Comments Add Comment

ग्रेडिङमा असन्तुष्टि जनाउँदै क्यानलाई खेलाडीको ध्यानाकर्षणपत्र

क्यानको प्रतिक्रिया जान्न बाँकी छ : पारस

११ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हालै सार्वजनिक गरेको पुरुष र महिला क्रिकेटरको ग्रेडिङलाई लिएर उत्पन्न विवाद गहिरिँदै गएको छ । ग्रेडिङमा भएका त्रुटि र विरोधाभाषका कारण राष्ट्रिय टिमकै खेलाडीहरु सन्तुष्ट छैनन् ।

गत मंगलबार चितवनमा बसेको नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकबाट खेलाडीको ग्रेडिङ लिस्ट सार्वजनिक भएको थियो । पुरुषमा १८ जना समावेश हुँदा पहिलोपटक भएको महिला खेलाडीको ग्रेडिङमा १९ जना परेका थिए । त्यसलगत्तै क्रिकेटवृत्तमा विभिन्न टिका–टिप्पणी भए ।

अहिले आएरु पुरुष र महिलाको राष्ट्रिय टिमबाट खेल्ने खेलाडीहरुले पनि ग्रेडिङप्रति असन्तुष्टि जनाएका छन् । खेलाडीहरुसँग सल्लाह नै नगरी क्यानले ग्रेडिङ सार्वजनिक गरेको उनीहरुको गुनासो छ । दुवै टिमका खेलाडीहरुले ग्रेडिङमा असन्तुष्टि जनाउँदै क्यानलाई ध्यानाकर्षण पत्र पठाएका छन् ।

राष्ट्रिय टिमका निवर्तमान कप्तान तथा अलराउण्डर पारस खड्काले असन्तुष्टिबारे सम्बन्धित निकायमा जानकारी गराएको र के आधारमा कसरी ग्रेडिङ गरियो भन्ने जवाफ क्यानले दिनुपर्ने बताए ।

‘वास्तविक हकदारले पाउनुपर्ने कुरा पाउनुपर्‍यो भन्ने हो, अब क्यानबाट के प्रतिक्रिया आउँछ हेर्न बाँकी छ,’ खड्काले भने ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरुबाट ध्यानाकर्षण पत्र क्यानमा आएको पुष्टि गरे ।

‘खेलाडीहरुले ग्रेडिङबारे ध्यानआकर्षण गराएका छन् । आगामी साधारणसभाभन्दा अघि नै यस विषयमा छलफल हुनेछ,’ उने भने । अहिले नै के हुन्छ भन्न नसकिने चन्दले बताए ।

महिला र पुरुष खेलाडीले क्यानसँगै क्रिकेट प्लेअर्स एसोसिएसन नेपाल सिप्यानमा पनि ध्याकर्षण गर्दै पत्र पठाएका छन् । सिप्यानका महासचिवसमेत रहेका पारसले यसबारे छलफल गरिने जानकारी दिए ।

राष्ट्रिय महिला टिमका एक सदस्यले क्यानले गरेको खेलाडी ग्रेडिङबाट आफू आश्चर्यमा परेको बताइन् ।

‘सुरुमा त मैले यो पत्याइनँ, तर त्यही नै अन्तिम लिस्ट रहेछ,’ ति खेलाडीले भनिन्,’ ग्रेडिङ त आयो तर एकदमै आश्चर्यजनक ।’

खेलाडीहरुको ग्रेडिङ गर्दा टिम कप्तानसँग पनि कुनै छलफल नै नभएको पाइएको छ । क्यान र ग्रेडिङ गर्ने समितिबीच पनि असमझदारी देखिएको छ । छनोट समितिले आफूहरुले आफ्नो काम गरिसकेको र बोर्डले अनुमोदन गरिसकेको कुरालाई अब केही गर्न नसक्ने बताउँछ । उता क्यान पदाधिकारी भने छनोट समितिले गरेको काम बोर्डले अनुमोदन मात्रै गरेको बताइरहेका छन् । खेलाडीहरुले अरुले उचालेको भरमा ग्रेडिङबारे ध्यानाकर्षण पत्र पठाएको क्यानका एक पदाधिकारीको आरोप छ ।

पुरुषतर्फ २०१९ भर राष्ट्रिय टिममा खेलेका ललित नारायण राजवंशी नपर्नु आश्चर्यको रुपमा रहेको छ । यस्तै पहिलोपटक गरिएको महिला ग्रेडिङमा धेरै त्रुटि देखिएका छन् । महिलातर्फ राष्ट्रिय टिममा पछिल्लो वर्ष नखेलेका रितु कनोजिया, कविता जोशी, शोभा आले, अनुराधा चौधरी जस्ता खेलाडीलाई ग्रेडिङमा समावेश गरिएको छ । तर राष्ट्रिय टिममै रहेका ममता चौधरी, शान्ति खतिवडा, सरस्वती चौधरी जस्ता खेलाडी भने छुटेका छन् ।

क्यानले वर्ष २०२० को ग्रेडिङ वर्षको सुरुमै गर्नुपर्नेमा ८ महिनापछि सार्वजनिक गरेको हो । यसमा कोभिड १९ लाई दोषी देखाइएको छ । सन् २०२१ मा क्यानले फेरि नयाँ ग्रेडिङ गर्नुपर्छ । अहिले गरिएको ग्रेडिङ आगामी डिसेम्बरसम्मका लागि मात्र हो । वर्ष सकिन लागेको र यस वर्ष क्रिकेट गतिविधि खासै हुन नसक्दा आफ्नो स्वार्थ अनुसारको काम क्यानले गरेको खेलाडीको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment