Comments Add Comment

चितवनमा क्यान्सरको उपचारअघि अनिवार्य पीसीआर !

१७ भदौ, चितवन । चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पीसीआर परीक्षण रिपोर्ट पछि मात्रै बिरामीको उपचार शुरु गर्ने जनाएको छ । अस्पतालले मंगलबार एक सूचना जारी गरी अस्पताल नै कोरोना संक्रमणको केन्द्र बन्ने खतरा देखिएको भन्दै उपचारअघि अनिवार्य पीसीआर गर्नुपर्ने जनाएको हो ।

क्यान्सरका बिरामीसँग रोगसँग लड्न सक्ने क्षमता पनि कम हुने र पीसीआर रिपोर्टपछि मात्रैं उपचार गर्दा पनि बिरामीको उपचारमा खासै असर नहुने भएकाले अनिवार्य पीसीआरको नीति लिइएको अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले जानकारी दिए ।

डा. गौतमले कोरोना संक्रमितलाई अन्य बिरामीसँग राखेर उपचार गरेमा सो बिरामीबाट अन्य बिरामी र कर्मचारीलाई सरेर स्थिति अवस्था भयावह हुनसक्ने बताए ।

क्यान्सरका बिरामीलाई कोरोना संक्रमितसँग उपचार गर्दा मृत्युदर २५ देखि ३५ प्रतिशतसम्म बढ्ने कुरा विश्वका अन्य देशका अनुभवलेसमेत प्रमाणित गरेको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।

अस्पतालले कोरोनाको संक्रमणबाट जोगाउन एक बिरामी, एक कुरुवाको नियम अनिवार्य गरेको छ । अस्पतालमा विषेश गरी तराईतिरबाट आउने एक जना बिरामीसँग पाँच जनासम्म कुरुवा आउने गरेका छन् । धेरै व्यक्ति आउँदा संक्रमणको जोखिम बढ्ने भएकाले एक बिरामी एक कुरुवाको नीति लिइएको र सोही अनुसार एम्बुलेन्सहरुलाई समेत भनिएको डा. गौतमले बताए ।

अस्पतालका आकस्मिक र बहिरङ्ग सेवा नियमित पूर्ववतरूपमा सञ्चालन भइरहेको निर्देशक गौतमले बताए । अस्पताल आफैंले पीसीआर परीक्षण ल्याब केही दिनभित्र सञ्चालनमा ल्याउने तयारी थालेको छ । ‘सबैजसो काम भैसकेको छ, अब छिट्टै परीक्षण थाल्छौं, यसले बिरामी, कुरुवा र कर्मचारी सबैलाई सहज र चाँडो नतिजाका लागि सहयोगी बन्छ भन्ने विश्वास छ,’ डा. गौतमले भने ।

क्यान्सर अस्पतालका मात्रै ४२ स्वास्थ्यकर्मी र कर्मचारीमा कोभिड–१९ पुष्टि भएको छ । तीमध्ये सात जना निको भइसकेका छन् । अधिकांश होम आइसोलेसनमा छन् । केही अस्पतालमा नै बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment