Comments Add Comment

म यसरी कोरोना संक्रमित भएँ

०७६ चैतको पहिलो साता वीरगञ्ज आदर्शनगरका एक व्यापारीमा कोरोना संक्रमणको हल्ला चल्यो । हुन त उनी त्यतिखेर वीरगञ्जमा थिएनन्, भारतमै उपचारको क्रममा थिए । तर वीरगञ्ज त्रसित बन्यो ।

चीनको वुहानबाट फैलिएको भनिएको कोरोनाले विश्वका अन्य मुलुकलाई आक्रान्त पार्दै थियो । सञ्चारमाध्यममा दैनिक हजारौं मानिस संक्रमित भएको र मृत्यु पनि भइरहेको समाचार आइरहन्थे । हाम्रो छिमेकी मुलुक भारतमा पनि कोरोना फैलिन थालिसकेको थियो । भारतसँग खुल्ला सीमा जोडिएको नेपाल, त्यसमाथि मुख्य प्रवेशद्वार वीरगञ्ज भएकाले जोखिम हुने नै भयो ।

वीरगञ्जमा पहिलोपटक चैत ३० गते तीन जना भारतीय जमातिमा कोरोना संक्रमण पुष्टि भयो । उनीहरू छपकैयास्थित मस्जिदमा बस्दै आएका थिए । त्यसपछि संक्रमण रोकथाम र नियन्त्रणको उपायका रूपमा सरकारले देशव्यापी लकडाउन घोषणा गर्‍यो । चैत ११ गतेदेखि १२० दिन लकडाउन जारी रहृयो ।

लकडाउनमा म घरमै बसेँ । छिटपुट आइपर्ने अत्यावश्यक काममा मात्रै बाहिर निस्केँ । त्यसमा पनि सुरक्षा सतर्कताका उपाय अवलम्बन गर्थेँ नै । वीरगञ्जमा वैशाखको अन्त्यतिर कोरोना संक्रमणले उचाइ छोयो । असारको अन्त्यतिर संक्रमण खासै थिएन । गण्डक कोभिड अस्पताल खाली हुने तरखरमा रहेको कुरा बाहिर आइरहेको थियो । साउन लागेसँगै क्रमशः संक्रमण बढ्न थाल्यो । साउन ६ गते वीरगञ्जमा कोरोना संक्रमितको मृत्यु भएको खबर आयो । संक्रमणले मान्छे मर्न थाले पनि सर्वसाधारणमा डर थिएन । तर म सावधान नै थिएँ ।

साउन १० गते वीरगञ्जमा पुनः निषेधाज्ञा जारी गरियो । त्यही दिन हामी ५ जना साथीभाइ काम विशेषले काठमाडौ जान निस्किसकेका थियौं । स्वास्थ्यसम्बन्धी सतर्कतामा कुनै कमी राखिएको थिएन । साउन १५ गते काठमाडौंबाट फर्कियौं । बाटोमा २१ घण्टाको लामो जाममा फसियो । १६ गते मात्रै वीरगञ्ज आइपुग्यौं । गाडीको लामो यात्राले पनि होला जिउ दुख्ोको थियो । थकान महसुस भइरहेको थियो । पछि केही दिनमा त्यो आफैँ ठीक भयो ।

वीरगञ्जकै नेकपाका युवा नेता अरविन्द सिंहलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखियो । उनले अस्थायी गण्डक कोभिड अस्पतालमा भर्ना भई उपचार गराए, पीसीआर परीक्षण पनि गराए । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आयो । त्यसपछि उनी वीरगञ्जकै प्रभु अस्पतालमा भर्ना भए ।

कोरोना नगेटिभ आएको सुनेपछि साउन २१ गते हामी साथीभाइ भेट्न गयौं । छातीकै समस्या भएका कारण उनी लगातार खोकिरहन्थे । हामी उनी भएकै कोठामा बसेर गफगाफ गर्‍यौं । मैले उनको मोबाइल पनि चलाएँ, त्यसलगत्तै तल गएर पानी खाएँ । साबुन पानीले हात धुनुपर्ने कुरा होसमा आएन ।

सोही दिन उनलाई हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौं पठायौं । घर आएपछि तातो पानी र डिटोल साबुनले नुहाएँ । त्यस राति छोरी पनि मसँगै सुतेकी थिइन् । त्यसको भोलिपल्ट काठमाडौंमा साथीको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको खबर सुनेँ । त्यसपछि म झस्किएँ, खबर सुन्नासाथ घर परिवारबाट टाढा बसेँ । अरविन्द दाइलाई भेट्न गएका सातै जना क्वारेन्टिनमा बस्यौं ।

क्वारेन्टिनमा सातै जनासँगै थियौं । पाँचौ दिनमा साउन २६ गते स्वाब दियौं । साउन २९ गते राति ११ बजे नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले फोन गरे ।

उनले भने ‘प्रभाकरजी डाक्टरहरू कहिल्यै सुखद् समाचार सुनाउँदैनन् । तपाईंलगायत दुई जना साथीलाई पोजेटिभ आएको छ ।’

त्यसपछि हामीलाई तनाव भयो । त्यही रातिदेखि हामी छुट्टाछुट्टै बस्यौं ।

विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा हामी संक्रमित भएको खबर सार्वजनिक भइसकेको थियो । आफन्त साथीभाइ तथा शुभचिन्तकहरू, नेकपाका नेतागण र म आबद्ध संगठनका पूर्वअध्यक्ष तथा वर्तमान कार्यसमितिका सबैजनाले फोनको माध्यमबाट स्वास्थ्यस्थिति बुझ्नुका साथै स्वास्थ्यलाभको कामना पनि गरे ।

सात दिनको क्वारेन्टिन बसाइपछि संक्रमण भयो । कहाँ जाने, कसो गर्ने ? भन्ने भयो । तर परिवारबाट ‘होम आइसोलेसन’ मा बस्नु भने । घर आउनासाथ मेरो आफन्त र छिमेकीहरू भेट्न आए । सहानुभूतिका साथै चाँडै निको हुन हिम्मत दिए ।

दिनहुँ २५० वटासम्म फोन आउन थाल्यो । साथीहरूले सामाजिक सञ्जाल लगायत फोनको माध्यमबाट शुभकामना र हौसला दिए । साथीभाइहरूको यति धेरै माया-प्रेम र सद्भाव देखेर मनमा थप ऊर्जा पैदा भयो । यसले मलाई म आफू ठिकै रहेको अनुभूति गरेँ ।

घर परिवारसँग करिब ५०-६० मिटरको दुरीमा आइसोलेसन बनाइएको थियो । पहिलो दिन श्रीमतीले खाना ल्याएर गेटमा राखिदिइन् । मलिनो अनुहारमा ‘बाबा चाँडै निको हुनुस्’ भनेर उनी हिँडिन् ।

साथीभाइको सल्लाहमा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मैले हरेक प्रयास गरेँ । दैनिक समयतालिका बनाएर त्यसैअनुसार दैनिकी चलाएँ । चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाहमा खानपिन र औषधि दिनहुँ सेवन गरिरहेँ ।

यसअघि प्रायः ७-८ बजे उठ्ने गर्थेँ । संक्रमित भएपछि ५ बजे उठेर नित्यकर्म गर्न थाले । कोठामा कुचो लगाउने, ओछ्यान मिलाउने लगायतका सरसफाइ गर्ने बानी बसालेँ । बिहान ६ः०० बजे व्यायाम सुरु गरिहाल्थेँ । नुहाइसकेपछि कपडा धुन्थेँ, कोठामै कपडा सुकाउने व्यवस्था मिलाएको थिएँ । बेसार हालेर तताएको पानी एक गिलास खाएपछि मात्रै हल्का खाजा खान्थेँ ।

खाना खाइसकेपछि पत्ता कोठामै जलाउँथे । हल्का आराम गरेर पढ्ने र लेख्ने बानी बसालेँ । दिउँसोको खाजा खाइसकेपछि फेरि आराम गर्ने र राति खाना खाएर १० : ०० बजेसम्ममा सुतिहाल्थँे ।

आफू संक्रमित भएपछि अन्य संक्रमित साथीभाइहरूसँग जोडिने प्रयास गरे । एकअर्काको पीडा र भोगाइ साटासाट गर्‍यौं । कतिपय मानिस कोरोना संक्रमित भइसकेपछि छरछिमेक, साथीभाइ र आफन्तले गर्ने दुव्र्यवहारबाट मानसिक तनावमा पर्छन् । कतिपय कोरोनाले मरिन्छ कि भन्ने डरले नै आधा गल्न पुग्छन् । संक्रमित भएपछि बुझियो, पहिला त्यस्ता डरलाई मनमस्तिष्कबाट हटाउनुपर्ने रहेछ ।

नोवेल कोरोना कोभिड-१९ ले सामाजिकस्तरमा निकै नराम्रो प्रभाव पारेको छ । व्यक्ति व्यक्तिबीचको दुरी अर्थात् सामाजिक दुरी कायम राखेर नै संक्रमणको चेन ब्रेक हुन्छ । तर टोल समाजमा कसैलाई संक्रमण भएको छ भन्ने हेला गर्ने, छिःछिः दुर्दुर् गर्ने, समाजबाट निकाल्ने जस्ता क्रियाकलाप भइरहेको छ । रोगले भन्दा यस्तो व्यवहारले बढी पीडा दिन्छ ।

संक्रमण फैलिएसँगै संस्कृति, धर्म, परम्परामाथि पनि ठूलो आघात पुगेको छ । चाडपर्वहरू परिवारहरूसँग मनाउन नपाउने स्थिति बनेको छ । मठ मन्दिर, चर्च, मस्जिद, गुम्बा आदि सबै बन्द भएका छन् । अर्थतन्त्रमा ठूलो गिरावट तथा मन्दी छाएको छ । उद्योग कलकारखाना लगभग बन्द जस्तै छन् । आयात निर्यातमा कमी आएको छ । सानो मुलुकको अर्थतन्त्र चौपट छ ।

संक्रमणमुक्त भइसकेपछि पनि १४ दिन परिवारबाट टाढै बस्न भनिएको छ । कोरोना महामारीका कारण समाजमा उत्पन्न नकारात्मक पक्षलाई सचेतनाको माध्यमबाट चिर्नु आवश्यक छ । प्रहरी प्रशासन र वडा कार्यालयसँग सहकार्य गरी तमाम संक्रमितको घाउमा मलम लगाउने अभियानमा जुट्नेछु ।

(गुप्ता अनेरास्ववियूका केन्द्रीय सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment