Comments Add Comment

बक्सिङ प्रशिक्षक रहिमुभको बिदाइ

१ असोज, काठमाडौं । नेपाल बक्सिङ संघले बक्सिङका विदेशी प्रशिक्षक अलिशेर रहिमुभको बिहीबार बिदाइ गरेको छ । बक्सिङ संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, अध्यक्ष राम अवाले, प्रशिक्षक, खेलाडीलगायतले उनलाई बिदाइ गरे ।

रहिमुभ बिहीबारै स्वदेश (उज्वेकिस्तान) फर्कदै छन् । नेपालबाट उनी नेपाल एयरलाइन्सबाट पहिले दुबइ जाने छन् । त्यहाँबाट उज्वेकिस्तान एयरलाइन्सबाट गृह नगर तास्केन्त जाने तालिका छ । रहिमुभको नेपालबाट बिहीबार राति १० : ३० बजेको उडान छ ।

रहिमुभ गत अक्टोबरमा १ वर्षका लागि नेपाल आएका थिए । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड– १९) कारण निर्धारित समयअघि नै स्वदेश फर्कन लागेको बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् ।

रहिमुभको प्रशिक्षणमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) तथा जोर्डनमा भएको ओलम्पिक क्वालिफाइङमा सहभागिता जनाएको थियो । १३ औं सागमा नेपालले ३ स्वर्ण, ६ रजत र ६ कास्य जितेको थियो । ओलम्पिक क्वालिफाइङमा सनिल शाहीले १ बाउट जितेका थिए ।

बिदाइका अवसरमा बक्सिङ संघका अध्यक्ष राम अवालेले रहिमुभको प्रशिक्षणमा नेपालले ऐतिहासिक सफलता प्राप्त गर्न सफल भएको बताउदै रहिमुभसहित उज्वेकिस्तान बक्सिङ संघलाई धन्यवाद दिए । प्रशिक्षक रहिमुभले अझ राम्रो प्रशिक्षण पाए नेपाली खेलाडीमा विगतको भन्दा राम्रो नतिजा दिने क्षमता रहेको अवालेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment