Comments Add Comment

रोग प्रतिरोधी क्षमताले कोरोनाबाट जोगाउँदैन ?

एउटा मिडियाले गत साउन ३१ एकजना विदेशमा बस्ने भाइरोलोजिष्टसँगको कुराकानीका आधारमा एउटा विवादस्पद तथा भ्रामक धारण बाहिर ल्यायो । रोग प्रतिरोधी क्षमताले कोरोनाबाट जोगाउने होइन, भन्ने विपरीत एवं विवादस्पद र भ्रामक विषयका बारेमा एक आयुर्वेदिक चिकित्सक भएका नाताले मेरो ध्यानाकृष्ट भएको छ ।

रोग प्रतिरोधी क्षमताले कोरोनाबाट जोगाउने होइन भन्ने त्यस लेखको अन्तरवस्तुहरु नेपाली जनस्वास्थ जगतमा प्रचलनमा रही स्थापित दृष्टिकोणभन्दा विपरीत धारको छ । लेखमा रोगप्रतिरोधी क्षमताले कोरोनाबाट जोगाउने होइन भन्ने विषयमा तर्क गरिए पनि सन्दर्भ र तथ्य प्रष्टरुपमा समावेश नभएकाले त्यसले जनमानसमा भ्रम छरेको देखिन्छ ।

आधुनिक चिकित्साबाट कोभिड १९को संक्रमणको उपचार गर्न सकिएको छैन, यो सबैलाई थाहा छ ।

डा. रामदेव पण्डित

आयुर्वेद चिकित्साबाट ७ दिनमै निको भए संक्रमित भन्ने समाचारहरु प्रकाशित भइरहेको परिवेशमा रोगप्रतिरोधी क्षमताले कोरोनाबाट जोगाउने होइन भन्ने भ्रमले महामारीका विरुद्ध विश्वभरिका वैकल्पिक चिकित्साकर्मीहरु सक्रिय रहेको अभियानको आधारभूत सिद्धान्तलाई उल्ट्याउने प्रयास गरेको छ । त्यसबाट शरीरको राम्रो इम्युनिटी भए पनि कारोना–कोभिड १९ को संक्रमण र त्यसबाट हुने मृत्युबाट बचाउन केही गर्न सक्दैन भन्ने सीधा अर्थ लाग्छ छ । के यो बुझाइ सही हो त ?

पहिलो कुरा, कोभिड १९को संक्रमणबाट विश्वभर ज्यान गुमाएकाहरु मध्ये अधिकांश कुनै न कुनैखालका दीर्घरोगबाट ग्रसित भएका देखिएका छन् भन्ने तथ्यहरु प्रष्ट छ । कोभिड १९को संक्रमणबाट मर्नेहरुमध्ये अधिकांश ४० बर्ष माथिका उमेर समूहका छन् भन्ने अर्को तथ्य पनि सर्वविधित छ ।

यी दुई तथ्यबाट के प्रष्ट हुन्छ भने स्वस्थ शरीर वा बलियो शरीरले संक्रमणविरुद्ध लड्न सक्छ, संक्रमणलाई रोगका रुपमा विकास हुनबाट रोक्न सक्दछ । संक्रमणलाई रोगको रुपमा विकास हुन नदिने तत्व इम्युनिटी न भए के हुन सक्छ । स्वस्थ शरीर वा बलियो शरीर भनेको सबल रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) हुन पनि होइन र ?

अतः भाइरल होस् वा व्याक्टेरियल वा अन्य जस्तोसुकै संक्रमणलाई छेक्न वा संक्रमणलाई रोगका रुपमा विकास हुन शरीरको इम्युनिटीले रोक्छ भन्ने चिन्तन विश्वका सबै चिकित्सा पद्धतिको समान र सामान्य सिद्धान्त हो । दोस्रो कुरा, अन्य सूक्ष्मजीवको संक्रमणभन्दा भिन्न, कोभिड १९को सन्दर्भमा इम्युनिटीलाई विशेषरुपमा पनि बुझौं ।

विनाप्रमाण कोभिड १९को संक्रमणबाट बच्न बेसार, तातोपानी, सम्यक खानपिनलाई अवैज्ञानिक भन्दै खण्डन गर्नु र हानिकारक एन्टिभाइरल प्रयोगका लागि सल्लाह दिनु कति वैज्ञानिक होला ? यसलाई प्रष्टरुपमा आधुनिक विज्ञानको दुरुपयोग, आधुनिक औषधिहरुको व्यापारको प्रवर्द्धन र वैकल्पिक चिकित्साप्रतिको पूर्वाग्रहकारुपमा बुझ्दा फरक नपर्ला

कोभिड १९ को  संक्रमणले श्वास–प्रश्वास प्रणालीमा रोग लगाउँछ भन्ने विषय आज वैज्ञानिकरुपमा सर्वस्वीकार्य तथ्य हो । अतः यहाँ भन्न सकिएला कोभिड १९ ले कमजोर (श्वासप्रश्वास प्रणलीमा स्थानीयरुपमा हुने इम्युन कोषहरुको कमी अथवा अभाव वा श्वास प्रस्वाससम्बन्धी रोग) श्वास प्रश्वास प्रणाली भएकाहरुलाई प्रभावित गर्ने हो, शरीरको इम्युनिटी बलियो भएर कोभिड १९ को संक्रमण र रोगलाई त्यसले रोक्न वा छेक्न सक्दैन । अतः रोग प्रतिरोधी क्षमताले कोरोनाबाट जोगाउने होइन भन्न सकिएला । यो वाक्यांश कमजोर श्वास प्रश्वास प्रणाली भएकाहरुका लागि सही होला । तर, त्यो आम स्वस्थ मानिसहरुका लागि भन्नु कदापि सही होइन ।

तेस्रो कुरा, कोभिड १९ को संक्रमणले शरीरको रोगप्रतिरोधात्मक क्षमतालाई अति सक्रिय बनाएर शरीरमा विभिन्न खतरा निम्त्याउँछ भन्ने पनि केही अनुसन्धानहरुले देखाइरहेको हुन सक्ला । लेखमै पनि उक्त कुरा जनाइएको छ । कोभिड १९ नयाँ भाइरस भएकाले यसको सन्दर्भमा विश्व्यापीरुपमा प्रत्येक दिन भइरहेका नयाँ अनुसन्धान प्रतिविदेनहरुको निश्कर्ष यस महामारीको सुरुवातकालदेखि नै बाझिँदै आएका देखिएका छन् । जसकारण स्वयं विश्व स्वास्थ संगठनले पनि धेरैपटक आफ्ना धारणाहरु आफैँले काट्दै नयाँ–नयाँ धारणाहरु सार्वजनिक गरिरहेको सबैमा जग जाहेर छ । अतः केही प्रारम्भिक अनुसन्धानहरुलाई आधार बनाएर इम्युनिटीले कोभिड १९ संक्रमणलाई केही गर्दैन भन्ने निश्कर्षमा पुग्नु हतार मात्र हुनेछ ।

दाल, भात र हावाले यो रोगलाई ठीक पार्छ भन्नुमा सत्यता छैन भन्ने बुझाइ गलत हो, अतिवादी बुझाइ हो । किनकि, कसैले पनि आजसम्म दाल, भात र हावाले कोभिड १९  निको पार्छ भनेर भनेको छैन । भनिएको के मात्र हो भने महामारीका बेला जनमानसले भात दाल सम्यकरुपमा खानुपर्छ । यसका दुई कारणहरु छन् । पहिलो कारण सम्यक रुपले खाँदा व्यक्ति स्वस्थ रहन सक्छ र संक्रमण भइहाले पनि मृत्युबाट जोगिन सकिन्छ । दोस्रो–कारण भनेको महामारीका बेला ठीक तरिकाको खानपान गर्दा रोग प्रतिरोधात्मक क्षमता कायम रहन्छ । किनकि आहार नै स्वास्थको आधार हो, जसमा कसैको दुई मत नहोला ।

तातोपानी, बेसार खाएर केही अर्थ छैन भन्नु पनि सरासर गलत हो, किनकि तातोपानी र बेसारले रोग ठीक पार्छ भनेर कसैले भनेको छैन । बेसार र तातोपानी नेपाली समाजमा बर्षौंदेखि प्रयोग हुँदै आएको र आज वैज्ञानिकरुपमा यसले इम्युनिटी बढाउँछ भन्ने सन्दर्भमा मात्र बेसार र तातोपानीको चर्चा गरिएको हो । महामारीका बेला अन्यखालका रूघा, घाँटी खसखस गर्नेजस्ता समस्यालाई ठीक पार्छ, जुन अहिलेको पनि आवश्यकता हो ।

विनाप्रमाण र विनाऔचित्य पुष्टि विश्वमा हाल उपलब्ध एन्टिभाइरल औषधी र इम्युनोमोडुलेटर प्रयोग गरी उपचार गर्नुपर्छ भन्ने सल्लाह भ्रामक छ । रोगप्रतिरोधी क्षमताले कोरोनाबाट जोगाउने होइन पनि भन्ने अनि इम्युनोमोडुलेटरको प्रयोग गर्न सल्लाह दिनु विरोधाभाष हो । अझ विनाप्रमाण कोभिड १९को संक्रमणबाट बच्न बेसार, तातोपानी, सम्यक खानपिनलाई अवैज्ञानिक भन्दै खण्डन गर्नु र हानिकारक एन्टिभाइरल प्रयोगका लागि सल्लाह दिनु कति वैज्ञानिक होला ? यसलाई प्रष्टरुपमा आधुनिक विज्ञानको दुरुपयोग, आधुनिक औषधिहरुको व्यापारको प्रवर्द्धन र वैकल्पिक चिकित्साप्रतिको पूर्वाग्रहकारुपमा बुझ्दा फरक नपर्ला ।

आधुनिक चिकित्सा विज्ञानका केही एन्टिभाइरल औषधीले श्वास प्रश्वास प्रणालीमा नै नकारात्मक असर पार्नेखालका छन्, जुन कोभिड १९ को सन्दर्भमा प्रयोग गर्नु प्रत्युत्पादक बन्न नसक्ला भन्न सकिन्न । त्यसबाहेक ती एन्टिभाइरल औषधीहरुले मानसिक बेचैनी, थकान,  वाकवाकी, उल्टी, पखाला, टाउको दुख्ने, पेट दुख्ने, अरुचि आदि समस्या ल्याउँछ । जसले कालान्तरमा दीर्घकालीन समस्याहरु निम्त्याउन सक्छन् ।

अतः जबसम्म कोभिड १९ को खोप विकास हुँदैन, तबसम्मलाई एन्टिभाइरल औषधीहरु उपचारमा प्रयोग गर्ने सल्लाह दिनु जनस्वास्थ्यलाई झनै बिगार्नु मात्र हुन्छ । अतः त्यसको विकल्पमा गुर्जो, सुठो, तुलसी र मरिचलाई नै आफ्नो सहजतामा निर्धक्क भई प्रयोग गर्दा संक्रमणबाट बच्न सकिन्छ ।

भाइरसहरुको संक्रमण हुनुमा अनेक कारण भए पनि आमरुपमा त्यसलाई छेक्ने र रोक्ने सन्दर्भमा शरीरको रोग प्रतिरोधात्मक शक्तिको विकल्प छैन, हुँदैन । कोभिड १९ को संक्रमणमा पनि यो निशंकोच लागु हुन्छ र भइरहेको छ । नि:सन्देह रोग प्रतिरोधी क्षमताले कोरोनाबाट जोगाउँछ भन्नु कदापि अन्यथा होइन ।

यस महामारी र लकडाउनमा स्थानीयरुपमा उपलब्ध साधन स्रोतकै प्रयोग गरी आफूलाई स्वस्थ राखौं, आफ्नो रोग प्रतिरोधात्मक क्षमतालाई सबल बनाऔं । यही बुद्धिमता हो । सर्वहितकारी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment