एल क्लासिकोमा

मेस्सीले सन् २०१७ मा रियल मड्रिड विरुद्धको एल क्लासिकोमा ५ सयौँ गोल पूरा गरे । उक्त खेलको नतिजा बार्सिलोनाको पक्षमा थियो । एल क्लासिको जित, बार्सिलोनाको लागि ५०० गोल र बार्सा अंक तालिकामा शीर्ष स्थानमा । उनले आफ्नो जर्सी खोलेर आइकोनिक सेलिब्रेसन गरेका थिए ।

७. छैटौं पटक बालो डे ओर अवार्ड

मेस्सीले गत डिसेम्बरमा कीर्तिमानी छैटौं बालोन डे ओर अवार्ड जिते । २०१८÷१९ को सिजनमा देश र क्लबका लागि ५४ गोल गरेपछि उनले ५ पटक अवार्ड जितेका रोनाल्डोलाई पछि पारे । अवार्ड ग्रहण गर्दै मेस्सीले आफ्नोअघि अझै राम्रो वर्षहरु भएको प्रतिक्रिया दिएका थिए ।

८. ला लिगा कीर्तिमान

मेस्सीले सन् २०१४ मा सेभिया विरुद्ध ५–१ को जितमा ह्याट्रिक गरे । उनले टेल्मो जाराको नाममा रहेको २५१ गोलको कीर्तिमान फ्रिकिक गोल मार्फत बराबरी गरे । त्यसपछि उनले अर्को गोल गर्दै कीर्तिमान तोडे, अनि तेस्रो गोल पनि गरे ।

मेस्सीले अहिले ४४४ ला लिगा गोल गरेका छन्, जुन करिब पुरानो कीर्तिमान भन्दा २०० गोलले माथि छ । रोनाल्डोले रियल मड्रिडका लागि ३११ गोल गरेका छन् ।

९. आर्सनल विरुद्ध ४ गोल

सन् २०१० मा आर्सनल विरुद्ध बार्सिलोनाले ४–१ को जित हात पार्दा मेस्सी एक्लैले सबै चार गोल गरे । एक गोलले पछि परेरको अवस्थामा मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरेका थिए । दुई लेगको क्वाटरफाइनलमा बार्सिलोना ६–३ ले विजी हुँदै सेमिफाइनल पुगेको थियो ।

उनले आफ्नो करियरमा पहिलो पटक एकै खेलमा चार गोल गरेका हुन् । मेस्सीले त्यसको दुई वर्षपछि जर्मन क्लब बायर्न लेभरकुजन विरुद्ध च्याम्पियन्स लिग अन्तिम १६ मा ७–१ को जित हात पार्दा एक्लैले ५ गोल गरेका थिए ।

च्याम्पियन्स लिगमा मेस्सीले ११५ गोल गरेका छन् र उनी सर्वाधिक गोल गर्नेमा रोनाल्डो भन्दा पछि छन् ।

१०. विश्वकपमा गोल्डेन बल अवार्ड

सैद्धान्तिक रुपमा हेर्ने हो भने यो मेस्सीको लागि ठूलो क्षण हो, विश्वकपमा उत्कृष्ट खेलाडी घोषित हुनु । अन्तर्राष्ट्रिय ट्रफी जित्न नसकेको हिसाबले मेस्सी सर्वकालिन उत्कृष्ट हुन् कि होइनन् भनेर भनेर कहिलेकाहीँ बहस हुने गर्छ ।

उनले २००८ मा ओलम्पिक्समा गोल्ड मेडल जितेका थिए । तर सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा नकआउट चरणमा गोल गर्न नसकेका मेस्सीलाई उक्त अवार्ड दिनु अनौठो निर्णय थियो । समूह चरणमा ४ गोल गरेका मेस्सीले नकआउट चरणमा राम्रो प्रदर्शन गर्न सकेनन् । फाइनलमा जर्मनी विरुद्ध हार्दा पनि निराशाजनक प्रदर्शन रह्यो ।

फिफा अध्यक्षा सेप ब्लाटरले पनि केही आश्चर्य भएको बताएका थिए । साथै अर्जेन्टिनी लेजेण्ड म्याराडोनाले यो निर्णयलाई उचित नभएको प्रतिक्रिया दिएका थिए । ब्राजिलमा फाइनल पुग्नु नै मेस्सीको लागि विश्वकप जित्ने सबैभन्दा नजिकको सम्भावना थियो । चार वर्षपछि मेस्सीले रसियामा नाइजेरिया विरुद्ध उत्कृष्ट गोल गरेपछि क्वाटरफाइनलबाटै बाहिरियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment