Comments Add Comment

भान्साबाटै कोरोना संक्रमण : कहाँ चुक्यो हाम्रो परिवार ?

हाम्रो परिवारमा नौ जना मध्ये ६ जना कोराना भाइरसबाट संक्रमित भयौं । दाई १२ दिनको उपचारपछि हस्पिटलबाट घर फर्किनु भयो । ५ जना होम आइसोलेनसमा बस्यौं । रिपोर्ट नेगेटिभ आएपछि आमा र भतिजको फ्ल्लाट परिवर्तन गर्यौं । ५२ दिनको बच्चो भने हामीसँगै रह्यो । होम आइसोलेसनमा रहेकालाई अहिलेसम्म कसैलाई केही समस्या भएन । कोरोना संक्रमणका कारण छिन्न भिन्न भएको परिवारका सबै सदस्यहरु १८ दिनमा हिजो रिपोर्ट नेगेटिभ आएपछि एक ठाउँमा आएका छौं । तर, कोठाकोठामा अलग–अलग बस्ने र खाने क्रम जारी छ । हाम्रो परिवार र अरुको सुरक्षालाई मध्यनगर गर्दै अझै एक हप्ता होम आइसोलेनसमा हुनेछौं । यो लेख सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोना भाइरस संक्रमणबारे हामी कहाँनिर चुक्यौ भन्नेमा केन्द्रित छ ।

दाइको छोरी प्रिन्सीका केसी लकडाउन सुरु भएको दिन चैत्र ११ गतेदेखि घरबाहिर निस्कन छोडिन् । घरको कम्पाउण्डमा पनि झरिनन् । बाहिर र कम्पाउण्डमा जाँदा पनि कोरोना सर्न सक्छ भन्ने उनको भनाइ थियो । बेलुका पाँच बजे घरको छतमा गएर कम्तिमा एक घण्टा नियमित खेल्ने गर्थिन् । यता उता केही गरेपछि कि हातमा स्यानिटाइजर लगाउथिन कि त साबुन पानीले हात धुन्थिन् ।

आमा ७५ वर्षको हुनुहुन्छ, उहाँ घरमा बस्न भन्दा बाहिरतिर हिँडडुल गर्न मन खुब पराउनुहुन्थ्यो । वरिपरीका पसलेहरुसँग पनि आमाको राम्रै चिनजान छ । आफ्ना उमेर समूहकाहरुसँग घुलमेल छ । आफूलाई मन परेको सामान किन्न र हिड्दा स्वास्थ्यलाई राम्रो हुन्छ भन्दै बाहिर गइरहनु हुन्थ्यो । चैत्र ११ गतेपछि उहाँ पनि घरबाहिर जानु भएन । कति बस्ने घरमा भन्दै उहाँ बेला बेलामा बाहिर जान खोज्नु हुन्थ्यो । तर, कोरोना संक्रमण होला, जान हुन्न भन्ने बारम्बारको चेतावनीपछि मनै नभएपनि घरमै बस्नुभाथ्यो । बाहिरको साटो छतमा गएर हिँडडुल गर्नु हुन्थ्यो ।

मैले कोरोना भाइरस सम्बन्धी समाचार तथा लेखहरु मिडियामा आएदेखि पढ्ने गरेको थिएँ । केही समय मिडिया मनिटरिङ गरेको थिएँ । कोरोना सम्बन्धी लेख पनि लेखेको थिएँ । जनचेतना फैलाउन सहयोग होस् भनेर सोसल मिडियामा सक्रिय थिएँ । कोरोना भाइरसबाट संक्रमित हुनु भएकालाई मनोबल बढाउनका लागि भन्दै फोन सम्पर्कमा हुने र सुझाव दिएको थिएँ । संगतमा रहेकालाई कोरोना भाइरसबाट जोगिनका लागि अनुरोध गरेको थिएँ । केहीलाई सचेत पनि गराएको थिएँ ।

कामका क्रममा सूचना प्रविधिलाई अधिकतम उपयोग गरेको थिएँ । कोरोना भाइरसबाट जोगिने भन्दै अत्याश्वयक बेलामा बाहेक सबै काम घरबाटै गरेको थिएँ । भेटघाट प्रायः बन्द गरेको थिएँ । मास्क र स्यानिइजर प्रयोग गरेको थिएँ । बेला बेलामा पञ्जा पनि लगाएको थिएँ । भेट्न आउँछु भन्नेहरुलाई सम्भव भएसम्म फोनबाटै कुरा टुङ्गो लगाम भन्थे । र, भेटि नै हाल्नु पर्यो भने दूरी कायम गरेको थिएँ । सुरक्षित नदेखेको र कोरोना सर्ला कि भनेर चार महिनादेखि कपाल काटेको थिएन ।

ठूलो दाइको नयाँ बजारमा गार्मेन्ट छ । पहिलो लकडाउनभर ठप्पै भयो । खुलेपछि भने सानो स्केलमा भएपनि चलाउनुपर्छ क्या हो, बरु सावधानी अपनाएर काम गर्दा उचित होला, भन्नुभयो । मैले कोरोना संक्रमण लामो समयसम्म रहन सक्ने सम्भावना भएकाले सावधानीका उपायहरु अपनाएर चलाउँदा हुन्छ भन्ने सुझाव दिएँ । त्यसपछि सिमित व्यक्ति राखेर चलाउन सुरु गर्नुभयो । मास्क सहित दैनिक घट्टेकुलोबाट नयाँ बजार जाने–आउने गर्नुहुन्थ्यो ।

कान्छो भाइ जिल्ला अदालत काठमाडौंमा काम गर्छ । उसँग मास्क अनिवार्य र सेनिटाइजर झोलामा नै हुन्थ्यो । कार्यालयमा काम गर्ने केही कर्मचारीको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको भन्दै सावधानीमा विशेष जोड दिएको थियो ।

कसैलाई लक्षण देखिएपछि वा पोजेटिभ देखिएपछि सावधानी अपनाउन थाल्नु एउटा कुरा हो, तर अनुभवले भन्छ–घर बाहिर मात्र नभई कसैलाई केही लक्षण नदेखिँदै घरभित्र कोठादेखि किचनमा समेत सुरक्षाका सबै उपायहरुलाई कडाइका साथ पालना गरम्, भाइरस भित्रिएपछि सचेत भएर मात्र बेटेरी खर्च नगरम् ।

साउन ६ गते हाम्रो छोरा जन्मिएको थियो । केहीले बच्चाका लागि तेल लगाइदिन छुट्टै व्यक्ति पाइन्छ । व्यवस्था गर्नु भनेर सुझाव दिनु भएको थियो । बाहिरबाट व्यक्ति ल्याउँदा कोरोना संक्रमणको जोखिम होला भनेर त्यो पनि परिवारभित्रबाटै गरेका थियौं । सुत्केरी भएकाले श्रीमती रुपा बस्नेत बिदामा नै थिइन । बेला बेलामा फलोअफका लागि हस्पिटल जाने बाहेक उनको पनि बाहिर आउँजाउ बन्द नै थियो । हस्पिटल जाँदा अरुसँग नजिक नहुने, अरु सामान नछुने र छोइ हालेमा स्यानिटाइजर लगाउथिन । मास्क त थिदै थियो ।

दाइको छोरो प्रिन्स केसी अनलाइनमा पढथ्यो । म र आमासँग कहिले काहीँ बाहेक उ पनि बाहिर निस्कन्थ्यो । बाहिर निस्कँदा पनि सामान ल्याउन सहयोग गर्ने अन्त कतै नछुने प्रयास गरथ्यो ।

पहिलो लकडाउनभर भाउजू बाहिर निस्कनु भएन । पछि भने फाट्यफुट्ट बाहिर निस्कनुहुन्थ्यो, त्यतिबेला मास्क लगाउनु हुन्थ्यो ।

कोरोना भाइरसबारे पढ्दा, बुझ्दा, त्यसको फैलने दर र असर हेर्दा विशेष नै सावधानी अपनाउनुपर्छ भन्ने मलाई लागेको थियो । त्यस अतिरिक्त हामी जोखिम क्षेत्रमा थियौं । आमाको उमेर, दाइमा रहेको सुगर, पहिले श्रीमती गर्भवती र पछि सुत्केरी अनि सानो बच्चा । त्यस अतिरिक्त अरुलाई पनि असर गर्न सक्छ भन्ने त छँदै थियो । बच्चा जन्मिएपछि खाटको अति जरुरी थियो । आमाले ल्याप्टो (ल्यापटप) मात्र चलाउँछ, बच्चका लागि नयाँ खाट समेत किन्दैन भनेर मलाई हप्काउनु भयो । खाट ल्याउँदा बाहिरबाट व्यक्ति पनि ल्याउनुपर्छ, हतार नगरौं भन्दै टारेको थिएँ ।

सुरुदेखि जस्तो सेनिटाइजर घरको कम्पाउण्ड र कोठामा थियो । बाहिर जाँदा मास्क प्रयोग गरिएको थियो । दुध दाइले ल्याउनु हुन्थ्यो । खाद्य सामाग्री भाइ र मैले ल्याउँथ्यौं । साथीभाइ र छरछिमेकीकोमा जान बन्द गरेका थियौं । घरमा तलमाथि पनि दुरी कायम गर्न कोसिस गरेका थियौं । हस्पिटल जाँदा र आउँदा पनि विशेष सावधानी अपनाएका थियौं । हस्पिटलमा छोरो जन्मिँदा खुशीले केही शुभचिन्तक र साथीहरु भेट्न आउँदा दुरी कायम गरेर क्याटिनमा भेटेको थिएँ । न्वारन गरिए पनि घरबाहिरका नातापाता र साथीहरुलाई समेत बोलाइएन । श्रीमती माइती पनि गइनन् ।

बेला बेलामा कोरोनाबारे छलफल चल्थ्यो । मैले गार्मेन्टमा कसरी सुरक्षाका उपाय अपाउनु भएको छ भनेर दाईलाई सोध्थे । भाइलाई अफिसमा के छ भनेर सोध्थे । मैले अरुलाई निगरानी गर्थे र सावधानी अपनाउन अनुरोध गर्थे । मलाई आमाले बढी निगरानी गर्नुहुन्थ्यो । आमा रेडियो नियमित सुन्नुहुन्छ । कोरोनाको समाचारमा त उहाँ अति नै संवेदनशिल हुनुहुन्थ्यो । कोरोनाबाट जोगिन के के गर्नुपर्छदेखि कति मरे भन्नेसम्मका जानकारी सुनाउनुहुन्थ्यो । आमाले कतिपय बेला भाउजुसँग सामाजिक सञ्जाल पनि हेर्नु हुन्थ्यो, अनि गलत विवरण पनि सही हो जस्तै गरी प्रस्तुत हुन्थ्यो । मिडिया र सामाजिक सञ्जालमा आउने कतिपय सूचना र जानकारी गलत पनि हुन्छन भन्ने बुझाएपछि भने उहाँले यस्तो भएछ, उस्तो भएछ भनेर सुनाउनुहुन्थ्यो, ताकि हामीले केही थपथाप गरिदिऔं ।

बेलुका किचनमा हामी प्राय सँगै खाना खान्थ्यौ । खाना खाने बेला नै गफ चुट्ने, अपडेट हुने र आवश्यकता अनुसार सल्लाह पनि गर्ने हाम्रो संस्कार जस्तै हो । खाना खाए लगत्तै दाईले सुगरको औषधि खानुहुन्थ्यो ।

त्यतिकैमा भाउजु र भतिजलाई ज्वरो आयो । सिटामल खाए । दुई जनालाई एकैदिन ज्वरो आउँदा फ्लु पनि हुनसक्छ भनेर घरभित्र सबैलाई मास्क लगाउन अनिवार्य गरें । अरुसँगको भेटघाट ठप्पै पार्न लगाएँ । मैले दाइलाई ठीक छ नि भन्दा भाउजुले केही दिनदेखि दाइलाई रातिमा पसिना आउने गरेको र सुत्न अप्ठारो भएको छ, भन्नुभयो । सुगरको चेक गराइरहेको छ नि भन्दा लक डाउन भएपछि जानु भएको छैन भन्नुभयो । मैले ज्वरो नाप्दा हल्का ज्वरो थियो । कमजोर भएको अनुहारले प्रष्टै झल्कायो । भोलि बिहान चेक गर्ने भन्ने भयो । दाई गार्मेन्टतिर जानु भयो । अलि ठिक भएन भन्दै दिउँसो आउनुभयो । केही औषधी पनि ल्याउनु भयो । र, खानु भयो । उहाँलाई राति ज्वरो सहित पसिना आयो । सिटामल खाएपछि भने सामान्य जस्तै भयो ।

अर्का दिन बिहान दाइ र भाइ भएर सुगर लगायतको चेक गर्न हस्पिटल जानु भयो । रिपोर्टमा सुगरको मात्रा बढेको र युरिन इन्फेक्सन देखियो । डाक्टरले सोही अनुसार औषधि दिए । मैले गार्मेन्ट नजानु भने । पछि फोन आएपछि केही बेर भएपनि पुग्नै पर्ने भयो भन्नुभयो । मैले छिटो आउनु भने । उहाँ ६ बजेतिर आउनुभयो । खाना खाइसकेपछि उहाँको अनुहार अति नै बिग्रिसकेको थियो । मैले ज्वरो पनि छ कि भनेर छाम्दा त हनहनी ज्वरो आएको । नाप्दा त १०३ डिग्री । तत्काल पानी पट्टी लगाइदिएम अनि सिटामल पनि दिएम । ज्वरो केही नियन्त्रणमा आयो । तर, पसिनाले उहाँको शरीर पूरै भिज्यो । भाउजु र भतिजलाई भने ज्वरो आउन छोड्यो । त्यसले गर्दा फ्लु होइन, युरिन इन्फेक्सनको असर होला भन्ने भयो ।

अर्को दिन बिहान डाक्टरसँग परामर्श गरे, इन्फेक्सनको एउटा कारण पनि हुन सक्छ, ज्वरो भन्ने भयो । सिटामलको समय हुँदा त तै विशेक । त्यसपछि भने ज्वरो १०० भन्दा माथि गइहाल्ने । पानी पट्टी लगायो, सिटामल खुवायो, ज्वरो कम । तरपनि शरिरमा पसिना पसिना । युरिन इन्फेक्सनको औषधि खाएपछि दाइलाई पिसाब फेर्न धेरै सहज भयो । अब त ज्वरो कम होला भनेको । तर भएन । बरु बिहान र दिउँसोमा निधारमा तापक्रम बढ्ने, बेलुका भएपछि हात र खुट्टाको तापक्रम बढ्ने भयो । रातीमा दाइलाई धेरै असहज पार्यो । ज्वरो नियन्त्रण नहुने, शरीर निकै थाक्ने, गल्ने, खाना खान पटक्कै मन नलाग्ने, पसीना पसीना हुने, तातो पानी जति खुवाउँदा पनि प्याक प्याक जस्तो गराउने । त्यसैबीचमा एक पटक खोकी लाग्यो, खोकी एक मिनेट भन्दा लामो थिएन । तर, त्यसले दाइको सारा शक्तिलाई खत्तम पारे जस्तो गर्यो । अब भने थप शंका लाग्यो, कोरोना भाइरस लागेको हुन सक्छ भनेर । कोरोना परीक्षण गराउनका लागि डाक्टरसँग परामर्श गर्यौं । अल्ट्रासाउण्ड गर्दा राम्रो हुन्छ भन्ने सुझाव आयो । परीक्षण गराइयो । रिपोर्टमा पोजेटिभ देखियो । त्यसपछि दाइलाई हस्पिटल भर्ना गराइयो ।

कोबाट र कोरोना कसरी प्रवेश गर्यो भन्ने पत्ता लगाउने प्रयास गर्यौ । मेरो दुई हप्तादेखि बाहिरी भेटघाट बन्द थियो । किनमेल गर्दा टाढैबाट सामान माग्ने र पैसा दिएर आउने गर्थें । भाइले अफिसमा अरुसँग नजिकको सम्पर्क नभएको र किनमेल गर्दा पनि नजिकबाट कोहीसँग सम्पर्क नभएको बतायो । दाइको गार्मेन्टमा बुझ्दा अरुमा लक्षण थिएन ।

दाइ साझेदारसँग मोटर साइकलमा जाने आउने गर्दा उहाँबाटै हो कि भन्दा उहाँले पनि खासै लक्षण नभएको बताउनुभयो । त्यतिबेला सुरक्षाकर्मीमा पनि धेरै फैलिसकेको थियो । मास्क प्रयोगमा विशेष ध्यान नदिँदा सुरक्षा चेक गर्दा हो कि भन्ने भयो, त्यसको प्रष्ट भेउ पाउन सकिएन ।

म, भाइ, भाउजु, भतिजमा संक्रमण भएर पछि दाइलाई लक्षण देखिएको हो कि भन्नेमा पनि धेरै तर्क वितर्क भए, तर त्यसको पनि आधार पाउन सकिएन । घरमा अरुलाई संक्रमणमा भएर हामीलाई संक्रमण भएको हो कि भनेर पनि खोधीखोजी गर्ने प्रयास गर्यौ, त्यसमा पनि कुनै संकेत मिलेन । घर परिवारमा २० जनाको परिक्षण गर्दा हाम्रो परिवारका सदस्यलाइ मात्र पोजेटिभ आउनुले त्यो आशंकालाई पनि पूर्ण रुपमा गलत गरिदियो । समाजमा अलि टाढा रहेकालाई पोजेटिभ देखिएको जानकारी आएपनि छिमेकमै अरुलाई भएको जानकारी गाइगुइ समेत सुनिएको थिएन ।

त्यसपछि पनि समीक्षा जारी रह्यो । दाइले सुगरको नियमित परीक्षण गराएको भए सुगर नियन्त्रणमा हुन सक्थ्यो । त्यो भएकौ भए युरिन इन्फेक्सन नहुन सक्थ्यो । र, कोरोनाले आक्रमण नगर्न सक्थ्यो, लगायतका कुरा आए ।

कसरी र कोबाट हाम्रो परिवारमा कोरोना पस्यो भन्ने थाहा नभएपनि परिवारभित्र कसरी फैलियो भन्ने अडकल र अनुमान चल्यो । मेरो अनुमानमा दाइ, भाउजू भतिजमा ज्वरो आउनु अघि नै परिवारभित्र कोरोना फैलिसकेको हुनुपर्छ । र, त्यसको मुख्य कारक किचन हुनुपर्छ । किनकि सबैतिर सावधानी अपनाएपनि किचनमा प्राय हामी सबै हुन्थ्यौ र सँगै खाना खान्थ्यौं । कतिपय बेला त लामै कुरा पनि गरथ्यौं ।

कसैलाई लक्षण देखिएपछि वा पोजेटिभ देखिएपछि सावधानी अपनाउन थाल्नु एउटा कुरा हो, तर अनुभवले भन्छ–घर बाहिर मात्र नभई कसैलाई केही लक्षण नदेखिँदै घरभित्र कोठादेखि किचनमा समेत सुरक्षाका सबै उपायहरुलाई कडाइका साथ पालना गरम्, भाइरस भित्रिएपछि सचेत भएर मात्र बेटेरी खर्च नगरम् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment