Comments Add Comment

गीता दर्शन : असुरी स्वभाव भएका व्यक्तिको पतन

मान्छेको सोंच–चिन्तन अनुसार उनीहरुको वर्गिकरण गर्न सकिन्छ, कुन व्यक्ति निच र कुन व्यक्ति श्रेष्ठ । सोच्ने तौर–तरिका र ढंग अनुसार नै उनीहरुको व्यवहार र स्वभाव पनि निर्माण हुन्छ । अतः स्वभाव, प्रवृत्ति र व्यवहार नै मान्छेलाई चिन्ने आधार हुन् ।

कुन व्यक्ति कस्तो भन्ने कुरा उनीहरुको स्वभाव र व्यवहारमा नै स्पष्ट झल्कन्छ । कोही अत्यान्तै लोभी, क्रोधी, इर्ष्यालु, घमण्डी, अहंकारी, कठोर हुन्छन् । यस्ता व्यक्तिलाई गीतामा ‘असुरी’ अर्थात राक्षसी श्रेणीमा राखेको छ । यस्ता व्यक्तिहरु समाज र मानव समुदायको लागि हानिकारक हुन्छ । उनीहरुले समाजलाई दुःख, कष्टको गञ्जागोलमा फसाउने चेष्टा गरिरहन्छन् ।

गीतमा भनिएको छ, ‘अहंकार, लोभ, क्रोध, अज्ञानता यी सबै दुर्गुण असुरी स्वभाव लिएर जन्मिएका व्यक्तिमा हुन्छ ।’

असुरी स्वभाव भएका यस्ता व्यक्तिले आफ्नो स्वार्थलाई मात्र सर्वोपरी ठान्छन् । उनीहरुको सोच्ने र बुझ्ने ढंग पनि निम्निस्तरको हुन्छ । त्यही कारण उनीहरु विश्वासका लायक हुँदैनन् । उनीहरुको कुनै भरोसा र आशा हुँदैन । सत्य, अहिंसा, सदाचार, पवित्रता उनीहरुमा पटक्कै हुँदैन । जालझेल गर्ने, असत्यको आड लिने, अरुको आस्था र भावनामाथि खेलबाड गर्ने, अत्याचार गर्ने उनीहरु कर्ममा विश्वास गर्दैनन् । श्रम, त्याग र इमान्दारितामा उनीहरुको कतिपनि लगाव हुँदैन ।

यस्ता असुर स्वभावका व्यक्तिहरु भोगविलासमा जीवन नष्ट गरिरहेका हुन्छन् । भौतिक सुखसयालकै खोजीमा जीवनभर भौतारिरहेका हुन्छन् । मानविय जीवनको मूल्य, महत्व र सौन्दर्यको न खोजी गर्छ, न त्यसलाई बुझ्ने प्रयास नै गर्छन् ।

त्यही कारण असुरी स्वभावका व्यक्तिहरु जस्तोसुकै कृत्य गरेर पनि धनदौलत आर्जन गर्न मरिहत्ते गरिरहेका हुन्छन् । शक्ति र सत्ताका लागि अनेक दाउपेच चालिरहेका हुन्छन् । उनीहरु भ्रष्ट मतिका र अराजक हुन्छन् । उनीहरुलाई यो संसार भौतिकताभन्दा तल–माथि केही छैन भन्ने लाग्छ ।

असुरी स्वभावका यस्ता व्यक्तिहरु भोगविलासबाट कहिल्यै तृप्त हुँदैनन् । शारीरिक र भौतिक सुखभोगका लागि मरिहत्ते गर्छन् । तर, कुनै विन्दुमा पुगेर सन्तुष्ट अनुभव गर्न सक्दैनन् । त्यसैले उनीहरु सधै अन्तोषी, दुःखी, कुष्ठित हुन्छन् ।

गीतामा भनिएको छ, असुरी स्वभावका यस्ता व्यक्तिहरु आफ्नै मोहजालमा फसेर कहिल्यै उन्मुक्त नभई मृत्युको मुखमा पुग्छन् ।

आफ्नो इच्छा पुरा गर्नु नै सर्वोपरी मानेर भोगविलासमा लिप्त हुने उनीहरु धनदौलत जोड्नका लागि जस्तोसुकै कृत्य गर्न पनि बाँकी राख्दैनन् । त्यसैले यस्ता व्यक्तिहरु समाजका लागि जहिले पनि बोझ बन्छन् ।

यस्ता व्यक्तिहरु अरुलाई घृणा, हिंसा गर्न पाउँदा खुसी हुन्छन् । अरुको दुर्गतीमा रमाउँछन् । अरुको आपत–विपतमा सन्तुष्टि लिन्छन् ।

कुनैपनि काम गर्दा वा निर्णय लिदा उनीहरुले ढंग पुर्याउँदैनन् । छोटो सोचाई राखेर काम गर्छन् । दीर्घकालिन सोंच र सबैको हितका लागि काम गर्न सक्दैनन् । यस्ता असुरी स्वभाव भएका लोभी, भ्रष्ट, अहंकारी, भौतिक भोग विलासमा रमाउने, दृष्ट, कठोर व्यक्ति आफ्नै कुकर्मबाट पतन हुन्छन् ।

गीतामा भनिएको छ, ‘काम, क्रोध र लोभ नर्कको यी तीन द्वारवाट उनीहरुको आत्मको पतन हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment