Comments Add Comment

को हुन् जापानका नयाँ प्रधानमन्त्री सुगा ?

काठमाडौं । जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले सिन्जो आबेको स्थानमा योसिहिडे सुगालाई आफ्नो पार्टीको नेता बनाएका छन् । यससँगै अब उनी जापानको प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । गत महिना आफ्नो स्वास्थ्य अवस्थामा राम्रो नभएको भन्दै सिन्जो आबेले पदबाट राजीनामा दिएका थिए । ७१ वर्षीय सुगा आबेको निकट मानिन्छन् । सोमबार आफ्नो पार्टीभित्र भएको मतदानको क्रममा सुगाले ५३४ मध्ये ३७७ मत पाएका थिए ।

आगामी बुधबार संसदमा नयाँ प्रधानमन्त्रीको लागि निर्वाचन हुनेछ । यो निर्वाचनमा उनको पार्टीको बहुमत भएकाले सुगाको प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको हो । जापानमा सन् २०२१ को सेप्टेम्बरमा संसदीय निर्वाचन हुनेछ । त्यतिबेलासम्म उनी प्रधानमन्त्रीको रूपमा रहनेछन् ।

को हुन् योसिहिडे सुगा ?

योसिहिडे सुगाको जन्म सन् १९४८ जापानको अकितामा रहेको ओगाची जिल्लामा भएको थियो । अहिले ओगाची जिल्ला युजावामा परिणत भएको छ । उनी एक स्ट्रबेरी किसानका छोरा हुन् । उनले युजावा हाइस्कुलबाट स्कुलको पढाइ सकेका थिए । त्यसपछि उनले सन् १९७३ मा होसेई युनिभर्सिटीबाट कानुनमा स्नातक सकाएका थिए । उनले होसेई युनिभर्सिटी छान्नुको कारण थियो – यो सबैभन्दा सस्तो थियो । साथै, उनी एक कार्डबोर्ड फ्याक्ट्रीमा काम गर्थे र रातिको कक्षा लिन्थे ।

स्नातकको अध्ययन सकेपछि उनको राजनीतिक यात्रा सुरु भयो । पढाइ सकिएसँगै उनले संसदीय निर्वाचनको अभियानका लागि काम गरे । पछि उनले लिबरल डेमोक्रेटिक पार्टीको एक सांसदको सेक्रेटरीको रुपमा काम गरे । त्यसपछि उनले आफ्नै राजनीतिक करियर सुरु गरे । सन् १९८७ मा उनी योकोहामा सिटी काउन्सिलमा निर्वाचित भए र सन् १९९६ मा पहिलोपटक उनी जापानको सांसद बने । सन् २००५ मा तत्कालीन प्रधानमन्त्री जुनिचिरो कोइजुमीले उनलाई आन्तरिक मामिला तथा सञ्चार विभागका वरिष्ठ उपमन्त्री बनाएका थिए ।

त्यसपछि प्रधानमन्त्री बनेका सिन्जो आबेले उनलाई तीन क्याबिनेट पद दिएर वरिष्ठ मन्त्री बनाएका थिए र सन् २००७ सम्म उनी यो जिम्मेवारीमा थिए । प्रधानमन्त्री सिन्जो आबेसँग उनको सधैं राम्रो सम्बन्ध कायम रह्यो । सन् २०१२ मा आबे पुनः प्रधानमन्त्री बन्दा उनले सुगालाई मुख्य क्याबिनेट सेक्रेटरीको प्रभावशाली पद सुम्पिए ।

पछिल्लो आठ वर्षमा आबेको दाहिने हात मानिने सुगा चर्चामा रहे । उनले प्रत्येक दिन दुईपटक मिडिया ब्रिफिङ गर्नुपर्थ्यो । जापानको जटिल कर्मचारीतन्त्रको व्यवस्थापनको काम पनि उनैको जिम्मामा रहेको बताइने गरेको छ । सन् २०१९ मा जापानका सम्राट अकिहितो हटेसँगै नयाँ शाही युगको नाम राख्ने जिम्मा पनि उनले पाएका थिए । नयाँ सम्राट नरुहितोको अधीनमा रहेको नयाँ शाही युगको नाम ‘रिवा’ राखिएको छ । यसको अर्थ सुन्दर सद्भाव भन्ने हुन्छ । सुगाले नै यसको घोषणा गरेका थिए । जसको कारण उनलाई प्रेमपूर्वक ‘अंकल रिवा’ भनेर पनि सम्बोधन गरिन्छ ।

अगस्ट २८ मा आबेले पदबाट राजीनामा दिने निर्णय गर्दा सुगा नै जापानको नयाँ प्रधानमन्त्री हुन सक्ने बताइएको थियो । सेप्टेम्बर २ मा उनले प्रधानमन्त्री पदको लागि उम्मेदवारी दिने निर्णय गरेका थिए । तर त्यसभन्दा पहिला नै पार्टीका अधिकांश मानिसहरुले सुगालाई आफ्नो समर्थन दिने घोषणा गरिसकेका थिए । त्यसैले सोमबार पार्टीले उनलाई आफ्नो नेता चयन गरेको हो । उनी पार्टीका यस्तो नेता हुन्, जो कुनै पनि गुटमा छैनन् । साथै, उनलाई राजनीति आफ्ना पुस्ताले दिएका पनि होइनन् ।

जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री पदमा रहेका आबेपछि अब सुगा नै मुलुकलाई स्थायित्व र निरन्तरता दिन सक्ने नेताको रुपमा रहेका छन् । उनले प्रधानमन्त्रीको उम्मेदवारीको घोषणा गर्ने क्रममा आबेको आर्थिक नीतिलाई निरन्तरता दिने बताएका थिए, जसलाई आबेनोमिक्स भनिन्छ । यो नीति सहज मौद्रिक अवस्था, राजकोषीय प्रोत्साहन र संरचनात्मक सुधारको आधारमा बनाइएको थियो ।

सुगाको लक्ष्य जापानको युद्धपछि बनाइएको शान्तिवादी संविधान संशोधन गर्नु रहेको छ । जसको आधारमा जापानले आफ्नो सेल्फ डिसेन्स फोर्सलाई वैध बनाउन सक्छ । आबेले पनि यसैमा जोड दिँदै आएका थिए । यद्यपि, अहिले सुगाको चुनौती कोरोना भाइरसको महामारी र यसको कारण मुलुकमा उत्पन्न भएको आर्थिक संकट समाधान गर्नु रहेको छ ।

सुगा जापानमा कोरोना भाइरसको परीक्षण बढाउन चाहन्छन् । उनको उद्देश्य आगामी वर्षको ६ महिनामा खोप उपलब्ध गराउनु रहेको छ । उनी श्रमिकको न्यूनतम आम्दानी बढाएर कृषि सुधार तथा पर्यटनलाई बढावा दिन चाहन्छन् । जसको कारण मुलुकको क्षेत्रीय अर्थतन्त्र पुनर्जीवित हुने उनको विश्वास छ ।

विदेश नीतिमा सुगा अमेरिका, भारत र चीनसँग स्थिर सम्बन्ध कायम राख्ने पक्षमा छन् । सन् १९७० र १९८० को दशकमा उत्तर कोरियाले गरेको जापानी नागरिकको अपहरणको मामिला सुल्झाउने पनि उनको प्रयास रहनेछ । जसमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग बिनाशर्त बैठक बस्ने प्रस्ताव पनि सामेल छ ।

स्रोत : बीबीसी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment