Comments Add Comment

अहो, अङ्ग्रेजी मोह !

त्यो भनेको के हो ? त्यसलाई ईंग्लिसमा के भन्छन् ? आफ्नो नेपाली साहै्र ‘वीक’ छ । नेपाली फिल्म हलमा गएर हेरेकै छैन । नेपाली हिरो–हिरोइन त कोही चिन्दिनँ’

आजकालका युवा–युवतीको मुखबाट यस्ता कुराहरु हामी निकै सुन्छौ । नेपाली भनेको तुच्छ भाषा हो भन्ने भाव आउँछ यसमा । अंग्रेजी भाषाको मोहले युवापुस्तलाई छपक्कै छोपेको छ ।

युवायुवतीको कुरा छोडौं । आजकाल शहरका बाबुआमाहरु आफ्ना छोराछोरीसँग कुरा गर्दा जानिनजानी अंग्रेजी शब्द प्रयोग गर्छन् । बाबु, ‘एप्पल’ खाउ । डोर ओपन गरे । ‘ह्यान्ड वास’ गर । बुकहरु थन्क्याउ । यस्तै यस्तै ।

सर्वसाधारण मात्रै होइन, देशको कला र संस्कृतिको प्रबद्र्धन गर्ने, देशका गहना भनिने सेलिब्रिटीहरु यो मामलामा झनै अगाडि छन् । सामाजिक सञ्जालमा लेख्दा होस वा सञ्चारमाध्यममा अन्तरवार्ता दिँदा, उनीहरुलाई अंग्रेजी शब्द भरमार घुसाउनैपर्छ । अंग्रेजी फरर बोल्ने कलाकारहरुको त शान नै छुट्टै । यही आडम्बरले आज नेपाली भाषा तिरस्कृत हुँदै गइरहेको छ ।

भाषा भनेको संवादको माध्यम मात्र होइन, कुनै पनि देशको सभ्यता र पहिचान हो । जसले आफ्नो भाषालाई माया गर्दैन उसले आफूलाई देशभक्त भन्नु व्यर्थ छ । आज हाम्रै देशमा यस्ता निजी विद्यालयहरु पनि छन्, जहाँ नेपाली बोलेबापत बालबालिकाले सजाय भोग्नुपर्छ । र, अभिभावकहरु यसमा गर्व गर्छन् कि उनीहरुको छोराछोरी पढ्ने स्कुलमा नेपाली बोल्न पाइँदैन ।

दिनहुँ छन्द न बन्दका अंग्रेजी वाक्यहरुले सामाजिक सञ्जालका भित्ताहरु भरिएका हुन्छन् । आफूले राम्ररी प्रयोग गर्न सक्ने मातृभाषा हुँदाहुँदै किन अर्को भाषाको बलत्कार गर्ने ? सबै मानिसले गलत प्रयोग गर्छन् भन्ने होइन । अहिलेको पुस्तामा धेरै मानिसहरु अङ्ग्रेजीमा पोख्त छन् । तर मेरो अनुसन्धानअनुसार धेरै मनिसहरुले अहिले अङ्ग्रेजी र नेपाली दुइटै भाषाको दुरुपयोग गरेका छन् ।

कुनै बच्चा जन्मिएर बोल्न सुरु गर्ने बितिक्कै उसलाई आमा होइन, मम्मी भन्न सिकाइन्छ । बुवा वा बाबा होइन, ड्याडी वा पापा भन्न लगाइन्छ । धेरैजसो अभिभाबकहरु घरमा बोलचालमा आउने सामान्य कुराहरुलाई सुद्द नेपालीमा भन्नुको सट्टा टुटेफुटेको अङ्ग्रेजीमा भन्न रुचाउँछन् । आफ्ना बाबुनानीले नेपाली शब्दहरु नजानेकोमा उनीहरुलाई ग्लानी होइन गर्व हुन्छ । नेपाली नसिके नि हुन्छ भन्ने मानसिकता छ । बच्चाहरुले अंग्रेजी फरर बोलिदिए आमाबाबुलाई पुग्छ ।

यता निजी स्कुलका आफ्नै दुख छन् । बिचरा सरकारी स्कुलमा पढेका शिक्षक–शिक्षिकाहरुलाई उनीहरु अंग्रेजी मात्र बोल्न दवाव दिन्छन् । टुटुफुटेको नै किन नहोस स्कुलले आयोजना गर्ने कार्यक्रमहरुमा बाबुनानीहरुलाई जबर्जस्ति अङ्ग्रेजी भाषाको स्क्रिप्ट रटाएर बोल्न लगाइन्छ । बच्चाहरु कनिकनि बोल्छन् । जसले राम्ररी अंग्रेजी बोल्छ, त्यही शिक्षक–विद्यार्थी स्कुलको प्रिय हुन्छ ।

यो बच्चाहरुको समस्या पक्कै होइन । यो त पुरै अङ्ग्रेजी भाषालाई अनावश्यक बढावा दिने परिपाटी र भाषा प्रतिको गलत अबधारणाको उपज हो । हरेक स्कुलले अङ्ग्रेजी भाषा राम्रोसँग सिकाउने र यसको महत्व राम्ररी बुझाउने तर माध्यम भाषा नेपाली नैए बनाउँदा त्यो सिकाइ बढि प्रभावकारी हुन्थ्यो कि ? आफुले घरबाट भाषाको गलत प्रयोग गरेर बच्चाको सिकाइमा नकारात्मक भूमिका खेलेको अभिभावकले कहिले महसुस गर्ने ?

त्यसो त काठमाडौंमै केही त्यस्ता निजी स्कुलहरु छन, जहाँ भाषालाई भन्दा सिकाइलाई धेरै प्राथमिकता दिएर पढाइरहेछन् । केही समय अगाडि म यस्तै एउटा स्कुलमा आबद्ध थिएँ । त्यो स्कुलमा अङ्ग्रेजी भाषालाई गरिखाने भाषाको रुपमा मात्र लिइन्थ्यो । त्यस्तै स्कुलका उत्पादनले हरेक क्षेत्रमा नाम कमाएका छन् । आज उच्च ओहदामा रहेका व्यक्तिहरुलाई हेर्ने हो भने धेरैजसो सरकारी स्कुल पढेकाहरुको बाहुल्य छ । हाम्रो भाषाप्रतिको सोच कति संकुचित रहेछ भन्ने मैले त्यही स्कुलबाट बुझ्ने मौका पाएँ ।

केही महिना अगाडी, नेपाली चलचित्रकी एकजना अभिनेत्री आफैंले निर्माण गरेको फिल्मको प्रतिक्रिया बुझ् हलमा पुगिन् । पत्रकारहरुले उनलाई घेरिहाले । दर्शकको भिडभाडमा पत्रकारहरुले सोधे, ‘फिल्म कस्तो चलिरहेको छ ? दर्शकको प्रतिक्रिया कस्तो पाउनुभएको छ ? अहिलेसम्म कतिको व्यापार गर्यो ?’

प्रत्यूत्तरमा अभिनेत्रीले भनिन्, ‘मलाई नेपालीमा भन्न आउँदैन, त्यस्तै टेन मिलियन समेथिङ समेथिङ ।’ दर्शकको भिडमा गर्वसाथ उनले दिएको अभिब्यक्ती देख्दा म अचम्ममा परेँ । नेपाली फिल्म बनाएर त्यसमा अभिनयसमेत गरेकी अभिनेत्रीलाई नेपालीमा एक करोड भन्ने आउँदैन ? यसमा हामीले दुख मान्ने कि लाज मान्ने ? अनि यस्तै कलाकारले नेपाली संस्कृतिलाई माया गरिदिनुस, नेपाली चलचित्रलाई माया गरिदिनुस भन्दा हामीले मानेर उनीहरुको फिल्म हेर्न गइदिनुपर्ने ? उनीहरुलाई राष्ट्रका गहना मानिराख्नुपर्ने ?

यो त एउटा उदाहरण मात्र हो । नेपालमा कति धेरै छन् यस्ता कलाकारहरु जो आफुले के बोलिरहेको छु भन्ने नै भेउ पाउँदैनन् । जब उनीहरुले बोलेका अन्टसन्ट कुरा मिडियामा भाइरल हुन्छन्, अनि त्यसपछि बल्ल आँखा खुल्छ ।

कतिपय मिडियाकर्मी, अभिनेत्रीहरु भन्ने गर्छन्, मेरो नेपाली कमजोर भएको कारणले अभिनय गर्न गाह्रो भयो । मैले नबुझेको कुरा चाहीँ नेपाली भाषा हुर्किएकाहरुले दुई–चार अक्षर अंग्रेजी जाँदै यस्तो कुरा गर्न कसरी सकेको होला ? यदी उनीहरुको मातृभाषा अरु कुनै भए त्यो स्वाभाविक पनि हुन्थ्यो होला । परिवारमा नेपाली नबोल्ने भए पनि एउटा कुरा । नत्र केको नाटक ?

नेपालको छिमेकी भारतीय चलचित्र उद्योगमा सेलिब्रेटीहरु अनौपचारिक संवाद अंग्रेजी भाषामा गर्छन् । संभवत नेपाली कलाकारलाई त्यही हावा लागेको होला । तर, बलिउड सेलिब्रिटीले मलाई हिन्दीमा बोल्न आउँदैन भनेर मिडियामा अन्तरवार्ता दिएको पाइँदैन । बरु मिडियामा प्रस्तुत हुँदा उनीहरु हिन्दी नै बोल्छन् । सार्वजनिक कार्यक्रममा पनि हिन्दी बोल्नछन् । सकेसम्म सुद्द बोल्ने प्रयास पनि गर्छन् । नक्कल त यस्तो कुराको पो गर्नु ।

केही समय अगाडि मेरो स्कुलमा नेपाली भाषा पढाउने एक शिक्षिकासँग एउटा पुस्तक मेलामा भेट भएको थियो । त्यहाँ धेरै पुस्तकहरु राखिएका थिए नेपाली लेखकहरुले लेखेका । मलाई वीपी कोइरालाको पुस्तक किन्नु थियो र किनेँ । उनले सोधिन्, के हो यो ? कस्तो खालको किताब हो ? मैले हाँसो थाम्न सकिनँ । उनलाई प्रश्न गरेँ, ‘तपाईं नेपाली पढाउने शिक्षिका भएर वीपी कोइरालाको बारेमा थाहा छैन ?’

उनले नाक खुम्च्याउँदै भनिन्, ‘नाई, म त नेपाली किताब नै पढ्दिन ।’

मैले सोधेँ, ‘कुन भाषाको किताब पढ्नुहुन्छ त त्यसो भए ?’ उनको बोली बन्द भयो । कुनै विदेशी किताबको नाम लिन सकिनन् । चुपचाप आफ्नो बाटो लागिन् । गल्ति उनी होइनन्, उनको चिन्तन हो । नेपाली किताब पढेको छैन भन्दा ठूलो देखिन्छु भन्ने भ्रम उनले पालेकी थिइन् । अन्ततः आफैं लाजले पानीपानी भइन् ।

यस्ता धेरै उदाहरणहरु छन् । राजधानीकै निजी स्कुलमा पढाउने शिक्षक–शिक्षिकाहरु, जसले नेपाली आउँदैन भन्छन्, उनीहरुको अंग्रेजी सुन्दा बेहोस भइन्छ । फेद न टुप्पाको बोल्छन् । न त उच्चारण मिलेको हुन्छ, न कुनै पदसंगती ।

म एक बर्षअगाडि आइइएलटीएसको क्लास लिन गएको थिएँ । पढाउने शिक्षक विदेशी थिए । उक्त क्लासमा आइइएलटिएसको मात्र कुरा नसिकेर भाषासबन्धी धेरै कुराहरु सिक्ने मौका पाएँ । पढाउदै गर्दा शिक्षकले सबैलाई एउटै सल्लाह दिन्थे कि हरेक देशको नागरिक सर्बप्रथम आफ्नो भाषामा अब्बल हुनु पर्छ । आफ्नो भाषामा पोख्त भए मात्र अन्य भाषा राम्रोसँग सिक्न सकिन्छ । । उनी हामीलाई पहिले नेपाली भाषा राम्ररी सिक्न र बोल्न प्रेरित गर्थे । हामी आफ्नो भाषामा राम्रो दख्खल राख्छौं भने अन्य भाषाका शब्दहरु यसलाई यो भनिन्छ भनेर बुझ्न सजिलो हुने उनको तर्क थियो ।

विश्वका शक्तीशाली र सम्पन्न देशहरु यतिक्कै आजको स्थानमा पुगेका होइनन् । उनीहरु आफ्नो भाषा र संस्कृतिलाई सधैं उच्च प्रथमिकता दिन्छन् । अङ्ग्रेजी भाषा सिक्छन्, तर सकेसम्म आफ्नै भाषामा बोल्ने गर्छन् । बोल्नै पर्ने ठाउँमा मात्र अङ्ग्रेजी भाषाको प्रयोग गर्छन् । यसको उदाहरणः जापान, कोरिया, चाइना, आदी हुन् ।

हरेक बर्ष नेपालमा मिस नेपाल प्रतियोगिता हुने गर्दछ र उक्त प्रतियोगिता जितिसकेपछि उपाधि बिजेताको अन्तरवार्ता आउन थाल्छ । उनी पुरै बनावटी शैलीमा नेपाली भाषा बोलिरहेकी हुन्छिन् । आफूलाई नेपाली राम्रो बोल्न आउँदैन भनेर देखाउने चेष्टा उनको हुन्छ । लाजमर्दो कुरा होइन र यो ? आफ्नै भाषा राम्ररी बोल्न आउँदैन भने उनी कसरी ‘मिस नेपाल’ उपाधिको हकदार बन्न सक्छिन् ?

यदि हाम्रो देशका सेलिब्रेटीहरु अङ्ग्रेजी भाषामा खत्रै भएको भए कुनै पनि सार्वजनिक समारोह तथा अन्तर्रास्ट्रियस्तरमा गएर बोल्नु पर्दा किन सक्दैनन् त ? कतिपय अवस्थामा त पुरै स्क्रिप्ट नै तयार पारेर बोल्न दिईएको हुन्छ, तर पनि स्पष्टसँग बोल्न सकिरहेका हुँदैनन् । अनि मजाकका पात्र बन्छन् । सेलिब्रटी मात्रै होइन, हाम्रा नेता र मन्त्रीहरु पनि धेरैपटक टुटेफुटेको अंग्रेजी बोलेर अन्तर्राष्ट्रिय मञ्चमा हाँसोको पात्र बनेका छन् । उनिहरुलदाई स्क्रिप्ट दिइएको हुन्छ, तर पनि राम्ररी बोल्न सक्दैनन् । अन्य देशका कतिपय प्रतिनिधिहरु भने गर्वसाथ आफ्नै देशको भाषामा बोल्छन् र उल्था गर्न लगाउँछन् ।

यसरी माथिका उदाहरणहरुबाट के प्रस्ट हुन्छ भने धेरै नेपालीहरु आफ्नै भाषाप्रतिको दृष्टिकोण सही छैन । अहिलेको प्रतिस्पर्धामक जमानामा अङ्ग्रेजी भाषा सिक्नु आवश्यक छ अन्तर्राष्ट्रिय भाषा भएकाले यसको महत्वलाई नजरअन्दाज गर्न मिल्दैन । तर, अंग्रेजीलाई महत्व दिने नाममा नेपाली भाषालाई हेला गर्नु ठिक होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment