Comments Add Comment

हेलेन, इब्रु र हाम्रा जोखिमका पाइला

सामाजिक दलाल पुँजीवादी सरकारले नेपाललाई फाँसीवादी दिशामा धकेलेको छ भन्ने कुरा अब ‘कम्युनिष्ट आरोप’ मात्रै रहेन । संविधान, कानुन, सामूहिक निर्णय, पार्टी बैठक, प्रतिपक्ष सबै लत्याएर, आफ्नै पार्टी र प्रतिपक्ष फुटाएर र चोरबाटोबाट कानुन ल्याएर, लोकतन्त्र र विधि कुल्चेर फासीवादको अभ्यास भइरहेको छ । बन्धु चन्द होस् या धीरेन्द्रा उपाध्याय उसले अपहरण गर्छ र कैद गर्छ । ‘मसँग बन्दुक छ, त्यसैले म जे पनि गर्न सक्छु’ उसले भनिरहेको छ ।

जनयुद्धकी एकजना योद्धा, चर्चित गोर्खा जेलब्रेकको कमाण्डर उमा भुजेललाई गएको पुस १२ गते सुनसरीको चक्रघट्टीबाट पक्राउ पूर्जी नदिई, कुनै आरोप नलगाई गिरफ्तार गर्‍यो । अभियोग पत्रमा खाली ठाउँ राखेर हस्ताक्षर गर्न लगाइयो र अदालतमा पेश गर्दा ‘एकथान पेस्तोल बरामद’ भनेर लेख्यो ।

अनौठो त के भने गिरफ्तार भएकै हप्तामा उहाँले सत्तारुढ र सत्ताइतर पार्टीका नेता तथा कतिपय प्रदेश मन्त्रीहरुसँग राजनीतिक बहस गरिरहनुभएको थियो । छलफलमा कैँयौ जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख हुन्थे । ‘सीडीओ सा’पहरू हामी त सरकारी मान्छे, तपाइँहरूबारे सरकारको नीति थाहा नै छ’ लाचारी प्रकट गर्थे । गिरफ्तार गरेपछि प्रहरीले एउटा जिल्लामा पनि दोषी प्रमाणित गर्न सकेन ।

पूर्वसांसद र उमा भुजेलहरूले ल्याएको गणतन्त्रमा जङ्गबहादुरले झैँ विदेशीको चाकरी गरेर अनैतिक ढङ्गले कुर्सीमा विराजमान ओलीरुपी दलाल पुँजीवादले आफ्नो वर्ग चरित्र चरितार्थ गर्‍यो । गणतन्त्रको लागि उमा भुजेल जेलमा बस्दा ‘ओली सार’ गणतन्त्र ल्याउने कुरा ‘बयलगाडा चढेर अमेरिका जाने सपना’ भन्दैथिए । अदालतले १३ औँ पटक सादा (हाजिर जमानत) मा रिहा गर्दा पनि छोडिएन ।

भदौ २ गते त अदालत नै कब्जा गरेर गिरफ्तार गर्‍यो र बेपत्ता बनायो । सञ्चारगृहहरू र सामाजिक सञ्जालमार्फत व्यापक विरोध भएपछि सप्तरी प्रहरीले ‘सरमछाडा समाचार’ प्रायोजन गर्‍यो । ‘भारदहमा मास्क नलगाइकन हिँडेको र प्रहरीले मास्क लगाउन अनुरोध गर्दा प्रहरीलाई गालीगलौज गरेको’ हुनाले ‘अभद्र व्यवहार’ मुद्धा लगाएर थुनामा राखिएको छ । कतिपय ‘बिग हाउस’ वालाले त्यही राससमार्फत प्रायोजित गोरखापत्रकारिता प्रवाह गरे । जब सप्तरीबाट उहाँ घरतिर लाग्नुभयो, अदालतले रिहागर्न आदेश गरेको नागरिकलाई किन दुःख दिएको भन्नसमेत कथित स्वतन्त्र पत्रकारिताले आवश्यक ठानेन । र, उमा भुजेल र सुमनसिंह ‘फरार’ भनेर लेखे ।

तर ‘सरकारी मिसन’ नभएका धेरैले न्यायको पक्षमा आवाज उठाइरहे । हिटलर पनि निर्वाचनबाटै आएको हो र मोदी पनि निर्वाचनबाटै आएका हुन् । नेपाल निर्वाचित भएकै आएको र आफू चढेको भर्‍याङ काट्दै गएको छ ।

यसबेला नेकपाका कवि, लेखक र नेता सुदर्शन नख्खु जेलमा छन् भने विरजङ्ग, माइला लामा, दीपेश राई संखुवासभामा छन् । भरत बम र चुडामणि वलीसहित सयौँ नेताहरूलाई जेल–हिरासतमा सडाइएको छ । देशमा नयाँ मण्डले राज छ । मान्छेले स्वतन्त्रतापूर्वक हिँडडुल र विचार अभिव्यक्त गर्न पाउँदैन भने जहाँ भए पनि जेल नै त हो । त्यसकारण नेकपाका महासचिव विप्लव ‘हामी पनि जेलमै त छौँ’ भन्नुहुन्छ । हो, कम्युनिस्टको नाममा नराधमहरु देशलाई बन्दीगृहमा कैद गरिरहेका छन् ।

नेपालीजस्तै स्वतन्त्रता चाहन्छन् टर्कीका जनता । टर्की युरोपकोजस्तो संस्कृति (चेतनास्तर) र मुस्लिम धर्मावलम्वी भएको पश्चिम रसियाली देश हो । टर्कीलाई युरोपको ढोका पनि भनिन्छ । भदौ १३ गते विश्वभरीका सञ्चार र सामाजिक सञ्जालमा समाचार आयो – ‘सत्ताको अत्याचारविरुद्ध २ सय ३८ दिनदेखि आमरण अनसनमा रहेकी टर्कीकी वकिलको मृत्यु’ ।

कम्युनिस्ट र सत्ताको कोपभाजनमा परेका नागरिकको वकालत गर्दै आएकी ४२ वर्षिया इब्रु टिमटिकको राजधानी इस्तानबुलको अस्पतालमा भदौ १२ गते दुःखद निधन भएको थियो । अन्तर्राष्ट्रिय स्तरका र टर्कीस कानुनवेता र मानव अधिकारवादीहरूले ‘सरकार र अदालत मिलेर इब्रुको हत्या गरेको’ गम्भीर आरोप लगाएका थिए ।

उनले सरकारले नरुचाएका ग्राहकको मुद्दामा पैरवी गरेकै कारण सरकारद्धारा प्रतिबन्धित ‘क्रान्तिकारी पिपुल्स लिबरेसन पार्टी – फ्रन्ट’ को सदस्य भएको आरोप लगायो । अदालतले अभियोग प्रमाणित नभएको भन्दै रिहा गर्‍यो । तर रिहा भएको २४ घण्टाभित्रै पुनः गिरफ्तार गरियो । अदालतलाई धम्काइयो र १७ वर्ष ६ महिनाको काराबास सुनाइयो ।

त्यसको विरुद्ध आफ्ना १७ जना साथीहरूको रिहाइको माग गर्दै आमरण अनसन बसिन । इब्रुको मृत्यु भएको अर्को दिन महामारीको वेवास्ता गर्दै बार एसोसियसनको कार्यालयअगाडि मानव अधिकारकर्मी र वकिलहरूले विरोध जुलुस निकाले । सरकारले श्रद्धाञ्जली जुलुसमा पनि गोली, अश्रुग्याँस, पानीको फोहोरा र लाठीचार्ज गर्‍यो । रेसेप तैयप एर्दोगान सरकार र अदालतको निरंकुशताको विरुद्ध नारा गुञ्जियो । मानवसागर भन्दै थियो ‘इब्रुको हत्या भुल्नेछैनौँ’ । इब्रुहरूले फाँसीवादको विरुद्ध लडे । उनीहरूले कसरी लडे ? र, के कसरी प्रतिरोध गर्नुपर्थ्‍यो ? त्यो अलग विषय हो । उनीहरूले फाँसीवादको विरोध गरेर आत्मसमर्पण गरेनन् । त्यो नै मूल पक्ष हो ।

टर्कीको चर्चित साङ्गितिक समूह ‘योरुम’ की सदस्य तथा गायीका हेलेन बोलेकको भोक हड्तालकै क्रममा २०७६ चैत २१ गते अर्थात अप्रिल ३, २०२० मा मृत्यु भयो । संसारभरीका प्रगतिशील मनहरु तरङ्गित भए । अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरू आक्रोशित भए । फाँसीवादको बढ्दो लहरबाट चिन्तित भए । गायीका बोलेक २ सय ८८ दिनदेखि आमरण अनसनमा थिइन ।

साँस्कृतिक कार्यक्रममाथिको प्रतिबन्ध फुकुवा गर्न, आफ्नो साङ्गितिक समूहका साथीहरूको रिहाई, धरपकड रोक्न र आफ्नो कार्यालयमा छापा मार्न रोेक्नुपर्ने सामान्य लोकतान्त्रिक मागहरू राखेर उनी आमरण अनसनमा बसेकी थिइन । सन् २०१९ को सुरुमै गिरफ्तार परेकी बोलेकको राजधानीको कार्यालयमा सरकारले एक वर्षमा १० पटक भन्दा बढी छापा मारेर वाद्यवादन, गीतका किताब नष्ट गर्ने, लुट्ने र गिरफ्तार गर्ने गरेपछि त्यसकोविरुद्ध बोलेक आमरण हड्तालमा बसेकी थिइन् ।

सरकारले मागको विषयमा छलफल नगर्ने तर अनसन तोड्न दबाब दिइ नै रह्यो । स्वास्थ्य कमजोर बन्दै गएपछि बोलेकलाई जबरजस्ती अस्पताल लगियो । बोलेकले सरकारको औषधी सेवन गर्नुपूर्व माग पुरा गर्न दबाब दिइन ।

अन्ततः उनको दुःखद निधन भयो । योरुम समूहका अरु आधा दर्जन आस्थाका बन्दीहरू पनि अनसनमा छन् र उनीहरूको जीवन पनि धरापमा छ । विचार र आस्थाको यो कठीन लडाइँ फैलदैँछ, जनगायक हेलेन बोलेको गीतमा झैँ :

जुन गोलीले तिम्रो निधारमा घाउ लगायो

त्यही हो, हाम्रा लागि कहिल्यै ननिभ्ने आगो

बढ्दैछ, बढ्दैछ ! बढ्दैछ हाम्रो कठिन संघर्ष !

फैलिँदै, फैलिँदै ! फैलिँदै जनताका मनहरूमा !

योरुम समूहले दर्जनौँ सांगितिक सामग्री र चलचित्र निर्माण गरेको छ । जसमा आस्थाका बन्दी र टर्कीका जेलको चरित्र चित्रण गरिएको छ । जुन अत्यन्त लोकप्रिय छ । यो समूह टर्कीबाहिर पनि लोकप्रिय छ । एर्दोगान सत्तारुढ भएपछि आलोचनाको स्वर र अभिव्यक्ति स्वतन्त्रतामाथि कडा प्रतिबन्ध लगाएको छ ।

पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्थाहरूले सञ्चारका लागि टर्की ‘संसारकै ठूलो कारागार’ भनेका छन् । टर्की यस्तो असभ्य शासक भएको देश हो, जहाँका राष्ट्रपति नै ‘टर्कीमा लोकतन्त्र र स्वतन्त्रताको अर्थ नभएको’ घोषणा गर्छन् । पत्रकार, मानव अधिकारकर्मी, बौद्धिक जगत र साँस्कृतिककर्मीलाई आतङ्ककारीकै घेराभित्र राख्नुपर्ने उनको घोषणा थियो ।

सरकारको फासिस्ट हर्कतका विरुद्ध विश्वभरिबाट एर्दोगान सरकारको विरोध भइरहेको छ । टर्कीको बार एसोसियसन, मेडिकल च्याम्बर, आर्टिस्ट इनिसियटिभ्स, आर्ट एसेम्बली, ग्रिसका पूर्वअर्थमन्त्री यानिस भारुफाकिस, प्रसिद्ध लेखक – चलचित्र निर्माता जुल्फु लिवानेली, पेन अमेरिकाले सरकारको कडा निन्दा गरे ।

मोदीको फासीवादी भारतीय सत्ताले माक्र्सवादी लेखक तथा बुद्धिजीवी, क्रान्तिकारी कवि वरवर राव र डा. जि एन साइबाबालाई गिरफ्तार गरी बन्दी बनाएर राखेको छ । हामी भनिरहेका छौँ, नेपाल एर्दोगान पथमा हिँड्दैछ । हिजो हामीले लोकतन्त्रको नाममा दलालतन्त्र आएको छ र दलालतन्त्रको गन्तव्य निरंकुशता हो । निरंकुशताको अन्तिम गन्तव्यका सारथी को हुन्छन् त्यो अलग विषय हो ।

तर, देश उतै गइरहेको छ । स्वास्थ्यमाफियाका विरुद्ध लड्दै आएका गोविन्द के.सी.लाई अनसन बस्न प्रतिबन्ध लगाइएको छ र होटलमै थुनिएको छ । उनको कुनैबेला भाडाका अपराधी लगाएर ज्यान जोखिममा पारिन सक्छ । इब्रु र बोलेकलाई आमरण अनसन तोड्न दबाब दिइयो र आतंककारी भनियो ।

गोविन्द केसीलाई लोकतन्त्रविरोधी र राजावादी आरोपित गरिएको छ । के फरक छ टर्कीको सरकार र नेपाल सरकारबीचमा ? गोविन्द केसीहरू र उमा भुजेलहरू अझसम्म मारिएका छैनन् । तर, खतरामा छन् उनीहरू र अँध्यारो सुरुङतिर धकेल्न खोज्दैछन् शासकहरू ।

(शर्मा, विप्लव नेतत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment