Comments Add Comment

रोग प्रतिरोधी क्षमता बढाउने खानपान

भोजनलाई नै ओखती समान मानिन्छ । अर्थात हामीले खाने स्वस्थ्य, ताजा, पोषिलो, सुपाच्य र सन्तुलित खानेकुराले प्राणलाई बचाइराख्ने मात्र होइन, निरोगी एवं तन्दुरुस्त पनि राख्छ । प्रकृतिमा यस्ता थुप्रै खानेकुरा छन्, जो स्वादिलो त छ नै औषधिय गुणले भरिपूर्ण पनि । त्यस्ता खानेकुराको सन्तुलित र नियमित सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । अर्थात शरीर बलियो, निरोगी र तन्दुरुस्त हुन्छ ।

चोकर सहितको अन्न

गहुँ, फापर, मकै जस्ता अन्न स्वास्थ्यका लागि राम्रो मानिन्छ । किनकी यसमा चोकरको मात्रा धेरै हुन्छ । चोक्कर सहितको अन्नको सेवनले कब्जियत हुँदैन । साथै, शरीरको प्रतिरोधी क्षमता बलियो हुन्छ ।

पानी

पानीलाई प्रकृतिक औषधि पनि भनिन्छ । पर्याप्त मात्रामा पानीको सेवनले शरीरमा जम्मा भएको कयौ प्रकारको विषाक्तलाई बाहिर निकाल्न सकिन्छ ।  प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । पानीको सेवन गर्दा सकेसम्म तातो वा मनतातो पानीको सेवन गर्नुपर्छ  ।

तुलसी

तुलसी आफैमा बहुगुणी बनस्पति हो । तुलसीमा विभिन्न किसिमको औषधिय गुण पनि छ । यसमा पर्याप्त मात्रामा एन्टीबायोटिक गुण रहेको हुन्छ । जसले दुखाई कम गर्न, शरीरको प्रतिरोधी क्षमता मजबुत बनाउन सहायता प्रदान गर्छ । तुलसीका यी गुण प्राप्त गर्नका लागि प्रत्येक तीन देखि पाँच वटा पत्ता तुलसीको सेवन गर्नु पर्छ । यसलाई पानीमा हालेर तथा चियाको रुपमा पनि सेवन गर्न सकिन्छ भने हरियो पात त्यसै चपाउँदा पनि लाभ मिल्छ ।

रसिलो फल

आयुर्वेदले सात्विक खानामा जोड दिएको छ । सात्विक खाना ताजा र रसयुक्त हुने बताइन्छ । अतः यसमा फलफूललाई प्राथमिकता दिइएको छ । त्यसैले मौसम अनुकुल फलफूल सेवन गर्नु निकै लाभदायक हुन्छ ।

फलफूलमा विभिन्न पोषक तत्व पाइन्छ । साथै यसले पाचन क्रियालाई राम्रो बनाउँछ । फलफूलको नियमित सेवनले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउँछ ।

अंकुरित अन्न 

केराउ, चना, मुंग, मेथी लगायतका गेडागुडी भिजाएर अंकुराएपछि खान सकिन्छ । यस्ता गेडागुडीलाई रातभर पानीमा भिजाएर खाएमा यसले शरीरलाई स्वस्थ राख्छ । विशेषगरी यस्ता अन्नलाई उमार्नाले यसमा रहेको पोषक तत्वको क्षमता अझै बढ्ने गर्छ । साथै, यो पचाउनमा सजिलो हुनुका साथै खानमा स्वादिलो र पोषणयुक्त पनि हुन्छ ।

सलाद

सलाद अर्थात काँचो खान सकिने सागसब्जीहरु । यस्ता खानेकुराले हाम्रो पाचनयन्त्रलाई चुस्त र बलियो बनाउँछ । पाचन यन्त्र राम्रो भएमा शरीरमा अन्य रोगहरुको भय कम हुन्छ ।

सलादको रुपमा मुला, कांक्रा, गाजर, प्याज, चुकन्दर आदि प्रयोग गर्न सकिन्छ । आफ्नो हरेक छाकमा सलादलाई सामेल गराउनु उचित हुन्छ । सलादले खानेकुरा पचाउनमा थप सहयोग गर्छ ।

सन्तुलित, स्वस्थ्यवद्र्धक खानेकुरासँग दिनचर्या र मनलाई पनि अनुशासित राख्न सकियो भने शरीरमा रोगको भय हुँदैन ।

योग

योग तथा प्राणायामले शरीरलाई रोग मुक्त राख्न तथा स्वस्थ राख्न महत्वपूर्ण भूमिका निभाउने गर्छ । कुनै जानकार व्यक्तिबाट घरमै बसेर पनि योग अभ्यास गर्न सकिन्छ र यसको लाभ लिन सकिन्छ । जसले गर्दा शरीरको प्रतिरोधी क्षमता बलियो हुने गर्छ ।

हाँस्नु पनि औषधि

हाँस्नु भनेको खुसीको अभिव्यक्ति हो । जब हामी हाँस्छौं, हामीले आनन्दित महसुष गर्छौं । यसले रक्तसंचार र फोक्सोको कार्यलाई समेत फाइदा पुग्छ ।  त्यसैले त भनिन्छ, हाँस्नु आफैमा एक उपचार हो । हाँसेको बेला फोक्सोले पर्याप्त अक्सिजन ग्रहण गर्छ । दिमाग शान्त र तनामुक्त हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment