Comments Add Comment

भर्चुअल औषधि पसल,  होम डेलिभरीको सुविधा 

सर्वत्र कोरोना सन्त्रास छाइरहँदा अन्य रोगीहरु थप समस्यामा छन्, जो नियमित औषधि सेवन गरिरहेका छन् । औषधि किनमेलका लागि घर बाहिर निस्कन समेत असहज र असुरक्षित हुँदा के गर्ने ? अहिले सहज विकल्प बनेको छ अनलाइन किनमेल । नियमित प्रयोग गरिरहेका औषधि चाहिएमा अनलाइनबाट अर्डर गर्न सकिन्छ, अनलाइनबाटै भुक्तानी पनि । औषधि घरमै आइपुग्छ ।

कोरोना भाइरसकै कारण उत्पन्न संकटले औषधिको होम डेलिभरी गर्ने नयाँ ट्रेन्ड सुरु भएको छ । यसबाट सेवाग्राही लाभात्वित हुने त छँदैछ, भर्चुअल औषधि पसल पनि राम्ररी फस्टाएको छ ।

कोरोनाका कारण गरिएको लकडाउन अवधिमा औषधिको होम डेलिभरी गर्ने संस्थाहरूले पर्याप्त व्यापारको मौका पाएको बताएका छन् ।

विभिन्न अनलाइन डेलीभरी गर्ने संस्थाहरूले सामान्य अवस्थामा हुने व्यापारको ५० प्रतिशत बढी व्यापार लकडाउनको समयमा भएको बताएका छन् । अरू व्यवसायमा जस्तो औषधि ढुवानी गर्नेलाई प्रहरीले समेत झमेला सिर्जना गर्दैन । यसले गर्दा पनि आफ्नो व्यवसाय राम्रोसँग फस्टाउने अवसर पाएको अनलाइन औषधि कारोबार गर्ने संस्थाहरूले बताएका छन् ।

यसरी अनलाइनबाट औषधि मगाउने बेलामा गम्भीर किसिमको स्वास्थ्य समस्या छ भने चिकित्सकहरूकोे पे्रस्किप्सन माग्ने गरिन्छ । सोही प्रेस्किप्सन पनि अनलाइनकै माध्यमबाट पठाएपछि केही समयमा घरमा नै औषधि आइपुग्ने गर्छ । नियमित औषधि प्रयोग गर्नेहरूलाई औषधिको प्रयोगसम्बन्धी जानकारी आवश्यक पर्दैन । कतिपयलाई भने औषधिको प्रयोगसम्बन्धी जानकारी दिनुपर्ने हुन सक्छ । त्यस्तो अवस्थामा अनलाइनमाध्यमबाट नै उनीहरूलाई औषधि प्रयोगको विधि बताउने गरिएको अनलाइन औषधि सपिङका सरोकारवाला संस्थाहरूले बताएका छन् । डेलिभरी गर्न जानेलाई पूर्णतः सुरक्षा प्रवन्ध अपनाएर पठाउने गरिएको समेत सम्बन्धित संस्थाका प्रतिनिधिहरू बताउँछन् ।

सबी सिंह अनलाइन औषधि प्रा.लि.की प्रबन्ध निर्देशक हुन् । झण्डै ५ वर्षदेखि सञ्चालनमा रहेको संस्थाले यो लकडाउनको समयमा राम्रोसँग व्यापार विस्तार गर्न सकेको सिंह बताउँछिन् । ‘हामी औषधि प्रयोगसम्बन्धी सुझाव होस् या जस्तासुकै सल्लाह पनि अनलाइनबाट नै लिने गर्छौं ।’ उनले भनिन् ‘लकडाउन र कोरोनाको जोखिमका कारण दीर्घरोगीहरूलाई फार्मेसीसम्म जान समेत जोखिम भएकाले हामीहरूको व्यापार यो समयमा फस्टाएको छ ।’ आफूहरूले संवेदनशील रोगको औषधिको लागि भने चिकित्सकको प्रेस्किप्सनलाई भने अनिवार्य गरिएको उनले बताइन् ।

कोरोना भाइरसको महामारीका कारण गत चैत ११ गतेदेखि सरकारले जारी गरेको लकडाउनको केही दिनसम्म त सामान्य व्यापार चलिरहेको थियो । तर लकडाउनको दिन बित्दै जाँदा उनको व्यापारमा उल्लेख्य बढोत्तरी हुन थाल्यो । सिंहले अनलाइनखबरसँग भनिन् ‘लकडाउनको समयमा मात्रै मासिक कारोबारको ५० प्रतिशतले बढोत्तरी भएको छ ।’ विशेषगरी मानसिक रोग जस्ता संवेदनशील रोगमा आफूहरूले चिकित्सकको प्रेस्किप्सनबाट मात्रै औषधि दिने गरेको उनले बताइन् ।

कहिले मुटुरोगसम्बन्धी औषधिको माग त कहिले क्यान्सरजस्ता दीर्घ रोग लागेकाहरूको फोनले दिनभरि फुर्सदिलो हुन दिएको छैन ।

त्यस्तै, क्लिनिक वन फार्मेसीका सञ्चालक रघु राणा विशेषगरी मानसिक रोगसम्बन्धी औषधि बढी माग हुने गरेको बताउँछन् । उनले लकडाउनको केही समयअघिदेखि मात्रै अनलाइनबाट यसरी अर्डर लिने गरेको बताए । तर लकडाउनको समयमा पहिलेभन्दा झण्डै ५ गुणासम्म धेरै औषधिको माग भएको उनले बताएका छन् । ‘मानसिक औषधिको माग अत्यधिक भएको छ । हामीले मानसिक रोगको लागि भने चिकित्सकको प्रेस्किप्सन अनिवार्य गरेका छौं ।’ उनले अनलाइनखबरसँग भने ‘हामी कसैले माग गरेको औषधिको बारेमा सुरुमा उहाँहरूसँग चिकित्सकको प्रेस्किप्सन माग्छौं । प्रेस्किप्सन भएकालाई मात्रै औषधिको अर्डर लिने गरेका छौं ।’

कोरोना नियन्त्रणमा होम डेलिभरी सेवा उपयुक्त

चिकित्सकहरू विश्वासिलो अनलाइन होम डेलिभरी सुविधा दिने संस्थाहरू छन् भने अहिलेको जस्तो कोरोनाको महामारी चलेको बेलामा प्रविधिको प्रयोगबाट गरिने औषधि खरिदले पनि महामारी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला कोराना भाइरसको जोखिममा रहेका दीर्घरोगीहरूले आफू बाहिर निस्कने भन्दा पनि चिकित्सकसँग टेलिफोन या कुनै माध्यमबाट सल्लाह लिएर चिकित्सकले भनेको अनुसारको औषधि अनलाइनबाटै लिनु उपयुक्त हुने बताउँछन् ।

त्यस्तै, नेपाल औषधि व्यवसायी संघका अध्यक्ष बद्रि श्रेष्ठ पनि केही चुनौतीहरूकाबीच यसको सम्भावना भने धेरै रहेको बताउँछन् । अहिले काठमाडौंमा झण्डै एक दर्जन जति यस्ता अनलाइन होम डेलिभरी गर्ने संस्थाहरू रहेको श्रेष्ठले बताए । एक दर्जनजति संस्थाहरू दर्ता भए पनि सक्रिय रूपमा मुस्किलले आधादर्जन संस्था मात्रै सञ्चालनमा आएको उनले बताए ।

श्रेष्ठले कतिपयलाई दर्ता नभई सञ्चालनमा आएको भन्दै वाणिज्य विभागले कारबाही समेत गरेकोले सक्रिय रूपमा होम डेलिभरी गर्नेहरू कम रहेको उनले बताए । औषधि दिने काम आफैंमा संवेदनशील भएको र सानो गल्तीले समेत मान्छेको स्वास्थ्यमा ठूलो असर पार्ने भएकोले यो काम आफैंमा संवेदनशील रहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment