
१५ असोज, काठमाडौं । सरकारले मनाङस्थित चुलु वेस्ट हिमाल नेपाली सेनाले प्रयोग गर्ने गरी प्रदान गरेको छ । यो हिमाललाई अब नेपाली सेनाले ‘ट्रेनिङ पीक’का रुपमा प्रयोग गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार ६ हजार ४ सय ९० मिटर उचाईको यो हिमाललाई नेपाली सेनाले सैनिक उच्च शिखर शिक्षालयमा सञ्चालन हुने माउन्टेन वारफेयर एडभान्स तालिमका रुपमा प्रयोग गर्ने भएको छ ।
नेपालमा पहिलोपटक कुनै एक निकायले प्रयोग गर्ने गरी चुचुरो जिम्मा दिइएको यो पहिलो पटक हो । यसअघि हिमालको व्यवस्थापन भने दिइने प्रचलन रहेको छ । सोही अनुसार नेपाल पर्वतारोहण संघले साढे दुई दर्जन हिमालको व्यवस्थापन तथा बजारीकरण गर्दै आएको छ । यो पीक समेत यसअघि संघबाटै व्यवस्थापन भइरहेको थियो ।
मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार यो हिमाल अब सैनिक तालिममा सहभागी हुने शिक्षक, शिक्षार्थी र विदेशी शिक्षार्थीको आरोहणमा प्रयोग हुनेछ । सरकारले यो पिक प्रयोग गरेवापत तिर्नुपर्ने दस्तुर समेत नेपाली सेनाका लागि मिनाहा गरेको छ । १० वर्षसम्म सेनाले तालिम प्रयोजनका लागि यो हिमाल निःशुल्क प्रयोग गर्न सक्ने भएको छ ।
यसअघि सरकारले सेनालाई हिमाल प्रदान गर्ने सम्बन्धमा पर्यटन विभाग र नेपाल पर्वतारोहण संघको राय मागेको थियो । सो क्रममा विभागले सम्भावित केही चुचुरो प्रस्ताव पठाएका थिए ।
विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार सोही अनुसार मन्त्रिपरिषद्ले चुचुरो छनोट गरी सेनालाई जिम्मा दिएको हो । नेपाली सेनाले उच्च हिमाली भेगमा हुने विशेष प्रकारको तालीम कोर्षमा पर्वतारोहणसमेत समावेश गरेको छ ।
नेपालमा सरकारले ४ सय भन्दा बढी चुचुरोहरु अहिले आरोहणका लागि खुला गरेको छ । त्यसमध्ये केही दर्जन चुचुरोमा मात्र नियमित आरोहण हुन्छ ।
प्रतिक्रिया 4