Comments Add Comment

अस्पताल डुलाउँदा डुलाउँदै रात बित्यो, कोशीमा पुग्नासाथ प्राण गयो

१३ भदौ, विराटनगर । मोरङकी एक महिलाको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको पाइएको छ । पथरी शनिश्चरे नगरपालिका-२ की ६२ वर्षीया सानकुमारी राईको झापा र मोरङका अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको हो ।

यो घटना बुधबार रातिको भएपनि शनिबार मात्र सार्वजनिक भएको छ ।

सामान्य अवस्थाकी सानकुमारीको एक्कासी पिसाब बन्द भएपछि आफन्तले बुधबार राति ८ बजे पथरीको मोरङ डाइग्नोष्टिक सेन्टर लगेका थिए । सामान्य जाँचपछि सेन्टरले उपचार गर्न नसक्ने बतायो । मिर्गौलामा समस्या देखिएको भन्दै विर्तामोड रिफर गरे ।

त्यसपछि सुरू भयो निजी अस्पतालको गोलचक्कर । आफन्तले रातभरमा ६ वटा अस्पतालको गेट ढकढक्याए । तर कोरोनाको जोखिम भन्दै निजी अस्पतालले भर्ना गर्न मानेनन् ।

बिहीबार बिहान कोशी अस्पतालमा त पुर्‍याए, तर उनको त्यही मृत्यु भएको छ ।

डुलाउँदा डुलाउँदै रात बित्यो

छोरी मेनुकाका अनुसार बुधबार बेलुका सानकुमारीलाई पथरी लगिएको थियो । अवस्था जटिल भएको बताउँदै चिकित्सकले बी एण्ड सी अस्पताल बिर्तामोड रिफर गरे ।

आफन्तले राति नै एम्बुलेन्समा राखेर राति बी एण्ड सी अस्पताल पुर्‍याए । तर बी एण्ड सीले भर्ना नलिने भन्दै गेटबाटै फर्काइदियो । मध्यरातमा विरामी लिएर विराटनगर आए र, एकपछि अर्को गर्दै विराट मेडिकल कलेज, विराट नर्सिङहोम, गोल्डेन अस्पताल पुर्‍याए, तर सबै अस्पतालले गेटबाटै फर्काए ।

आफन्तले नोबेल मेडिकल कलेज पनि लैजाने प्रयास गरे । तर इमरजेन्सी बन्द छ भन्दै बाटोबाटै फर्काए ।

अस्पतालको गेट चहार्दाचहार्दै सानकुमारीको अवस्था गम्भिर बनिसकेको थियो । आफन्तले बिहीबार बिहान ४ बजे कोशी अस्पताल पुर्‍याए ।

मृतकका परिवारका सदस्यहरुकाअनुसार कोशीमा पनि आनाकानी गरिएको थियो । तर सबै जिम्मेवार आफन्त हुने बताएपछि चिकित्सकहरुले एम्बुलेन्सबाट निकालेर इमरजेन्सीको साटो आइसोलेसन कक्षमा लगेका थिए ।

त्यसको आधा घण्टामा नै अस्पतालले मृत घोषित गरेको छ । ‘रातभरी अस्पताल डुलायौं, तर कुनै अस्पतालले भर्ना गर्न मानेनन्,’ छोरी मेनुकाले भनिन्, ‘ कोशी अस्पतालमा भर्ना गरियो, तर एकै छिनमा बित्नुभयो ।’

मृत्युपछि उनको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । उनको रिपोर्ट नेगेटिभ आएपछि आफन्तलाई शव जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment