Comments Add Comment

अब निर्वाहमुखी काम मात्र होइन उद्यमशीलता

सन् २०२० को दशक सुरु भएको छ । विदेशबाट फर्किएकाहरूले त्यहाँ सिकेको सिप र पैसालाई नेपालमा नै उद्यमशील कार्यमा लगानी गर्न थालेका छन् । धेरैले स्टार्ट अप व्यवसायमा समेत हात हालेका छन् ।

दशकको सुरुवातमा नै चलेको उद्यमशीलताको लहरले यो दशक उद्यमशीलताको दशकको रूपमा विकास हुने अपेक्षा धेरैको छ ।

बृहद् नेपाली शब्दकोषले उद्यम भन्ने शब्दलाई जीविकाका लागि गरिने उपार्जन वा मेहनत र परिश्रमसँग जोडेर व्याख्या गरेको छ । अतः उद्यम, उद्यमी र उद्यमशीलता भन्ने शब्दले आफैँमा जोखिम, जोखिम मोल्ने व्यक्ति र जोखिम मोल्ने क्षमताको प्रतिनिधित्व गरेको हुन्छ । त्यसैले उद्यमी शब्दले जोखिम प्रेमी, कडा परिश्रमी र साहसी व्यक्तिलाई चित्रण गर्ने गर्छ ।

उद्यमी भन्ने शब्दको अर्थमा आएको भिन्नतालाई व्याख्या गर्नुपूर्व उद्यम गर्ने चलन कहिलेदेखि आयो भनेर हेर्नु उपयुक्त हुन सक्छ ।

इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडीका डाइरेक्टर विश्वास गौचन उद्यमशीलताको लहर आदिकालदेखि नै चलेको भए पनि यसलाई लिपिबद्ध गर्ने र यसलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनाउने काम भने मध्यकालपछि मात्रै भएको उनी बताउँछन् ।

‘पहिले जीविका चलाउने काममा मात्रै यसलाई चिन्ने गरिन्थ्यो ।’ उनले भने ‘अब उद्यमशीलताले केवल जीविका चलाउन होइन राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्न थालेको छ ।’ अबको दशकमा नेपालमा उद्यमशीलताको विकास हुने सम्भावना धेरै रहेको पनि गौचनले जानकारी दिए ।

पाँचौं शताब्दीतिरका अभिलेखहरूले त्यतिबेला व्यापारीका नेताहरू रहेको विषयलाई उल्लेख गरेको छ । सार्थ अर्थात् व्यापारी र सार्थवाह अर्थात् व्यापारीका नेताको रूपमा त्यतिबेलाका अभिलेखमा चर्चा गरेको पाइन्छ । त्यतिबेला पनि माटोका भाँडा, बाँसका सामग्री आदिमा उद्यमशीलताको प्रचलन थियो । तर पछिल्लो समय केवल जीविकाको लागि मात्रै नभएर यो राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिकामा रहेको जानकारहरू बताउँछन् ।

कौटिल्यकोे अर्थशास्त्रले नेपालमा बनेको राडीपाखी सबैभन्दा उत्कृष्ट रहेको उल्लेख गरेको छ । यसको अर्थ त्यतिबेला पनि राडीपाखी बुन्ने उद्यमको सुरु भएको थियो भन्ने मान्न सकिन्छ । उद्यम आफैंमा एउटा व्यवसाय हो र यो सिंगो अर्थतन्त्र पनि हो । उद्यम सानो वा ठूलो होला, तर उद्यमले नै सिंगो अर्थतन्त्रलाई सकारात्मक दिशामा अघि बढाउँछ ।

हामी घरमा आफूलाई चाहिने डोको बुन्छौं, त्यो हाम्रो उद्यम हो । त्यही डोको कसैलाई बेच्छौं भने त्यो व्यापार हो ।

उद्यमी भन्ने शब्दको एउटा गजबको इतिहास छ । जतिबेला अँग्रेजी भाषाले ‘इन्टरप्रेनरसिप’ भन्ने शब्दलाई फ्रान्स भाषाबाट आयात गर्नुपूर्व पश्चिममा पनि इन्टरप्रेनर वा उद्यमीलाई साहससँँग जोड्ने गरिन्थ्यो ।

उद्यमीको परिभाषा

अहिले म उद्यम गर्छु वा म उद्यमी हुँ भन्नु एउटा गर्वको विषय बनेको छ । तर कुनै समय उद्यमी भन्ने शब्दले ठगको पर्यायवाची शब्दलाई जनाउँथ्यो भन्ने धेरैलाई जानकारी नभएको हुन सक्छ । यसको विषयमा एउटा चाखलाग्दो इतिहास छ । अर्थशास्त्री मार्क थोरन्टनले आफ्ना पुस्तकहरूमा उद्यमी शब्द मूल रूपमा सरकारी ठेकेदारहरूको लागि मात्र प्रयोग गर्ने गरिएको बताउँछन् । यी सामान्यतया व्यापारीहरू थिए जसले सरकारको लागि काम गर्ने गर्थे । उनीहरूले सरकारी ठेक्काहरू असीमित लागतमा कबोल गर्ने गर्थे ।

यी व्यवसायीहरूले कबोल गरेकोभन्दा सस्ता सामग्री प्रयोग गरेर नाफा बढाउने गर्दथे । अहिलेको बुझिने भाषामा भन्दा अहिलेका ठेकेदारले जस्तै काम त्यतिबेला उद्यमीहरुले गर्ने गर्थे ।

अर्को शब्दमा, तिनीहरूले व्यक्तिगत लाभको लागि कमसल सामानको प्रयोग गर्ने भएकोले सो समयसम्म उद्यमीहरूलाई ठगहरूको रूपमा चिनिन्थ्यो । त्यतिबेलाको उद्यम आदरको लागि लायक पनि थिएन भन्ने कतिपय अर्थशास्त्रीयहरूको मत छ ।

शब्दको अर्थका साथसाथै १७३० को दशकमा यो धारणा मौलिक रूपमा परिवर्तन भयो । थोरन्टनको अनुसन्धान अनुसार सोही समयमा नै शब्दको अर्थ उल्टिएको हो । सीमित राजस्वबाट असीमित ठगी गर्ने कामलाई एकै व्यक्तिले कम गरेका थिए । ती व्यक्ति हुन् रिचार्ड क्यान्टिलन । उनकै पालादेखि नै उद्यमशीलता भन्ने शब्दले समेत सकारात्मक अर्थ बोक्न थालेको थियो ।

क्यान्टिलन एक बैंकर थिए, जसले मिसिसिपी कम्पनीबाटै अर्थशास्त्रको बारेमा राम्रोसँग बुझ्ने मौका पाएका थिए । त्यो व्यावसायिक अनुभवले क्यान्टिलनलाई बजार अर्थतन्त्रको औपचारिक बुझाइमा विकास गर्न मद्दत पु¥यायो र उनले एसाइ सुर ला नेचर डु कमर्स एन गेनरल नामक पुस्तकमा आफ्ना विचारहरू विस्तारपूर्वक वर्णन गरे । यो मरणोत्तर र अज्ञात रूपमा १७५५ मा प्रकाशित भएको थियो ।

पुस्तक महत्वपूर्ण छ किनकि क्यान्टिलनले नै पश्चिमा मुलुकहरूमा उद्यमशीलताको सिद्धान्त विकास गरेका थिए । पछि क्रिस ब्राउन र थोरन्टनको एक रिसर्चले क्यान्टिलनको सिद्धान्तमा उद्यमीको आलोचनात्मक भूमिकालाई उत्पादन, विकास र परिवर्तनको संवाहकको रूपमा चित्रण गरेका छन् ।

क्यान्टिलनको उद्यमशीलताको सिद्धान्तले शब्दको एक नयाँ अर्थ स्थापित ग¥यो। उनको पुस्तकको पाण्डुलिपिहरूको प्रभाव जसले यसलाई प्रकाशित गर्नभन्दा पहिले चौथाई शताब्दीसम्म व्यापक रूपमा प्रसारित थियो । उनकै कारण जनताको दिमागमा समेत सो शब्दको अर्थ परिवर्तन भयो । साथै, उद्यमीको भूमिकालाई विद्वानहरूको ध्यानमा पु¥यायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment