Comments Add Comment

प्रलोभनको प्रकोपमा फसेको भविश्य

‘प्रलोभन’ शब्द सुन्दा ‘लोभ’ भन्न खोजेजस्तो लाग्थ्यो मलाई । स्कुलमा पढ्दा पनि दुबै शब्द प्रायः सँगै पढिन्थ्यो ।

‘लोभ अर्थात् प्रलोभन’ भनेर । दुवै शब्दको अर्थ एउटै हो भन्ने विचार मेरो दिमागमा गढिसकेको थियो । कसैले लोभ–प्रलोभनमा पर्नुहुन्न भन्दा लोभी बन्न हुन्न भन्ने सोच्दथेँ । त्यसैले आफू कहिलेकाहीँ लोभी भएको महसुस गर्दथें तर दिनहुँ प्रलोभित भएर जिन्दगी चलिरहेको कहिले महसुस गरिनँ ।

अहिले आएर बुझें, कि लोभ र प्रलोभन फरक रहेछन् । लोभ भनेको कुनै धन, शक्ति वा खानाको लागि हुने स्वार्थी इच्छा हो । अङ्ग्रेजीमा ‘ग्रीड’ । प्रलोभन भनेको गलत वा मूर्ख कुराप्रतिको चाहना । अङ्ग्रेजीमा ‘टेम्प्टेसन’ ।

त्यसपछि बुझें, मेरा विगतका व्यवहारहरू प्रलोभनबाट कसरी प्रभावित भएका थिए । यदि कसैले मिठो बोल्यो भने उसको बोलीमा प्रलोभित भएर घनिष्ठ सम्बन्ध गाँस्न तत्पर हुन्थें । मिठो खानेकुरादेखि प्रलोभित भएर स्वास्थ्यलाई हानी हुनेगरी जे मन लाग्यो त्यही खान्थेँ । बियर र रक्सीबाट प्रलोभित भएर जहिले मन लाग्यो त्यहिले पिउने गर्थें । आफ्नो कर्तव्य र जिम्मेवारीलाई ‘जय भोलि’ भनेर पन्छाउँदै टिभी र फेसबुकमा झुम्मिन्थेँ । यसर्थ कि म क्षणिक सुखबाट प्रलोभित थिएँ ।

मनोविज्ञानका किताब पढ्दै गएपछि थाहा पाएँ कि प्रलोभन चाहे जेसुकैको लागि होस् त्यो घातक छ । खानेकुरा, रक्सी, सामाजिक सन्जाल या प्रेम– यसले मानसिकतामा हामीले थाहै नपाउने गरी असर पार्ने रहेछ । प्रलोभनले बौद्धिक विकासमा अवरोध पुर्याउने नै रहेछ । अनि अर्थशास्त्रको किताबहरू पढ्न थालेपछि थाहा पाएँ कि मजस्तो थुप्रै व्यक्तिहरूको दैनिक जीवनमा देखिएको मुसाझैं सानो प्रलोभनले देशको अर्थतन्त्र विकासमा सगरमाथाझैं अग्लो अवरोध खडा गर्ने रहेछ ।

प्रलोभनले बौद्धिक विकासमा कुन हदसम्म असर पार्छ त्यो बुझ्न सन् १९७२ मा अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा सुरु गरिएको १५ वर्ष लामो ‘स्ट्यानफोर्ड मार्शमेलो परीक्षण’को खोज बुझे पुग्छ ।

परीक्षणको मुख्य उद्देश्य : मान्छेले भविश्यको इनाम लत्याएर क्षणिक तृप्तिलाई महत्त्व दिए कस्तो असर पर्छ । उक्त परीक्षणमा चार वर्षका ३२ जना विद्यार्थीहरू सहभागी थिए । उनीहरूलाई एक्लै एउटा कोठामा पालैपालो मीठो खानेकुरा ‘मार्शमेलो’को अगाडि १५ मिनेटसम्म राखिएको थियो । यदि १५ मिनेटसम्म नखाई बस्न सफल भए इनामस्वरूप अर्को दुईवटा मार्शमेलो दिएर घर पठाउने सर्त अध्यनकर्ताले उनीहरूसँग गरेका थिए । त्यसक्रममा कोही विद्यार्थीहरूले अध्यनकर्ता कोठाबाट निस्किनेबितिक्कै खाए, कोहीले ८ देखि १० मिनेटपछि आफूलाई रोक्न नसकेर खाए, कोही भने पुरै १५ मिनेटसम्म कुर्न सफल भए ।

त्यसपछि अध्यनकर्ताहरू ले १५ वर्षपछि ती विद्यार्थीहरूको जीवनमा छानविन गरे र निम्न खोजहरू उल्लेखित गरेः

१. जो विद्यार्थी इनामप्रति बफादारी देखाउँदै आफ्नो प्रलोभनलाई पुरै १५ मिनेटसम्म रोक्न सफल भएका थिए, उनीहरू सामाजिक रुपमा सक्षम, व्यक्तिगत रूपमा प्रभावकारी, आत्मदृढ, जीवनको निराशाको सामना गर्न सक्षम थिए। उनीहरूको बौद्धिक स्तर अरूको भन्दा धेरै उच्च थियो । उनीहरू जीवनमा सबैभन्दा सफल थिए ।

२. जो विद्यार्थीहरूले आफूभित्रको प्रलोभन रोक्न नसकी सुरुमै खाएका थिए, उनीहरूमा मनोवैज्ञानिक समस्याहरू देखिएको थियो । उनीहरू ईष्र्याको शिकार सजिलै हुन्थे । एकदम जलन गर्ने स्वभावका थिए । उनीहरूको बौद्धिक स्तर अरूको भन्दा धेरै कम थियो । उनीहरू जीवनमा सबैभन्दा असफल थिए।

३. जो विद्यार्थीहरूले ८ देखि १० मिनेटसम्म मात्र कुर्न सके तिनीहरूमा बौद्धिक स्तर मध्यम वर्गको थियो ।

यस अध्ययनको निश्कर्ष थियो, जति प्रलोभनलाई रोक्न सक्यो त्यति बौद्धिक विकास हुन्छ । जति बौद्धिक विकास भयो त्यति जीवनमा सफलता मिल्छ ।

उक्त परीक्षण विश्वप्रसिद्ध मनोविज्ञानको किताब ‘इमोसनल इन्टेलिजेन्स’मा उल्लेख गरिएको छ । यस किताबका अनुसार, हामीभित्र दुईवटा मन छन्– भावनात्मक मन र बुद्धिमानी मन । प्रलोभन भावनात्मक मनको विशेषता हो । प्रलोभनलाई प्राथमिकता दिँदा हाम्रो भावनात्मक मनको प्रभाव बढ्दै जान्छ । तर प्रलोभनलाई नियन्त्रणमा राख्ने कसरतले हाम्रो बुद्धिमानी मनको क्षमता बढ्दै जान्छ । बुद्धमानी मनको क्षमता बढ्नाले बौद्धिक विकास बढ्छ । अनि हरेक कुराप्रति चेतना बढ्छ ।

त्यस किताबका अनुसार प्रलोभन नियन्त्रण गर्न नसके हाम्रो भावनात्मक मनको बढ्दो प्रभावले हामीमा व्याकुलता बढ्दै जान्छ । व्याकुल मन क्षणिक सुख दिने हरेक वस्तु जस्तैः टिभी , फेसबुक, रक्सी आदिप्रति प्रलोभित भई आफूलाई तृप्त पार्न खोज्छ । यस्तो मनमा जलन, ईष्र्या, क्रोधले सजिलै स्थान पाउँछन् । त्यतिमात्र हैन, व्यक्तिगत उत्पादकतासम्बन्धी विश्वप्रसिद्ध किताब ‘डीप वोर्क’मा उल्लेख गरेझैं व्याकुल मनले कार्य उत्पादकतामा गिरावट ल्याउँछ ।

अहिलेको समयमा प्रलोभनमा डुबेको व्याकुल मनलाई तृप्ति दिने साधन बनेको छ, फेसबुक । २०२० को अगस्ट महिनसम्म १ करोड १५ लाख नेपाली प्रयोगकर्ता रहेछन् । फेसबुक प्रयोगमा योगदान दिएको हिसाबले नेपाल विश्वको ३९ औं स्थानमा पर्नेरहेछ । विडम्बना देशको उत्पादकतामा जनमानसले दिएको योग्दानको हिसाबले जसलाई ‘प्रतिव्यक्ति कुल घरेलु उत्पादन’ भनिन्छ, त्यस आधारमा हेर्दा नेपाल विश्वको १६६ औं स्थानमा पर्छ । अन्तिमबाट ५० मा । यस तथ्यले एउटै कुरा दर्शाउँछ कि, हामी जनमानसमा व्याकुलता बढेको र कार्य उत्पादकतामा गिरावट आएको छ ।

त्यसपछि बुझें, किन म विदेशमा काम गर्दा एउटै उमेरको विदेशी इन्जिनियर जति उत्पादक भएर काम गर्न सकिनँ ! अनि किन आफ्नो देशमा कुलमान घिसिङजस्तो उत्पादक भएर अरू पेशेवरहरू काम गर्न सकेनन् ! किनकि जनमानस भ्रस्टाचार र अपराधमा सङ्लग्न नभएनि व्याकुल मनले दैनिक जीवन बिताउँदा मनोवैज्ञानिक तहमा उनीहरूको कार्य उत्पादकतामा गिरावट आइरहेको रहेछ ।

हुन त देशको उत्पादकतामा असर अरू धेरै कारणले पुर्याएको छ । विशेषगरी राजनीतिले जसले पर्याप्त रोजगारी सिर्जना गरेको छैन । तर मेरो धारणा दैनिक जीवनमा देखिने व्यक्तिगत मानसिकताबारे हो । क्षणिक सुखको प्रलोभनले व्याकुल बनाएको हाम्रो मानसिकताले अवसर पाएको रोजगारितामा पनि पर्याप्त उत्पादकता प्रदान गरेको छैन अनि त्यसको असर देशको उत्पादकतामा परेको छ भन्ने हो ।

जनमासको उत्पादकतामा आएको कमीले देशको उत्पादकताले कछुवा झैं गति लिइरहेको छ । जस्तै कि हाम्रो देशको उत्पादकता छिमेकी मुलुक बङ्लादेशसँग दाजौं । वल्र्ड बैंकको तथ्यांकअनुसार, नेपालको ‘प्रतिव्यक्ति कुल घरेलु उत्पादन’ सन् २०१० देखि २०१९ सम्म केवल ८१ प्रतिशतले मात्र बढेको छ । त्यही अवधिमा छिमेकी बङ्गलादेशको २१३ प्रतिशतले बढेको छ । यस्तो उत्पादकतामा देखिएको सुस्ततामा राजनीतिमात्र हैन व्यक्तिगत मानसिकताले पनि भूमिका अवश्य खेलेको स्वीकार्नुपर्छ ।

डा. पुष्कर बज्राचार्यले आफ्नो किताब ‘नेपालस् इकोनोमी इन डिसएर्रे’ मा उल्लेख गरेअनुसार बङ्लादेशमा एउटा लगाउने सर्ट उत्पादन गर्न ११ मिनेट लाग्छ भने नेपालमा २३ मिनेट लाग्छ । यसले हाम्रो देशको श्रमिक उत्पादकता पर्याप्त नभएको देखाउँछ । उनी भन्छन् कि हाम्रो घट्दो उत्पादकताले गर्दा अर्थतन्त्रको दृष्टिकोणले ‘उच्च लागत कम प्रतिफल’ मुलुक भइसकेको छौं । त्यसैले विदेशी लगानीकर्ताहरू हाम्रो मुलुकबाट पन्छिएर बङ्लादेशतर्फ आकर्षित हुँदै गइरहेका छन् । यसले नेपालको आर्थिक विकास गराउने एउटा महत्त्वपूर्ण विकल्पलाई ठूलो धक्का पुर्याएको छ ।

यसरी विगतमा समान अर्थतन्त्र मानिएका दुई मुलुकबीच केही वर्षको अन्तरालमै सिर्जना भएको हिमालझैं ठूलो दरारले सरकारको योग्यतामात्र हैन हामी जनताको व्यक्तिगत उत्पादकतामा पनि प्रश्नचिन्ह खडा गरेको छ । कोरोनाको मारले सरकारको असक्षमतामाथि प्रश्न उठाउने मौका त हामीले पायौं तर हामी करोडौं शिक्षित वर्गमा मुसाझैं सानो देखिएको प्रलोभनले हाम्रो मानसिकता र उत्पादकतामा गरेको हात्तीझैं ठूलो अवरोधमा प्रश्न कसले उठाउने ?

त्यसैले हरेक व्यक्तिले आफूप्रति जागरूक भएर आफ्नो पेशामा योग्यता र उत्पादकताको विकासको लागि तत्पर रहन जरुरी छ । त्यस्को लागि बौद्धिक विकासमा सुधार ल्याउन जरुरी छ । त्यस सुधारको लागि महत्त्वपूर्ण कसरत भनेकै हाम्रो दैनिक जीवनमा देखिने प्रलोभनहरूको नियन्त्रण हो भन्ने तर्क यस विश्लेषणले देखाइसकेको छ । हाम्रो मजबुत मानसिकताले नै देशको अर्थतन्त्रलाई सुनौलो भविष्य प्रदान गर्दछ ।

यदि हामी आफ्नो जिम्मेवारीबाट चुक्यौं भने बङ्लादेश आफ्नो अर्थतन्त्रको विकास गरेर पहिलो विश्वको सूचीमा आफ्नो नाम लेखाउँदा हाम्रो देश तेस्रो विश्वको खाडलकै गहिराइमा भासिनेछ । त्यसको भागिदार नेतामात्र नभएर तपाईं हामी नागरिक पनि हुनेछौं ।

त्यसैले आफ्नो र देशको सुनौलो भविष्यका लागि मार्शमेलो परिक्षणका सफल विद्यार्थीहरूले जस्तै हामीले पनि आफ्नो भविष्यको इनामप्रति बफादारी देखाएर आफ्नो क्षणिक सुखको प्रलोभनलाई रोक्ने कसरत आजैबाट सुरु गर्नुपर्छ ।

(गिरी मेकानिकल इन्जिनियर हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment