Comments Add Comment

रिएजेन्टको अभावले वीरगञ्जमा रोकियो पीसीआर परीक्षण

फाइल तस्वीर

६ असोज, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमण भए नभएको जाँच गर्ने पीसीआर परीक्षण रोकिएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा रिएजेन्ट किट सकिएकोले पीसीआर परीक्षण रोकिएको हो ।

नारायणी अस्पतालस्थित प्रयोगशालाका अनुसार अस्पतालले खरिद गरेको रिएजेन्ट किट सकिएको छ । वीरगञ्ज महानगरपालिकाले पठाएको किट काम नलाग्ने भएको छ । त्यसैले गर्दा पीसीआर परीक्षण कार्य नै अवरुद्ध हुन पुगेको छ ।

नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विषेशज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले रिएजेन्ट सकिएकोले पीसीआर परीक्षण बन्द भएको जानकारी दिए । ‘इमर्जेन्सीमा प्रयोग गर्नका लागि बाहेक रिएजेन्ट किट सकिएको छ । रिएजेन्ट लिनका लागि साधन पठाइसकेका छौं,’ उनले भने, ‘रिएजेन्ट किट नआउँदासम्म पीसीआर परीक्षण सम्भव छैन ।’

पीसीआर परीक्षण नहुने भएपछि नारायणी अस्पतालले पर्सा, बारा, रौतहटका स्वास्थ्य कार्यालय, वीरगञ्ज महानगरपालिकालाई स्वाब नमुना संकलन नगर्नु नगराउनु भनी पत्राचार गरिएको छ । प्रयोगशाला प्रमुख कन्सल्टेन्ट प्याथोलोजिष्ट डाक्टर निरा पाठकले विभिन्न प्राविधिक कारणले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि स्वाब संकलन बन्द गरिएको ब्यहोरा सहितको पत्राचार गरेकी हुन् ।

अर्को निर्णय एवं व्यवस्था नहुँदासम्म पालिकाहरुमा नमुना संकलन र परीक्षण समेत नगरिने पत्रमा उल्लेख छ ।

विगतमा मन्त्रालयले नै रिएजेन्ट किट लगायत आवश्यक केमिकल खरिद गरेर पठाउने गरेको थियो । पछिल्ला दिनमा ल्याबमा आवश्यक केमिकलको बन्दोबस्ती स्वयं अस्पताललाई गर्न भनिएको छ । तर अस्पतालले आवश्यक मात्रामा बन्दोबस्त गर्न नसकेको अवस्था छ ।

अस्पतालमा स्वाब नमुना परीक्षणका लागि चाप बढेकोले पनि किटहरु खरिद गरेर धान्न नसक्ने अवस्थामा पुगेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सञ्जय ठाकुर बताउँछन् ।
‘टेन्डरमार्फत किट खरिद गर्न समय लाग्छ, कोटेशनबाट ५ लाख रुपैयाँसम्मको खरिद गर्न सकिन्छ । ५ लाख रुपैयाँमा ३ सय जति किट आउँछ । दैनिक त्यत्तिकै हाराहारीमा ल्याबमा परीक्षण हुन्छ,’ उनले भने, ‘महानगरपालिकाले ५ सय किट दिएको रहेछ, त्यो पनि काम नलाग्ने भयो भनेर ल्याबबाट जानकारी आएको छ । ’

उनले समन्वय नै नगरी स्वाब नमुना संकलन गरे पठाउने प्रवृत्तिले पनि समस्या खडा गरेको बताए । ‘हामीले मापदण्ड अनुसार कन्ट्याक्ट ट्रेसिङमा परेका, लक्षण देखिएकाहरुलाई प्राथमिकताका साथ पीसीआर परीक्षण गराउने हो,’ उनले भन, ‘तर यहाँ त समन्वय नै नगरी, जसले जहिले जसरी मन लाग्छ, त्यसरी स्वाब नमुना संकलन गरेर पठाइरहेका छन् । अनि कसरी काम गर्ने ?’

जगदम्बाबाट समन्वय नै नगरी १९० वटा स्वाब नमुना पठाएको, बाराको निजगढबाट पनि त्यसरी नै नमुना संकलन गरेर पठाएको पाइएको डाक्टर ठाकुरको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment